RaraNews

प्रकाशित : २०७७/२/२३ गते
९८६ पटक

रुकुम पश्चिम — जातीय विभेदलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको सोती घटनामा संलग्नता आशंकामा प्रहरीले थप ७ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई बिहीबार बेलुकी ९ बजे जिल्ला प्रहरीमा पुर्‍याइएको हो ।

पक्राउ पर्नेमा चौरजहारी नगरपालिका–८, सोतीका ४० वर्षीय नेत्रबहादुर मल्ल, ३० वर्षीय रेशम मल्ल, २१ वर्षीय धनराज राना, २४ वर्षीय रमित पुन, २१ वर्षीय नवीन घर्ती, २४ वर्षीय विराज पुन र २२ वर्षीय भीम पुन छन् । अनुसन्धानको क्रममा यसअघि पक्राउ परेकाहरूको बयानमा उनीहरूको पनि नाम जोडिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालतको अनुमतिमा पक्राउ परेका उनीहरूमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरीप्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए ।

यीसँगै पक्राउ पर्नेको संख्या २५ पुगेको छ । पीडित परिवारले कर्तव्य ज्यानको किटानी जाहेरी दिएकामध्ये २ जना अझै फरार छन् । अघिल्लोचोटि पक्राउ परेका १८ जनालाई बिहीबार नै जिल्ला अदालतबाट दोस्रो पटक १० दिनको म्याद थप भएको छ । सोतीकी १७ वर्षीया मल्ल थरकी किशोरीका प्रेमीसहित जाजरकोटतर्फबाट आएका युवा स्थानीयको आक्रमणमा परेका थिए । जसमा ६ जनाको मृत्यु भएको छ । किशोरीका प्रेमी भनिएका नवराज विकसहित अरू ५ जनाको भेरी नदीमा शव भेटिएको थियो ।

विद्यार्थीको राँके जुलुस

यसैबीच घटनाका दोषीलाई कारबाहीको माग गर्दै बिहीबार साँझ सदरमुकाम खलंगामा नेपाल विद्यार्थी संघले राँके जुलुस निकालेको छ । घटनाको विरोध र दोषीलाई कारबाहीको दबाब दिन जुलुस गरिएको संघका जिल्ला सदस्य तिलक डाँगीले बताए ।

प्रतिकृया दिनुहोस्