RaraNews

प्रकाशित : २०७७/२/२९ गते
११६४ पटक

रुकुम पश्चिममा आधा दर्जन युवाहरुको ज्यान जाने गरि भएको बर्बर हत्यामा संलग्नहरुलाई दण्डित नगर्दा सम्म खबरदारी गर्नु पर्ने काठमाडौको माईतीघर मण्डलमा बोल्ने वक्ताहरुले बताएका छन । उनीहरुले यो घटनामा राजनितीक चलखेल हुन सक्ने र पिडितले न्याय नपाउने स्थिती आउन नदिन सबै मिलेर निरन्तर दवाव दिन जरुरी रहेको बताएका छन ।


कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाज पाटी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली समाजमा यस्तो अपराधिक घटना हुनु लज्जास्पद बिषय भएको धारणा राख्नु भयो । उहाँले २१ औं शताब्दीमा पनि दलित समुदायले अझै पनि मानव भएर बाच्न नसकेको धारणा राख्नु भयो । “पाईला पाईलामा अपमान,शोषण र दमन दलित समुदायले भोग्नु परेको छ यो निकै दुखद कुरा हो । ” उहाँले भन्नु भयो । रुकुम घटना अपराधको पराकाष्ट हुदा पनि दलितहरुले मात्रै बोल्नु पर्ने अरुले किन तमासा हेरेर बसेका छन ? अन्यायको बिरुद्ध सबै मिलेर आवाज उठाउनु पर्ने बताउनु भयो ।

त्यस्तै नागरिक अगुवा डा.सुन्दरमणि दिक्षितले रुकुम पश्चिम घटना न्याय दिलाउन फाष्ट्रकबाट लैजानु पर्ने धारणा राख्नु भयो । उहाँले यो घटनाको तत्काल निचोड निकालेर पिडितलाई न्याय दिलाउन पर्ने सुझाव दिनु भयो । अदालति प्रकृया पुरा गर्दा पिडक उम्किन सक्ने र निर्मला पन्त प्रकरणमा जस्तै घटना मोडिन सक्ने आशंका गर्नु भयो ।


अधिवक्ता सुनिल पोख्रेलले जातिय बिभेद बिरुद्ध बिभिन्न खालका कानुनहरु भए पनि मानविय सोचमा परिर्वतन नहुदा सम्म यस्ता अपराधिक क्रियाकलाप रहिरहने धारणा राख्नु भयो । उहाँले यस घटनामा पनि राजनितीक चलखेल हुन सक्ने भएकाले न्यायका लागि खबरदारी गर्नु पर्ने बताउनु भयो ।


रुकुम पश्चिममा घटनाको नियमित बिरोध कार्यक्रममा बिभिन्न राजनितीक दल,नागरिक समाज,दलित अधिकारकर्मी,दलित संघसंस्था लगायतले घटनामा एक्यवद्धता जनाएका थिए ।

प्रतिकृया दिनुहोस्