RaraNews

प्रकाशित : २०७७/२/३१ गते
९७३ पटक

जनकपुरधाम । धनुषास्थित इलाका प्रहरी कार्यालय सबैलाको थुनुवा कक्षभित्रै गत मंगलबार झुण्डिएको अवस्थामा मृत फेला परेका शम्भु सदाको अझै पोष्टमार्टम भएको छैन । सबैला नगरपालिका १२ बरकुवाका सदाको शवलाई बुधबार नै पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइए पनि अझै पोष्टमार्टम हुन सकेको छैन ।

मृतक पक्षले आफ्नो चिकित्सकको उपस्थितिमा पोष्टमार्टम गर्नुपर्ने बताएपछि धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सिरहामा कार्यरत डा. दिलिप सदालाई बोलाएका थिए । तर, प्रादेशिक अस्पतालका चिकित्सकले बाहिरका चिकित्सकसँगै पोष्टमार्टम गर्न नसकिने बताएपछि उनको पोष्टमार्टम रोकिएको हो ।

अब उनको पोष्टमार्टम बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान, धरानमा गराइने भएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘मृतक पक्ष पनि यसमा सहमत भएको छ र शम्भुको शव शनिबार धरान लगिने छ ।’

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदाले पनि शम्भुको शव धरान लग्ने तयारी भइरहेको बताए ।

माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी

शम्भुले थुनुवा कक्षभित्रै आत्महत्या गरेको प्रहरीले बताउँदै आएको छ । तर मृतक परिवार, स्थानीय र मुसहर समुदाय यो कुरा मान्न तयार छैनन् । उनीहरुले शम्भुको हत्या गरिएको जिकीर गर्दै आएका छन् ।

त्यसैले मुसहर समुदायले दोषीलाई कार्वाहीको माग गर्दै सबैलामा प्रदर्शन गरेका छन् । सबैलासहित धनुषा र सिरहाको बिभिन्न ठाउँबाट आएका मुसहर समुदायका महिला, पुरुष, बालबालिका समेत प्रदर्शनमा सहभागी भएका छन् ।

उनीहरुले दोषीलाई कारवाही, परिवारका सदस्यहरुको भरणपोषण र एक जनालाई रोजगारी दिनुपर्ने लगायतका माग राखेका छन् । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

प्रतिकृया दिनुहोस्