RaraNews

प्रकाशित : २०७७/३/१ गते
१४८५ पटक

✍️गणेश नेपाली, सुदूरपश्चिम प्रदेश धनगढी,कैलाली

आफैँ काटिन पो रहेछ खुकुरी निर्माण गर्दै रहेँ
पापी शोषकले गरे जसको हत्या त्यही सीपले।

म्यादै गुज्रीसके ति क्रान्ति र सिपाहीका हिजो आज त
सक्दैनन् भन्न ती बराबरी सब भएका हौं भनी आपत्तिमा ।

अत्याचार बढी विभेद जगमा कानूनको खोजी भयो
बर्षौं देखि सहेर ऐन पिँजडामा पीडितै भेटियो ।

के अर्थै छ अजीत मिजार अनि माया प्रेममा जो सुकै
हत्या गर्न सके, ति जात तहको प्रथा बचाए खुबै।

माया प्रेम कथा ति नायक रहेनन् लाज भो देशको
पाखण्डीहरुले हरे अनि त प्राणै लुछेको सत्य हो।

कस्तो यो रित हो यहाँ जीवनमा बाँच्नै त भो मुश्किल
देख्दैनौ सरकारले जुलुम अन्यायी समीपै तिर।

नंग्याइ सब जातवाद नवराजैले दिए प्राणले
सल्कीदै छ नि रुकुम जिल्ला आहुती वाणले ।

जातैको तहमा घृणा अति भो धर्मा धिकारीहरु
निन्द्राबाट तिमी छिटो त अब जागी, छोड जिद्दी बरु।

नेस्तानाबुद वर्ण विसंगति गर्नै तिम्रो छ कर्तव्य अति
बेलामा चुप लाग्न छोड यसरी होला नि ज्यादै खति

आफ्नै धर्म दुखाउँदै छ मन यो, त्यो ओखती चाहियो।
अन्यायी अति घोर भै खति गरे हत्या नवराजको।।

प्रतिकृया दिनुहोस्