RaraNews

प्रकाशित : २०७७/२/३० गते
७४६ पटक

रुकुम पश्‍चिम — जाजरकोट भेरी नगरपालिका–४, रानागाउँका नवराज विक दुई साथीसहित वैशाख १७ गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती पुगे । सोतीमा उनकी प्रेमिका थिइन् तर उनलाई भेट्न नपाउँदै चौरजहारी इलाका प्रहरी कार्यालयबाट केही प्रहरी आए, नवराजसहित तीनै जनालाई समातेर लगे ।

सोतीका वडाध्यक्ष डम्बरबहादुर मल्लले फोन गरेकै भरमा उनीहरूलाई पक्राउ गरिएको थियो । किशोरीका छिमेकी र आफन्त हुन्, वडाध्यक्ष ।

भोलिपल्ट रानागाउँबाट नवराजकी आमा उर्मिला चौरजहारी पुगिन्, छोरालाई छोडिदिन प्रहरीसँग बिन्ती गरिन् । प्रहरीले वडाध्यक्षलाई सोधे । वडाध्यक्षले परिवारको जिम्मा लगाएर छोडिदिन ‘आदेश’ दिए । प्रहरीले त्यही गर्‍यो । सर्त थियो, अब उप्रान्त नवराज सोतीमा नआउने । अर्थात्, वडाध्यक्षको फोनकै भरमा प्रहरीले नवराजहरूलाई समात्यो, फोनकै भरमै छोडिदियो ।

देखावटी आरोप थियो– लकडाउन उल्लंघन । तर, खास कारण थियो– मल्ल थरकी किशोरीबाट नवराजलाई टाढा राख्ने । त्यतिबेला स्थानीय युवाले नवराजलाई पिटेका थिए । यसको खुलासा किशोरीकै पारिवारिक स्रोतले कान्तिपुरसँग गरेको छ । तर, प्रहरीले नजरअन्दाज गरिदियो ।

प्रेमिकाका आफन्त र प्रहरीबाट नवराजलाई जान ‘बन्देज’ थियो तर प्रेमिकाले बोलाएपछि उनी जेठ १० गते सोती पुगे । त्यतिबेला उनका साथमा अरू १८ साथी थिए । प्रेमिका ल्याउन त पाएनन् नै, फर्कंदा सोतीका स्थानीयको बर्बर आक्रमणमा परे, नवराज र उनका पाँच साथीको हत्या भयो । अरू १२ जना घाइते भए । यो पाशविक घटनाको बीजारोपण त्यही वैशाख १७ मा भएको थियो । जुन दिन प्रहरीले औपचारिक जाहेरीबिनै नवराजलाई एक रात थुनेको थियो । जसरी त्यतिबेला वडाध्यक्षको लकडाउन उल्लंघनको झूटो आरोपलाई पत्याउँदै प्रहरीले नवराजलाई पक्रेको थियो, करिब उही शैलीमा जेठ १० गते पनि प्रहरी घटनास्थल पुगेको देखिन्छ । त्यो दिन पनि वडाध्यक्षले नै ‘भेरीका केटा आएर लकडाउन उल्लंघन गरे, होहल्ला गरे’ भनेर फोन गरेका थिए, प्रहरी पहिले सोतीतिर लम्कियो, पछि भेरीको किनारतिर । जहाँ चारैतिर गाउँलेले घेरा हालेर नवराजका साथीहरूलाई भक्कुमार कुटिरहेका थिए ।

यो घटना र त्यसपछि प्रहरीको रवैयाको बेलिबिस्तार लगाउनुपहिले नवराजको समूह केटीको घर पुग्दा के भएको थियो, त्यसलाई नियाल्नु आवश्यक छ । जसबाट केटीका परिवारको वडाध्यक्षसँगको अनि वडाध्यक्षको प्रहरीसँगको ‘नेक्सस’ र प्रहरी कसरी ‘मिस लिड’ भएको थियो, प्रस्ट हुन्छ ।

घाइते सुदीप खड्काका अनुसार नवराजलाई केटीका आफन्तले चिन्ने भएकाले उनले मास्क र टोपी लगाएका थिए, समूहको पछाडि थिए । अगाडि सुदीपसहित अरू केटाहरू थिए । तर, केटीकी आमाले नवराजलाई देख्दै–नदेखी अपशब्द बोल्न थालिन्, ‘अस्तिको पिटाइले तँलाई पुगेन ? आज मरेरै जान्छस् । वडाध्यक्षलाई फोन लगा…।’ सुदीप भन्छन्, ‘त्यसपछि हामीले त्यस्तो हैन आन्टी, हामी काफल खान आएका हौं भनेर लुरुलुरु हिँडिरह्यौं । केटीको घरअगाडि पाँच सेकेन्ड पनि रोकिएनौं ।

करिब आधा घण्टा ओरालो झरेर जंगलको ठूलो ढुंगामा नवराजको समूह आराम गर्दै थियो, माथिबाट गाउँलेको हूल उनीहरूलाई लखेट्दै आइहाल्यो । सुदीपका अनुसार उनीहरूको हातमा हँसिया, लाठी, चिर्पट र ढुंगा थियो । ‘मार, मार… भनेको मात्र याद छ,’ उनले त्यो पल सम्झिए । त्यहाँबाट दगुरेको करिब पाँच मिनेटमा उनीहरू निर्माणाधीन मध्यपहाडी लोकमार्गमा आइपुगे । लोकमार्गमा अर्को भीड घरेलु हतियार लिएर उनीहरूलाई ढुकिरहेको थियो । निर्विकल्प भएर सुदीपको समूह भेरीतिर लाग्यो, बाटोबाट तीन मिनेट दौडियो भने भेरीको किनारमा पुगिन्छ । माथिदेखि ढुंगा बर्साउँदै आएको भीडले त्यहाँ पनि सबैलाई मरणासन्न हुने गरी पिट्यो । ‘भेरीतिर लाग्दा नवराजसहित ६ जनालाई देखैनौं, उनीहरूलाई घेरा हालेर पहिल्यै मारिएको हुनुपर्छ,’ उनले सुनाए । त्यो ६ जना नवराजका मिल्ने साथीहरू थिए । मृतक सञ्जीव विकबाहेक सबै पौडी खेल्न सिपालु थिए ।

रुकुम घटना : अझै छट्पटाइरहेका छन् घाइते

सुदीपका अनुसार त्यतिबेला सवा ६ जति भएको हुँदो हो, उज्यालै थियो । पाँच जना भेरीवारि थिए, भेरीको बीचको भँगालोमा दुई जना थिए, पाँच जना भेरी तरेर जाजरकोट पुगिसकेका थिए । सबैतिरका केटाहरूलाई स्थानीयले ढुंगा र लाठी बर्साइरहेका थिए । त्यही बेला चौरजहारी इलाका प्रहरी कार्यालयबाट खटिएका चार प्रहरी घटनास्थल पुगे तर कुटपिट भइरहेको ठाउँतिर गएनन्, डिलमा बसेर सिटी बजाए । ‘प्रहरीले चार–पाँचपटक सिटी बजाउँदासम्म पनि हामीलाई कुटिरहेका थिए,’ सुदीप सुनाउँछन्, ‘त्यतिबेला प्रहरी नपुगेको भए हामीलाई पनि मारेर भेरीमा फालिदिन्थे ।’

कान्तिपुरले १२ मध्ये ८ घाइतेसँग कुरा गरेको थियो । उनीहरू सबैले सुदीपझैं प्रहरी नपुगेको भए आफूहरू सबै मारिने बताए । किनभने जति पिट्दै गयो, गाउँले उति हिंस्रक भइरहेका थिए । लाठी, हँसिया र ढुंगाले केटाहरूलाई हानिरहेको प्रहरी स्वयंले देख्यो तर कसैलाई सोधपुछसम्म गरेन, बरु पीडकले नै घाइतेलाई प्रहरीकहाँ जिम्मा लगाइदिए । यही भीडमा थिए, वडाध्यक्ष डम्बरबहादुर मल्ल र केटीका बाबु वीरबहादुर मल्ल । अझ वडाध्यक्षको हातमा त लाठी नै थियो । घाइतेहरू रगताम्य भएर रुँदै थिए । प्रहरीले चुपचाप घाइतेको उद्धार गर्‍यो । लगत्तै इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी प्रमुख प्रहरी निरीक्षक धर्मसिंह विष्ट घटनास्थल पुगे । घटनास्थल पुग्ने उनी पहिलो प्रहरी अधिकृत हुन्, वडाध्यक्ष पनि त्यतिबेलासम्म त्यहीं थिए ।

घटनास्थलको माहोल त्यति डरलाग्दो थियो, घाइते छटपटाइरहेका थिए तर पनि विष्टले वडाध्यक्षलाई केही सोधेनन् । ‘लकडाउन उल्लंघन गरेकाले गाउँलेले लखेटेछन्’ भन्ने वडाध्यक्षको मिथ्या कथन पत्याइरहे । जबकि उनलाई प्रस्ट थाहा थियो, वैशाख १७ गते नवराजलाई समातेको र त्यसको गुदी कारण । तर पनि थाहा नपाएझैं गरिदिए ।

अब सुरु हुन्छ, प्रहरीको खास लापरबाही र हेल्चक्य्राइँ । जहाँ प्रहरीको नियतमाथि नै प्रश्न उठाउने अनेक ठाउँ छन् । १२ जना घाइतेलाई लाँदै गर्दा प्रहरीले ‘को–को थियौ, के–के भयो’ भनेर त सोधेनन् नै, घाइतेले प्रहरीकै सामुन्ने ‘सबै साथीहरू यहाँ छैनन्, भेरी खेलेर बाँचे कि कुटेर मारे…’ भनेर आपसमा कुरा गर्दासमेत वास्ता गरिएन । त्यही राति भेरीको किनारमा एउटा शव भेटियो, केही छिनपछि नवराजको हो भन्ने पहिचान भयो । तब बल्ल प्रहरीले भन्यो, ‘ए अरू केटा पनि रहेछन्, भेरीमा हाम्फालेर मरेछन्… ।’

घटनास्थलमा भेटिएका अधिवक्ता बद्री भुसालका अनुसार प्रहरीलाई रानागाउँका नवराज र सोतीकी किशोरीको प्रेम अनि यसलाई छुटाउन वडाध्यक्षको भूमिका रहेको पहिल्यै थाहा थियो । नदीको बीचमा केटाहरूलाई कुट्दै गरेको प्रहरीले नै देख्यो तर पनि गम्भीरतापूर्वक लिएन । ‘जसले केटाहरूलाई पिट्यो, उसैले प्रहरीको जिम्मा लगायो तर प्रहरीले कुनै प्रश्न गरेन,’ भुसाल भन्छन्, ‘गाउँलेको बर्बर आक्रमणको घटना अनुसन्धानमा कुनै दृष्टि दिएन, घटनास्थलमा समेत प्रहरी वडाध्यक्षको आदेशमा चल्यो ।’

घाइतेलाई समातेपछि प्रहरीले देखाएको मौनता र बेवास्ताले पीडित पक्षको सबैभन्दा धेरै चित्त दुखेको छ । पीडितलाई लागेको छ, ‘प्रहरीले त्यतिबेलै घटनास्थल, जंगल र गाउँ सर्च गर्नुपथ्र्यो ।’

भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्ती पनि घटनास्थलमा प्रहरीको कार्यशैलीको आलोचना गर्छन् । ‘घटनास्थल पुग्दा प्रहरी आफैं डिफेन्सिभ देखिन्छन् । उनीहरूले जीवितलाई भ्यानमा हालेर लगे तर गायब भएकालाई खोज्दै खोजेनन्,’ घर्ती भन्छन्, ‘त्यतिबेलै खोजिएको भए बाँकी ६ जना पनि घाइते अवस्थामा वा मारेकै भए पनि भेरीबाहिरै भेटिनसक्थे । उनीहरूलाई बाहिरै कुटीकुटी मारेर भेरीमा फालिएको छ ।’

घर्तीमात्र होइन, पूरा जाजरकोटवासीलाई यस्तै लागेको छ । सोही कारण सुरुवातबाटै प्रहरीको भूमिका र अनुसन्धान प्रक्रियामाथि उनीहरूमा अविश्वास पैदा भयो । रुकुम पश्चिम प्रहरीले अझै पीडितलाई विश्वासमा लिन सकेको छैन, यसो भन्दा हुन्छ, त्यसको प्रयास पनि भएको छैन । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल भन्छन्, ‘प्रहरीले गलत नगर्न सक्छ तर प्रहरीप्रति पीडितलाई शंका लाग्न सक्छ, पीडककै पक्षमा छ जस्तो लाग्छ । त्यसैले प्रमाणित भइसकेका तथ्यहरू बाहिर ल्याइदिनुपर्छ । पारदर्शी अनुसन्धान र संवादमार्फत पीडितको विश्वास जित्नुपर्छ ।’ यसो गर्दा अदालत पुगेपछि पीडित ‘होस्टायल’ हुने सम्भावना घट्ने उनको भनाइ छ ।

प्रारम्भबाटै त्रुटि

पूर्वडीआईजी मल्लका अनुसार घटनास्थलमा प्रहरी पुगेपछि सबैभन्दा पहिले पीडितलाई जोगाउनुपर्छ, त्यसपछि घटनास्थल सुरक्षित गर्नुपर्छ, घटनामा संलग्नलाई नियन्त्रणमा लिनुपर्छ र भौतिक सबुत बरामद गर्नुपर्छ । सिटी फुकेरै सही, प्रहरीले १२ घाइतेलाई बचाएको छ । बाँकी हरेक चरणमा प्रहरी चुक्दै गयो । कतिसम्म भने घाइतेलाई समात्यो तर घरेलु हतियार बोकेका आक्रमणकारीलाई समातेन ।

प्रहरी आफैं भन्छ– ५०–६० जनाले चारैतिर घेरा हालेर घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए । त्यसो भए आक्रमणमा प्रयोग गरिएका ढुंगा, लौरो, हँसिया र चिर्पटहरू खोइ ? साँझ नपर्दै भएको त्यति भयानक घटनाको भौतिक सबुतका नाममा प्रहरीसँग जम्मा दुईवटा सिंगो लौरो र दुईवटा भाँचिएको टुक्रा छ । तर रुकुम पश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसी प्रहरीले आवश्यक र पाएको सूचनाअनुसार प्रमाण खोजेको दाबी गर्छन् । ‘प्रतिवादीले बयानमा खुलाएअनुसार प्रमाण खोजेका छौं । हामीले जबर्जस्ती हँसिया, चिर्पट छ भन्न मिल्दैन,’ केसी भन्छन्, ‘पीडितले हँसिया, ढुंगा र चिर्पटले हानेको भन्छन् । हँसिया भनेपछि कसले प्रयोग गरेको हो, कत्रो थियो, डिटेलमा आउनुपर्छ ।’ घटनास्थलमा पुगेको प्रहरी स्वयंले घरेलु हतियार प्रयोग गरेर गाउँलेले कुटपिट गरेको देखेको थियो तर अहिले प्रहरीकै अनुसन्धान प्रतिवादीको बयानमा भर परिरहेको छ ।

पूर्वडीआईजी मल्लका अनुसार अपराधमा प्रयोग भएका हतियार, सामानहरू अपराध प्रमाणित गर्ने महत्त्वपूर्ण कडी हुन् । अपराध अनुसन्धानमा भौतिक सबुत दरिलो प्रमाण मानिन्छ । तर, नेपाल प्रहरी सबुत जोगाउन बारम्बार चुक्दै आएको छ । निर्मला पन्त हत्या प्रकरणमा पनि घटनास्थलको संरक्षण नगरेको र सबुत नजोगाएकै कारण प्रहरीको व्यापक आलोचना भएको थियो । यही नियति रुकुम घटनामा दोहोरिएको छ । अधिवक्ता भुसाल भन्छन्, ‘निर्मला हत्याकाण्डमा प्रहरीको विभागले नै प्रमाण नष्ट गरेजस्तो देखिन्थ्यो, रुकुममा चाहिँ प्रहरीको ठूलो मात्राको हेलचक्य्राइँ र लापरबाही देखिन्छ । घटनास्थलको सुरक्षा गरेको भए धेरै प्रमाण र तथ्य बाहिर आउँथ्यो ।’ स्थानीय नेता र प्रतिनिधिको ‘यसम्यान’ भएकाले जनताको सुरक्षा र अपराधको अनुसन्धानमा चौरजहारीको प्रहरी टिम असक्षम भएको उनको आरोप छ ।

सुधारगृहमा नपठाई हिरासतमै

घाइतेसँगको कुराकानी तथा घटनाको प्रकृति केलाउँदा घटनास्थलमा रगतको टाटा, लुछिएका कपाल, रगत लागेका हँसिया, ढुंगा र चिर्पटहरू थिए । माथि जंगलबाट खेदेर ल्याएकाले बाटोमा पनि अन्य प्रमाण भेटिनसक्थ्यो तर घटनाको रात प्रहरीले वास्तै गरेन । पीडकले जे भन्यो, प्रहरीले पत्याउँदै गयो । संघर्ष समितिका उपसंयोजक छवि पन्त भन्छन्, ‘घटनास्थल छोडियो, बस्ती सिल गरिएन । रातभर प्रमाण नष्ट गरियो । प्रहरीबाट गम्भीर लापरबाही भएको छ ।’

चौरजहारीका प्रहरी निरीक्षक विष्ट हँसिया, काठका टुक्राहरू नदीले बगाएको बताउँछन् । ‘घाइतेले ढुंगाले हानेको भनिरहेका थिए, ढुंगा त कति हुन्छन् कति,’ विष्टले भने । घटनास्थल पुगेको प्रहरी अधिकृतको यस्तो गैरजिम्मेवारपूर्ण भनाइले के संकेत गर्छ ? अधिवक्ता भुसाल भन्छन्, ‘घटनास्थलको सुरक्षा र बेपत्ता केटाहरू खोज्नमा प्रहरीले बेवास्ता गर्‍यो । प्रहरी निरीक्षक विष्टसहित चौरजहारी प्रहरी टिमलाई प्रमाण नष्ट गरेकामा मुद्दा चलाउनुपर्छ ।’ जाजरकोटका दलित अधिकारकर्मी गोपालबहादुर नेपाली पनि चौरजहारीका प्रहरीमाथि अनुसन्धान गर्नुपर्ने बताउँछन् ।

जिल्ला प्रहरी प्रमुख केसीको भनाइ पनि उस्तै उदेकलाग्दो छ । ‘कहाँ को दौडिए भन्ने थाहा भएन, बस्तीमा सामान्य सर्च गरियो,’ केसी भन्छन्, ‘घरै खोतल्ने कुरा त आएन । हामीले बयानका आधारमा सर्च गरेका छौं ।’ उनी स्वयं सुरुमा वडाध्यक्षलाई सूचनादाता र लकडाउन उल्लंघन गर्नेलाई कारबाही गर्ने सहयोगीका रूपमा लिएको स्विकार्छन् । घटनाको पृष्ठभूमि प्रहरीलाई जानकारी नभएको, सूचना ‘स्लो मोसन’ मा खुल्दै गएको, घटनाको रातभर पानी परेकोजस्ता अनेक बहाना छन् केसीसँग । भन्छन्, ‘पहिलो दिन प्रहरीलाई के भयो भन्ने थाहै भएन । मध्यरातमा मात्र अन्तरजातीय विवाद रहेछ भन्ने थाहा पायौं ।’ यद्यपि उनले घटनाको अनुसन्धानमा प्रहरी कुनै हालतमा नचुकेको दाबी गरे ।

पहिलोपटक जिल्लाको प्रहरी कमान्ड सम्हालिरहेका केसीको विवरण सुन्दा लाग्छ, अपराध र पीडक अघि–अघि छन्, प्रहरी पछि–पछि । यही प्रश्न उनलाई सोध्दा भने, ‘यो घटना नै फिल्म जस्तो छ ।’ उनले यसो भनिरहँदा यही हत्याकाण्डको अनुसन्धानका लागि हेडक्वार्टरबाट खटाइएका एसएसपी पोषराज पोखरेल सामुन्नेमा थिए ।

अभियुक्त पक्रन आलटाल

घटनास्थलमा प्रहरी स्वयंले घरेलु हतियारसहित आक्रमणकारीको भीड देखेको थियो । घाइतेहरू रगताम्य थिए, घटनास्थल सोतीबाट दौडँदै आए पनि आधा घण्टा लाग्छ । त्यसमाथि त्यही इलाकाले तीन साता अघिमात्र नवराजलाई समातेको थियो, त्यो बेला र घटनाको दिन खबर गर्ने वडाध्यक्ष नै थिए, उनी घटनास्थलमै थिए, लकडाउन नै उल्लंघन गरे पनि त्यसरी मरणासन्न हुने गरी पिट्न पाइन्नथ्यो, प्रहरीले घटनालाई शंकास्पद रूपमा लिनुपर्ने अनेक ‘क्लु’ थिए तैपनि सामान्य मानियो । प्रहरीकै भनाइमा त्यतिबेला लकडाउन उल्लंघन गर्नेलाई लखेटेकाले उनीहरूलाई समात्नु आवश्यक देखिएन । त्यही रात नवराजको शव भेटियो, अरू पाँच केटा बेपत्ता भएको पुष्टि भयो तर पनि प्रहरीले कसैलाई नियन्त्रणमा लिएन ।

११ गते प्रहरी निरीक्षक विष्टले वडाध्यक्षलाई बोलाए, सामान्य सोधपुछ गरे । वडाध्यक्ष घर फर्किए । अरू केहीलाई पनि त्यस्तै गरियो । किन ? विष्ट भन्छन्, ‘प्रहरीले देखेको र घाइतेहरूले भनेको हुलिया मिलान गर्नुपर्‍यो । सबैलाई कुरै नबुझी समात्ने कुरा त भएन ।’ जबकि वडाध्यक्ष, केटीका बाबु र अन्य केही गाउँलेलाई विष्ट स्वयंले घटनास्थलमा देखेका थिए, रगताम्य घाइतेका सामुन्ने । तर शव भेटिसक्दा पनि उनले वडाध्यक्षलाई हिरासतमा लिन आवश्यक ठानेनन् । भुसाल भन्छन्, ‘वडाध्यक्षलाई घटनास्थलमै समात्नुपथ्र्यो तर सकेसम्म उनलाई छोड्ने उपाय खोजिएको छ । उपाय नभेटेपछि मात्र समातेको देखिन्छ ।’

१३ गते पीडितले २० जनाविरुद्ध किटानी जाहेरी दिएपछि बल्ल प्रहरीले वडाध्यक्षसहित १२ जनालाई हिरासतमा लिएको थियो । अहिलेसम्म यो घटनामा २८ जना पक्राउ परेका छन् । ‘केटाहरूमाथि जसरी आक्रमण भएको छ, त्यस आधारमा षड्यन्त्र गर्न र पीडकलाई बचाउन खोजिएको हो कि जस्तो लाग्छ,’ पूर्वडीआईजी मल्ल भन्छन्, ‘प्रभावशाली नेता र मन्त्रीले आफ्नो जिल्लामा नजिकका मान्छेहरू (प्रहरी र अन्य महत्त्वपूर्ण क्षेत्रमा) लिएर जान्छन् भन्ने आमबुझाइ छ । यो बुझाइले रुकुम घटनामा कहीं न कहीँ काम गरेको देखिन्छ ।’

Source-Kantipur Daily

प्रतिकृया दिनुहोस्