RaraNews

प्रकाशित : २०७७/२/२९ गते
२०८० पटक

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ मा गत जेठ १० गते भएको घटना जातीयताकै कारण सुनियोजित तरिकाले भएको ठहर गरेको छ । सङ्घको आयोजनामा एक अध्ययन टोलीले गरेको स्थलगत अध्ययन प्रतिवेदन अनुसार घटना सुनियोजित तरिकाले षड्यन्त्रमूलक ढङ्गबाट भएकोले गहन तरिकाले अध्ययन गर्न सरकारलाई सुझाव दिएको छ ।

सदस्यहरु अधिवक्ता बद्रीप्रसाद भुषाल, दलित अधिकारकर्मी गोपाल नेपाली, भीम घिमिरे, चिन्ता परियार र सङ्घका उपाध्यक्ष गोपाल बराइली संयोजक रहेको अध्ययन समितिले बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतिवेदन सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको प्रतिवेदनमा घटनामा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानूनी कारवाही गर्नुपर्ने सुझाव दिएको छ ।

यही जेठ १० गते रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुश्मा मल्लसँग नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जादैगर्दा स्थानीयले कुटपिट गरी हत्या गरिएको पीडित परिवारको भनाइ छ । मृतक नवराजसँगै अन्य पाँच जनाको पनि मृत्यु भएको थियो । प्रतिवेदनमा भनिएको छ,“यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई सांस्कृतिक सहिद घोषणा गर्र्नुपर्छ ।” निष्पक्ष रुपमा छानविन गरी दोषीलाई हँदैसम्मको कानूनी कारवाही गर्न माग दलित समुदायले विभिन्न जिल्लामा प्रदर्शनसमेत गर्दै आएको छन् ।

अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । प्रतिवेदनमा उल्लेख गरिएको निश्कर्षमा भनिएको छ,’उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।’

घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । ‘उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया (जड) अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।’-प्रतिवेदनमा भनिएको छ ।

अध्ययन समितिका संयोजक गोपाल बराईलीले प्रतिवेदन सार्वजनिक गर्दै वाचन गरेर सुनाएका थिए । उनले घट्नामा संलग्न दोषीहरुलाई हदैसम्मको कारबाही गर्नुपर्ने आफुहरुको उद्देश्य रहेको सुनाए । त्यस्तै, उनले आफूहरुले कसैको प्रभाव र सहयोग नलिईकन घट्नाको अध्ययन गरेको र प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको स्पष्ट पारे । र, उक्त घट्नामा १८ जना युवाहरुमध्ये एक जनाले पनि प्रतिकार नगरेको बराईलीले स्थलगत अध्ययनबाट थाहा पाएको सुनाए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जातीय विभेदकै कारण प्रेम सम्बन्धलाई चूनौति दिईएको र धरापमा पारिएको र त्यही श्रृंखलाको कडीको रुपमा ६ जनाले ज्यान गुमाउनु परेको स्पष्ट तस्विर आफूहरु काठमाडौंमा बस्नेले पनि बुझ्न सकेको सुनाए ।

उनले भने,‘त्यही कारणले सञ्चारमाध्यमहरुले कुनैपनि विषय र तथ्यलाई बंग्याउनुहुँदैन् । हाम्रो धर्म भनेको न्याय नपाएकहरुलाई न्याय दिने हो । आवाजविहीनहरुको आवाजलाई मुखरित गर्ने पेशा भएकोले हामीले जे कुरा हो, स्पष्ट तस्विर राख्नुपर्छ ।’ आफूहरु पत्रकारमात्रै नभएर गलत, शोषण, अत्याचारविरुद्धको अभियन्तापनि भएको उनले सुनाए । उक्त घट्ना मानव सभ्यताकै एउटा कलंककै रुपमा रहिरहने पनि उनले टिप्पणी गरे । घट्नामा संलग्न दोषीहरुलाई कानूनसम्मत रुपमा कडाभन्दा कडा कारबाही गर्नुपर्ने

त्यस्तै, अध्ययन टोलीका सदस्य बद्री भुषालले गत बैशाख १७ गते नवराज बिक प्रेमिकाको घर रुकुमपश्चिम चौरजहारी नगरपालिकाको सोती गाउँमा जाँदा त्यही गाउँका स्थानीय युवा विनोद मल्लले नवरालाई झापड हानेको उल्लेख गरे । र, सोही दिन वडाअध्यक्षको एक कल फोनको भरमा नवरालाई २४ घण्टासम्म थुनामा राखिएको पनि उनले सुनाए । भुषालले यो घट्नाको अनुशन्धानमा राजनीतिक हस्तक्षेप गरिएको पनि आरोप लगाए ।

उनले यो घट्नामा नियोजित रुपमा र भौतिक रुपमा प्रत्यक्ष संलग्न दोषीहरुलाई कडाभन्दा कडा सजाय हुनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनको सञ्चालन भने भीम घिमिरेले गरेका थिए ।

अध्ययन समितिले अघि सारेका सुझाव यस्ता छन् :
* घटना सुनियोजित तरिकाले षड्यन्त्रमुलक ढंगबाट भकोले गहन तरिकाले घटनाको अनुसन्धान गर्नु पर्नु देखिन्छ ।
* हत्यामा संलग्न व्यक्तिहरु र हत्याका मतियारलाई हदैसम्मको कानुनी कारवाही गरिनुपर्दछ ।
* जातीय विभेदका कारण हुने हत्या, हिंसाविरुद्ध सबै राजनीतिक दल, संचारमाध्यम, नागरिक समाजको एकीकृत पहलकदमीको आवश्यकता रहेको देखिन्छ ।

* उक्त घटना जातीय भेदभावबाट अभिप्रेरित भई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार, आत्मसम्मान, मानवीय मर्यादा, अविभेद, न्याय र समानता जस्ता मानवअधिकारका मुलभुत सिद्धान्त विपरित घटाइएको हुँदा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगलगायत मानअधिकारका क्षेत्रमा कार्य गर्ने सबै संघ संस्थाहरु समेत संवेदनशील भई निष्पक्ष छानविन तथा कडा भन्दा कडा कानूनी कारवाहीका लागि संयुक्त रुपमा पहल गरिनुपर्ने देखिन्छ ।

* मृतकको परिवार तथा उक्त घटनाका घाइते तथा प्रत्यक्ष देख्ने साक्षी, सर्जमिनका व्यक्तिहरु, मौकामा कागज गर्ने व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गरिनुपर्दछ ।

* घटनामा संलग्न अन्य व्यक्ति तथा आशंका गरिएका व्यक्तिहरु साथै फरार भएर व्यक्तिलाई तुरुन्त प्रक्राउ गरियोस ।
* नेपाल सरकारले मृतकका परिवारलाई उचित क्षतीपुर्ति तथा घाइतेहरुको उचित मनोपरामर्श तथा उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

* घटनामा संलग्न सबै ओपितहरुलाई गरिफ्तार गरी विद्यमान कानूनी प्रक्रियाअनुसार गहन अनसन्धान गरी फौजदारी अपराध तथा जातीय भेदभाव तथा छुवाछूत ऐनअन्र्तगत सजाय गरिनुपर्ने ।

* भविश्यमा यस्ता प्रकारका घटनहरु दोहोरिन नदिन नेपाल सरकारले रणनीतिक योजना तथा कार्यक्रम सहित अन्तरजातीय प्रेम तथा विवाहलाई सामाजिक मान्यता दिने किसिमका कार्यक्रम गर्नुपर्ने ।

* अन्तरजातीय प्रेम एवं विवाहको मुद्दामा विद्यमान कानूनी व्यवस्थामा पुनरावलोकन गर्नका लागि तत्काल पहल गरिनुपर्ने ।
* यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई ‘साँस्कृतिक सहिद’ घोषणा गरिनुपर्ने ।

हेरौं प्रतिवेदन यस्तो छ :

अन्तरजातीय प्रेमले निम्त्याएको जघन्य हत्या
रुकुम (पश्चिम), सोती काण्डको प्रारम्भिक प्रतिवेदन

राष्ट्रिय दलित पत्रकार संघ नेपाल
केन्द्रिय कार्य समिति

अन्तरजातीय प्रेमले निम्त्याएको जघन्य हत्या
रुकुम (पश्चिम), सोती काण्डको प्रारम्भिक प्रतिवेदन

पृष्ठभूमिः
जाजरकोट जिल्ला भेरी नगरपालिका वडा ४ रानगाउँ बस्ने नवराज विकले आफनो लामो प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्नको लागि १८ जना साथीहरुसहित चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा २०७७ जेठ १० गतेका दिन गएका थिए । सोतिमा पुग्न वित्तिकै आफनो टेलिफेनिक बाचा अनुसार उनले आफनी प्रेमीकालाई भेट्न सकेनन र प्रेमिकाको आमाको गालीपश्चात उनीसहित सबै साथीहरु ओरालो झेरर घर फर्किदै गर्दा करिव १५० जनाको हुलले नवराज र उनीका नजिकका साथीहरुलाई छानी छानी घरेलु हतियार तथा ढुंगाले हानेर हत्यापश्चात भेरी नदीमा फालेको देखिन्छ । जसको कारण नवराजसहित ६ जना युवाहरुको मृत्यु भएको थियो ।

सो घटनाका सम्बन्धमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालको नेतृत्वमा मानवअधिकारकर्मी, पत्रकारहरु तथा कानुन व्यवसायीहरुले जेठ २१ गते देखि २७ गतेसम्म घटनाको सत्यतथ्य पत्ता लगाउनको लागि घटनास्थलको अनुगमन, घटनाका पीडित, घाईते, घटनाका आरोपित, स्थानीय तथा सरोकारवालासँग भेटघाट तथा अन्तरक्रिया गरी तयार पारेको स्थलगत अध्ययनको प्रारम्भिक प्रतिवेदन तयार पारिएको छ ।

स्थलगत अधययनको उदेश्य

* घटना सम्बन्धमा सत्यतथ्य पत्ता लगाई प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने ।
* अपराधिहरुलाई हदैसम्मको कानुनी कारबाही र पीडितलाई न्यायको लागि सम्बन्धित निकायमा पहल एवं सिफारिस गर्ने ।
* घटनाको विषयमा सरोकारवालाको ध्यानाकर्षण गर्ने
* यसप्रकारका घटनाहरु समाजमा नदोहोरिनको लागि राज्यको ध्यानाकर्षण गर्ने ।
अध्ययन टोलीका सदस्यहरुः
* गोपाल बराइली संयोजक, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल
* बद्रीप्रसाद भुसाल, अधिवक्ता
* भीम घिमिरे, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल
* गोपाल नेपाली, समता फाउण्डेशन
* चिन्ता परियार, राष्ट्रिय दलित पत्रकार संघ, नेपाल
तथ्य संकलन विधि
* घटनास्थलको अध्ययन तथा अवलोकन
* मृतक परिवार तथा आफन्तहरुसँग भेटघाट तथा छलफल
* घटनाका सम्बन्धमा प्रकाशित समाचार, प्रतिवेदन, प्रेस विज्ञप्तिहरुको अध्ययन
* घटनाका पीडित तथा पीडकहरु, प्रत्यक्षदर्शीहरु, घाइतेहरुसँग भेटघाट तथा कुराकानी
* स्थानीय प्रशासन, प्रहरी प्रशासन, राजनैतिक दलहरु, नागरिक समाज, सञ्चारकर्मी, कानून व्यवसायीहरु, मानवअधिकारवादीहरु तथा सम्बन्धीत सरोकारवालाहरुसँग छलफल ।

घटना सम्बन्धी विस्तृत विवरण

नवराज विक र सुष्मा मल्लबीच विगत तीन वर्षदेखि अन्तरजातीय प्रेम सम्बन्ध रहेको थियो । नवराज विक जाजरकोटका एक राम्रो खेलाडी थिए । उनी चौरजहारी र जाजरकोटमा हुने विभिन्न खेलहरुमा भागले क्रममा सुष्मासँग २०७५ सालमा भेट भएको थियो । उनीहरु एक आपसमा गहिरो प्रेम सम्बन्धमा बाँधिएका थिए । २०७६ पुष महिनामा जाजरकोटमा लाग्ने रमाईलो मेलामा ती युवती नवराज विकको घरमा गएर चार दिनसम्म बसेको देखिन्छ ।

त्यसैगरी नवराज पनि युवतीको घरमा जाने गरेको र युवतीको आमाले जात थाहा पाएपछि ‘अब नआउनु, अब पनि घर आए ठीक हुँदैन’ भनी धम्क्याएको देखिन्छ । त्यस्तै गत बैशाख १७ गते युवतीको घरमा जाँदा वडाध्यक्ष डम्बरबहादुर मल्ल, स्थानीय विनोद मल्ल र परिवारका अन्य सदस्यहरु मिलेर उनलाई कुटपीट गरेको र वडाध्यक्ष आफैंले प्रहरी बोलाएर इलाका प्रहरी कार्यालय चौरजहारीमा पठाएको खुलेको छ ।

एक रात प्रहरी हिरासतमा राखिएपछि प्रहरीले भोली पल्ट कति दिन हिरासतमा राख्न सकिन्छ ? मिलापत्र गर्न आउनुहोस् भनी वडाध्यक्ष मल्ललाई चौरजहारी प्रहरीले खवर गर्दा ‘त्यो डुमसँग के को मिलापत्र हुन्छ ? म आउन सक्दिन, उसका आफन्तलाई बोलाएर जिम्मा लगाई दिनु’ भनेर वडाध्यक्षले बताएपछि प्रहरीले नजराजजकी आमालाई खबर गरेको र बैशाख १८ गते नवराजको आमा चौरजहारी पुगेर नवराजलाई बुझिलिएको देखिन्छ ।

नवराज र सुष्मबवीच फोनमार्फत कुराकानी भइरहदाँ युवतीको घरपरिवारबाट उनलाई दवाव आएको देखिन्छ । त्यसैले पनि नवराजले आफना मिल्ने साथीहरुसँग सोतीमा दुलही लिन जानुपर्ने कुरा केही दिनदेखि भन्दै आएका थिए । मिति २०७७ जेठ ९ गते सुष्माले आफनो विहाह अरुसँग गरिदिन लागेकोले १०÷१२ जना साथीहरुलाई लिएर मलाई लिन आउन आग्रह गरेको देखिन्छ । त्यो म्यासेज सुष्माको फोनमार्फत आए पनि उनले गरेको वा उनका परिवारका कुनै सदस्यले गरेका हुन् भन्ने कुरा खुल्न बाँकी रहेको छ ।

किनकी उनको फोन केही दिनदेखि उनको अभिभावकले कब्जामा लिएको पनि देखिन्छ । सोही म्यासेजलाई आधार बनाएर नवराजले आफ्नो साथीहरुलाई लिएर २०७७ जेठ १० गते सुष्माको घर पुगेको देखिन्छ । घरमा पुग्दा नवराजले सुष्मासँग भेटन पाएनन् । युवतीकी आमाले देखेपछि जातीय गाली गर्दै ‘तँ डुम फेरि आइस्, तलाइँ अझैं कुटाई पुगेनछ, अब तलाई नमारी नहुने भो’ मार्ने धम्की दिएपछि उनीसहित सबै साथीहरु कसैसँग केही नबोली सरासर घरतर्फ लागेको देखिन्छ । सुष्माको घरभन्दा करिव ६÷७ मिनेटको दुरीमा विनोद मल्लको घर नजिक पुगेर विनोद कहाँ छन् भनी उनकी काकीले कृष्णी मल्लसँग सोधेको देखिन्छ ।

कृष्णी मल्लले विनोद घर नभएको बताएपछि घर नजिकै रहेको नाउलोमा गएर पानी खाएका थिए भने त्यहाँ स्थानीय एक जना व्यक्तिले कहाँबाट आएका हौ बाबु काफल खाएर जाउ भनी केही समय अलमल्याएका थिए । उक्त अनुरोधलाई वेवास्ता गर्दै उनीहरु बन्जाडेको भिर (बन्चरे) भन्ने ठाँउमा पुगी मध्यपहाडी लोक मार्ग हुँदै हिडिरहेको अवस्थामा अचानक भीडले उनीहरुलाई आक्रमण गर्न थाल्यो ।

उक्त भीडले ‘नवराज को हो’ भन्दै खोज्न थालेपछि सबै एकाएक भागदौड गर्न थाले । भागदौडकै क्रममा नवराजसहित सबै जना तितिरवितिर भएको भएको देखिन्छ । नवराजसहित ६ जनाले भेरीमा हाम फालेको भनिए पनि घटनास्थल हेर्दा नदीमा हाम फाल्न सक्ने ठाउँ भेटिएन । अन्य १२ जना भेरी नदिको किनारसम्म पुगेको भने ५ जना भेरी नदीको एक भंगालो तर्न लाग्दा जाजरकोटतिर बसेका केहि व्यक्तिहरुले उनीहरुलाई कुट्न लाग्दा प्रहरी पुगेको देखिन्छ । योजनाबद्ध तरिकाले केहि व्यक्ति कालेगाँउको पुललाई घेरा हालेको देखिन्छ भने अन्य व्यक्तिहरुले सोतीदेखि घरेलु हतियारसहित लखेटेको देखिन्छ ।

करिब आधा घण्टापछि पुगेको प्रहरीले घटनास्थलबाट १२ जना घाइतेहरु्रको उद्धार गरेको थियो । भेरी पारी तरिसकेका पाँच जनालाई स्थानीयहरुले कुट्दै रावतगाँउबाट खटिएको प्रहरीलाई जिम्मा लगाएको थियो भने अन्य सबक्ै घाइतेहरुलाई चौरजहारीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर चौरजहारी लिएको थियो । घाइतेहरुको टाउको र छातीमा चोट लागेको थियो साथै शरीरका विभिन्न भागहरुमा घरेलु हतियारको चोट थियो । प्रहरीले जेठ ११ गते १२ जनालाई उनीहरुका अभिभावकहरुलाई जिम्मा लगाएको थियो ।

सोतीगाँउका स्थानीयहरुको आक्रमणमा परी भेरी नपा ४ का २१ वर्षीय नवराज विक, चौरजहारी नपा १ का २० वर्षीय टीकाराम सुनार, भेरी नपा ४ का २१ वर्षीय सन्जु विक, भेरी नपा ४का १७ वर्षीय गणेश वुढा,भेरी नपा ११ का १८ वर्षीय लोकेन्द्र सुनार र भेरी नपा ११ का गोविन्द शाहीको हत्या भएको थियो । शव उद्धारमा खटिएका स्थानीय युवाहरुका अनुसार सबै शव पेट नफुलेको, पानी नखाएको, शरीर नसुन्निएको, टाउको तथा शरीरमा गहिरो चोट लागेको, हात, दाँत, भाँचिएको अवस्थामा शब भेटेका थिए ।

पीडित पक्षले २०७७ जेठ १२ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाका नाममा किटानी जाहेरी दिएका थिए भने प्रहरीले घटनामा संलग्न भएको आरोपमा चौरजहारी नपा वडा नं. ८ का वडाध्यक्ष डम्बर मल्लसहित १८ जनालाई पक्राउ गरेको र सोधपुछकै क्रममा थप ७ जनालाई पक्राउ गरेको पाइएको छ । सबैजनासँग अनुसन्धान प्रक्रिया जारी रहेको प्रहरीको भनाई छ ।

घटनासँग सम्बन्धित सरोकारवालाहरुसँगको छलफल

घटनाको सत्यतथ्य छानविनका लागि विभिन्न व्यक्ति संघ संस्था, स्थानीय तहका प्रतिनिधिहरु, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालय, घटनाका घाईते, पीडित, पीडक तथा स्थानीय पत्रकार, कानुन व्यवसायीहरुसँग छलफल गरिएको थियो । छलफलका क्रममा दुई धार देखिन्छ । जाजरकोटमा यो जातीय विभेदकै कारण यस्तो प्रकारको जघन्य अपराध भएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ भने रुकुम केहि व्यक्तिहरुमा जातलाई पहिलो प्राथमिकता नदिएको देखिन्छ ।

जाजरकोट र रुकुमतिरका सञ्चारकर्मीहरु पनि दुई धारमा लागेको स्पष्ट देखिन्छ । जागरकोटतर्फका सञ्चारकर्मीहरु जातीय विभेदकै कारण सोती घटना भएको अडानमा छन् भने रुकुमतिरका सञ्चारकर्मीहरु जघण्य अपराधको रुपमा स्वीकारे पनि जातीय विभेद हो भनेर खुलेर बोल्ने अवस्थामा छैनन् । यसलाई हेर्दा राजनीतिक दवाव छ भन्ने कुरा स्पष्ट देखिन्छ ।

सरकारी निकायको पहल/कदमी
* जाजरकोट जिल्ला प्रहरी कार्यालयले किटानी जाहेरी लिएको,
* जिल्ला अस्पताल जाजरकोटबाट पोष्टमार्टन रिपोर्ट तयार गरेको
* रुकुम जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको
* जिल्ला सरकारी वकिलको कार्यालयले प्रक्राउ परेका अभियुक्तहरुको वयान लिने कार्य भइरहेको ।
स्थलगत अध्ययनका क्रममा भेटिएका तथ्यहरु
* विगत २ वर्षदेखि नवराज विक र सुष्मा मल्लबीच प्रेम सम्बन्ध रहेको ।
* सोती घटनाको मुख्य कारण जात नै हो भन्ने कुरा नवराजका छिमेकी इन्द्रबहादुर मल्ल तथा युवतीकी आमा प्रकाशी मल्लको भनाईबाट पुष्टि भएको देखिन्छ । ‘ए डुम अस्तिको कुटाईले पुगेन र आज तेरो लास जान्छ’ तथा तिमी मल्लकोे सम्धी बन्न खोजेको भन्ने जस्ता कुराले विक परिवारलाइ्र्र होच्याएको देखिन्छ ।
* अन्तरजातीय प्रेमलाई मल्ल परिवारको अस्वीकार्य भएकै कारण स्थानीयको कुटपीटबाट युवाहरुको मृत्यु भएको देखिन्छ ।
* घटना स्थलको प्रकृती हेर्दा भेरी नदीमा हाम फालेर बग्ने प्रकृति देखिँदैन ।
* घाईतेहरु मानसिक रुपमा विक्षिप्त रहेको देखिन्छ ।
* सवै शबहरुको घाउ, चोट हेर्दा एकै प्रकृतिको देखिन्छ । शरिरको माथिल्लो भागमा निर्घातरुपमा कुटपीट भएको देखिन्छ ।
*भेरी नदीको किनारमा फेला परेका शवहरुको प्रकृति हेर्दा शरिरका विभिन्न भागमा गहिरो चोट भएको, हात बाँधिएको, आखाँ फुटेको र पेट नफुलेको पानी नखाएको अवस्था देखिन्छ ।
* घटनालाई हेर्दा कहीँ कतै पनि प्रतिकार भएको देखिँदैन । केवल एकोहोरो कुटपीट भएको देखिन्छ । नदीको एक भंगालो तरेर गएका घाईतेहरुलाई पनि कुटपीट भएको देखिन्छ ।

निष्कर्ष

अध्ययन टोलीको बृहत छलफल तथा अन्तरक्रियाका आधारमा सोती हत्या काण्ड जातीय विभेदको पराकाष्ठ भएको ठहर गरेको छ । उक्त घटनाको जड अन्तरजातीय प्रेम रहेको कुरामा कसैले पनि नकार्न सक्दैन । जातका आधारमा घटित उक्त घटना पुर्व योजनाअनुसार चारैतिरबाट घेरेर, जाजरकोट जोड्ने कालेगाँउको पुलमा थुन्नुका साथै केही व्यक्तिहरु फुटबल खेल्ने निहुँमा भेरी पारी पुगेको देखिन्छ ।

घटनाको प्रकृति, घाइतेहरुको भनाई, आफन्तहरुको भनाई, स्थानीय सरकार, नेपाल प्रहरी तथा घटनाको पृष्ठभूमि हेर्दा उक्त घटना नियोजित रुपमा भएको देखिन्छ । उक्त हत्यालाई लकडाउन उलंघन गरेको तथा भागदौडका क्रममा आफैँ भेरीमा हाम फालेको वारदात कायम गराउने परिपञ्च स्वरुप आएको देखिन्छ । घटनाको जरिया (जड) अन्तरजातीय प्रेमसम्बन्ध नै देखिन्छ । जातीय विभेद तथा छुवाछूत कै कारण उक्त प्रेम सम्बन्ध अस्विकार्य भई सामुहिक हत्या भएको देखिन्छ ।

उक्त घटनाले संविधान तथा कानूनी राज्यलाई जवाफदेही बनाउन बाध्य पारेको देखिन्छ । जातका नाममा हुने हिंसा तथा दिनानुदिन हुने जातीय विभेदका घटनाहरु हेर्दा सरकार र सरोकारवाला निकाय अझैँ गम्भीर हुन आवश्यक देखिन्छ । त्यसैले यस्ता अपराधमा संलग्न सबैलाई हदैसम्मको दण्डको व्यवस्था गरिनुपर्दछ । यस प्रक्रियामा कुनै प्रकारको हस्तक्षेप हुनुहुदैन । यस्तो जघन्य अपराधलाई राजनीतिक रंग दिनु राम्रो हुँदैन । यस घटनामा पनि राजनीतिक गन्ध देखिन्छ । तर पनि अपराधीले सजाय पाउनुपर्छ निर्दोषले फस्न हुँदैन भने पीडितले न्याय पाउनु नै पर्छ ।

सुझाव

* घटना सुनियोजित तरिकाले षड्यन्त्रमुलक ढंगबाट भकोले गहन तरिकाले घटनाको अनुसन्धान गर्नु पर्नु देखिन्छ ।
* हत्यामा संलग्न व्यक्तिहरु र हत्याका मतियारलाई हदैसम्मको कानुनी कारवाही गरिनुपर्दछ ।
* जातीय विभेदका कारण हुने हत्या, हिंसाविरुद्ध सबै राजनीतिक दल, संचारमाध्यम, नागरिक समाजको एकीकृत पहलकदमीको आवश्यकता रहेको देखिन्छ ।
* उक्त घटना जातीय भेदभावबाट अभिप्रेरित भई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार, आत्मसम्मान, मानवीय मर्यादा, अविभेद, न्याय र समानता जस्ता मानवअधिकारका मुलभुत सिद्धान्त विपरित घटाइएको हुँदा राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय दलित आयोगलगायत मानअधिकारका क्षेत्रमा कार्य गर्ने सबै संघ संस्थाहरु समेत संवेदनशील भई निष्पक्ष छानविन तथा कडा भन्दा कडा कानूनी कारवाहीका लागि संयुक्त रुपमा पहल गरिनुपर्ने देखिन्छ ।
* मृतकको परिवार तथा उक्त घटनाका घाइते तथा प्रत्यक्ष देख्ने साक्षी, सर्जमिनका व्यक्तिहरु, मौकामा कागज गर्ने व्यक्तिहरुको जिउ ज्यानको सुरक्षाको ग्यारेन्टी गरिनुपर्दछ ।
* घटनामा संलग्न अन्य व्यक्ति तथा आशंका गरिएका व्यक्तिहरु साथै फरार भएर व्यक्तिलाई तुरुन्त प्रक्राउ गरियोस ।
* नेपाल सरकारले मृतकका परिवारलाई उचित क्षतीपुर्ति तथा घाइतेहरुको उचित मनोपरामर्श तथा उपचारको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
* घटनामा संलग्न सबै ओपितहरुलाई गरिफ्तार गरी विद्यमान कानूनी प्रक्रियाअनुसार गहन अनसन्धान गरी फौजदारी अपराध तथा जातीय भेदभाव तथा छुवाछूत ऐनअन्र्तगत सजाय गरिनुपर्ने ।
* भविश्यमा यस्ता प्रकारका घटनहरु दोहोरिन नदिन नेपाल सरकारले रणनीतिक योजना तथा कार्यक्रम सहित अन्तरजातीय प्रेम तथा विवाहलाई सामाजिक मान्यता दिने किसिमका कार्यक्रम गर्नुपर्ने ।
* अन्तरजातीय प्रेम एवं विवाहको मुद्दामा विद्यमान कानूनी व्यवस्थामा पुनरावलोकन गर्नका लागि तत्काल पहल गरिनुपर्ने ।
* यो जातीय विभेदकै कारण सामुहिक हत्या भएका कारण मृतक ६ जनालाई ‘साँस्कृतिक सहिद’ घोषणा गरिनुपर्ने ।

प्रतिकृया दिनुहोस्