RaraNews

प्रकाशित : २०७७/२/२९ गते
१२७२ पटक

बुटवल — बुधबार बिहान मृत्यु भएका अर्घाखाँचीका व्यक्तिको स्वाब प्रयोगशालाबाटै हराएको छ । स्वाब हराएपछि उनको दाहसंस्कार रोकिएको छ । परीक्षणका लागि पठाएको स्वाब हराएपछि शवलाई मालारानी–४ खनदहकै रातुकाचौरको प्रतीक्षालयमा राखिएको छ ।

परिवारले स्वाब रिपोर्ट हराएपछि दाहंसस्कारको काम नगर्ने अडान लिएपछि शवलाई प्रतीक्षालयमा राखिएको प्रमुख जिल्ला अधिकारी विजयराज पोखरेलले बताए ।

मालारानी गाउँपालिका वडा नम्बर–४ खनदहका ५७ वर्षीय पुरुषको बुटवलमा उपचारपछि घर फर्कंदै गर्दा बुधबार बाटोमै मृत्यु भएको थियो । उनी १४ दिनअघि भारतको महाराष्ट्रबाट आएका थिए । भारतबाट आएलगत्तै उनलाई गाउँकै क्वारेन्टाइनमा राखिएको थियो । उनी मालारानी गाउँपालिका ४ खनदहस्थित ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा उनको स्वाब चैत २३ मा संकलन गरिएको थियो । जिल्ला अस्पताल सन्धिखर्कका स्वास्थ्यकर्मीले उनको स्वाब संकलन गरेका थिए । चैत २५ मा प्रादेशिक प्रयोगशाला भैरहवा आइपुगेको थियो ।

उनको मृत्युपछि छिटो स्वाब परीक्षण गर्न ताकेता गरेपछि प्रयोगशालाका कर्मचारीले साँझ स्वाब हराएको जानकारी गराएको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले बताए । स्वाब नभेटिएको खबर पुगेपछि जिल्ला अस्पताल अर्घाखाँचीका स्वास्थ्यकर्मीले साँझ साढे ८ बजे मृतकको पुन: स्वाब संकलन गरेका थिए । राति पानी परेपछि स्वाब लिएको गाडी बिहान ५ बजेमात्र हिँडेको थियो ।

प्रयोगशाला हेरिरहेका जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बिहान करिब १० बजे दोस्रो स्वाब आएको र परीक्षणको तयारीमा रहेको बताए । पहिलो स्वाब हराएको नभइ नाम अस्पष्ट भएकाले पुन: स्वाब संकलन गरेको उनले दाबी गरे । ‘चैत २५ मा अर्घाखाँचीबाट ३ सय स्वाब आएका थिए,’ उनले भने, ‘एउटै नाम अरुको पनि रहेको र स्टिकर पनि निस्किएकाले कन्फ्युज भयो । त्यसैले अर्को स्वाब लिएका हौं ।’

मृतकका छोराका अनुसार सोमबार राति उनलाई श्वासप्रश्वासमा समस्या भएको थियो । हनहनी ज्वरो समेत आएपछि राति २ बजे क्वारेन्टाइनबाट घरपरिवारलाई खबर गरेका थियो । यसलगत्तै जिल्ला अस्पताल सन्धीखर्क ल्याइएको थियो । एक सय ३ डिग्री ज्वरो आएको र श्वासप्रश्वासमा समेत समस्या देखिएपछि अस्पतालले बुटवल रिफर गरेको थियो । अपरान्ह लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदा उनको तापक्रम ९८ डिग्री मात्रै थियो । उनी कुराकानी गर्न सक्ने भएका थिए । अस्पतालमा चिकित्सकबाट सामान्य परामर्श लिएर आफन्तले नै स्वाब नतिजा नआएको र अवस्था सामान्य बन्दै गएकाले घर लैजाने भन्दै विरामीलाई निकालेका थिए ।

प्रतिकृया दिनुहोस्