RaraNews

प्रकाशित : २०७७/२/२९ गते
१२६७ पटक

जनकपुरधाम । हाम्रो मुलुकमा सबैभन्दा बढी पिछडिएकामध्ये एक हो, मुसहर समुदाय । खासगरी तराई क्षेत्रमा बसोबास गर्ने अधिकांस यो समुदायका बासिन्दाको आफ्नो जग्गा छँदैछैन । ऐलानी जग्गामा घर बनाएर बसोबास गर्ने अनि मजदुरी गरेर जीविका चलाउने समुदाय ।

यही समुदायका एक युवक थिए धनु्षाको सबैला नगरपालिका १२ बरकुवाका शम्भु सदा । कम उमेरमै ट्याक्टर चलाउन सिकेर चालक अनुमति पत्र (लाइसेन्स) समेत लिए उनले । लाइसेन्स लिएपछि उनले आफ्नै नगरपालिकाका संजय साहको ट्याक्टर चलाउने जागिर पाए । पछिल्लो एक वर्षदेखि ट्याक्टर चलाउँदै परिवार पाल्दै आएका थिए उनले ।

१२ जेठ उनका लागि अभिशाप बन्यो । माटो लोड गरेर गाउँतर्फ ल्याउने क्रममा एक जना महिलालाई उनले चलाएको ट्याक्टरले ठक्कर दियो । ५५ वर्षकी ती महिला घाइते भएपछि स्थानीयले उनलाई घेरे । तर भिडले हातपात गर्ने सम्भावना देखेपछि उनी खेतैखेत अर्काे ठाउँमा पुगे । र, ट्याक्टर मालिक संजयलाई फोन गरेर घटनाबारे सुनाए । संजयले तिमीसँग लाइसेन्स छ केही हुँदैन, त्यही भएर प्रहरीकहाँ जाऊ भनेपछि उनी सीधै प्रहरीकोमा पुगे ।

उता उपचारका लागि धरानतर्फ लैजाने क्रममा ती महिलाको मृत्यु भयो । अब शम्भुलाई सवारी ज्यान मुद्दा खेप्नुपर्ने स्थिति आयो । ‘तर, उनी ढुक्क थिए ५ लाख रुपैयाँ तिरेपछि जेल हुँदैन, चाँडै छुट्छु भनेर,’ स्थानीय राजाराम मण्डल भन्छन्, ‘उनी प्रहरी समक्ष गए पनि आत्तिएका थिएनन् । कारण उनका मालिक संजयले पनि मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ती दिने बताएका थिए ।

तीनै शम्भु मंगलबार राति इलाका प्रहरी कार्यालय, सबैलाको थुनुवा कक्षभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । प्रहरीले उनले आत्महत्या गरेको बताएको छ । उनका परिवारका सदस्य र स्थानीयवासी भने यो कुरा मान्न तयार छैनन् । उनीहरुको एउटै भनाइ छ, ‘उनको हत्या भएको हो र घटनाको छानबिन हुनुपर्दछ ।’

चाँडो नछोडाए, मारिदिने बताएका थिए शम्भुले

‘आमा मलाई चाँडो छोडाउनुस्, नभए मलाई यहीँ मार्छ,’ रुँदै आफ्नी आमा र सासूलाई तीन दिन अगाडि भनेका थिए शम्भु सदाले । त्यस बेलाको कुरा सम्झँदै उनकी सासू तेतरी देवीले भनिन्, ‘ज्वाइँले मलाई छिट्टै हिरासतबाट निकाल्न भन्नुभएको थियो । नत्र मेरो ज्यानको खतरा छ भन्नु भएको थियो ।’

थुनाभित्र रहेका शम्भुलाई उनकी आमा सयाली देवी र सासूआमा तेतरी देवी भेट्न जाँदा शम्भुले यस्तो कुरा बताएका रहेछन् ।

शम्भुको कुरा सुनेर डराएकी आमा र सासू आमा दुवै ट्याक्टर धनी संजय साहलाई चाँडो छुटाइदिन आग्रह गर्न उनको घरै पुगेका थिए । ‘संजयले यो विषयमा धेरै मान्छेलाई भन्ने काम छैन, म छोडाइहाल्छु भने,’ तेतरी देवी भन्छिन्, ‘उसको कुराले ढुक्क हुन सकेनौं । हामी पनि ५ लाख रकम खोज्नतिर लाग्यौं ।’ रकमको जोहो गर्दागर्दै आफ्नो ज्वाइँलाई प्रहरी हिरासतभित्र हत्या गरिएको तेतरी देवीको आरोप छ ।

‘बेहोस् बनाएर औंठाछाप लगाए’

शम्भुको मृत्युपछि उनकी आमा सयालीदेवी विक्षिप्त बनेकी छन् । दिउँसो केहीबेर होसमा आएकी उनले आफूलाई प्रहरीले राति ३ बजे घरबाट उठाएर प्रहरी कार्यालयमा लगेको बताइन् । रातिको बेला प्रहरीले लैजाँदै आफूलाई डर लागेको बताउँदै उनले भनिन्, ‘प्रहरीले त्यहाँ लगेपछि तिम्रो छोराले झुण्डिएर आत्महत्या गरेको भन्यो, त्यो कुरा सुन्नेवित्तिकै रुन, कराउन थालेँ । त्यहीबीचमा पाखुरामा एउटा सुई लगाइदियो ।’

सुई लगाएको ठाउँ देखाउँदै उनले भनिन्, ‘त्यसपछि म बेहोस जस्तै भएँ । र एक जना प्रहरीले मेरो हात समातेर कुनै कागजमा औंठा छाप लगाएको सम्झना छ ।’ त्यसपछि प्रहरीले नै आफूलाई गाडीमा चढाएर घर पुर्याइदिएको उनको भनाइ छ ।

छानबिन नभए चरणबद्ध आन्दोलन हुन्छ

राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा मुखमा कपडा कोचिएको, ३ बजे नै उनकी आमालाई बोलाएर सही छाप गराएको र इलाका प्रहरी कार्यालयको सिसिटिभी बन्द रहेको जस्ता घटना क्रमले उनको हत्या भएको हुन सक्ने बताए ।

उनले घटनाको उच्चस्तरीय न्यायीक छानबिन नगरिए मुसहर समुदाय चरणबद्व आन्दोलनमा उत्रने बताए ।

मंगलबार शम्भुको शव झुण्डिएको अवस्थामा प्रहरी कार्यालयमै फेला परेपछि स्थानीयले प्रहरी कार्यालयमा ढुँगामुढा गर्दै सिसाहरु फुटाइदिएका छन् भने प्रहरीको गाडीमा पनि क्षति पुर्याएका छन् । अवस्थालाई शान्त पार्न प्रहरीलाई केही सेल अश्रुग्यास प्रहार गर्नुपरेको थियो ।

मुसहर समुदायका अगुवा चन्देश्वर मुसहर युवाको हत्या गरिँदासमेत कोही बोल्न नचाहेकाले छानबिन समिति बनाएर निष्पक्ष छानबिन नगरिए आफूहरु लगातार आन्दोलन गरिरहने बताउँछन् ।

अब कसले पाल्छ परिवारलाई ?

गत फागुनमै शम्भु र उनका पिता श्याम मिलेर ऋण लिएका थिए गाउँकै साहुबाट । कारण, शम्भुको दिदीको विवाह गर्नु थियो । यो ऋण चुकाउन उनका पिता श्याम फागुनमै भारतको मद्रास गए मजदूरी गर्न । घर चलाउने जिम्मेवारी शम्भुमाथि आयो ।

शम्भुसहित उनका कान्छो भाइ राम, आमा सयाली देवी, दुई बहिनी, श्रीमती मनिता र ६ महिनाकी छोरीको पेट पाल्ने जिम्मेवारी शम्भुकै थियो । उनले ट्याक्टर चलाएर आएको पारिश्रमिकबाटै उनको परिवार चलिरहेको थियो । ‘तर, अब कसले हाम्रो पेट पालिदिन्छ ?’ उनकी आमा भन्छिन्, ‘मेरो छोरालाई किन मारियो ?’

नेकपा नेता एवं पूर्व मन्त्री उमेश यादव प्रहरी हिरासतभित्र शम्भु सदाको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने बताउँछन् । ‘उनको हत्या या आत्महत्या के भएको हो ? प्रहरीको निगरानीमा रहेको व्यक्ति झुन्डिएको अवस्थामा मृत भेटिनु रहस्यमय छ,’ उनले भने, ‘गम्भीर छानबिन होस्, घटनालाई सामान्य ढंगले नलिइयोस् ।’

श्राेत : अनलाइनखबर

प्रतिकृया दिनुहोस्