RaraNews

प्रकाशित : २०७७/२/२३ गते
१२१८ पटक

राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ । रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको नौ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ सुर्खेतका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मालाई जेठ २२ गते विहान सल्यानको सल्लीबजार नजिकै बालुवासंग्रही भन्ने ठाउँमा सल्यानको प्रहरीले माथिको आदेश भन्दै प्रवेशमा रोक लगाएको छ । उनीहरुलाई विहानदेखि प्रहरी नियन्त्रणमा राखिएको छ ।

संघले विज्ञप्ती जारी गरी घटनाको भत्सार्ना गरेको छ । प्रवेशमा रोकको घटनाले स्वतन्त्र पूर्वक हिड्न पाउने नागरिकको अधिकार कुण्ठितमात्र गरेको छैन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको विज्ञप्तीमा उल्लेख छ । पत्रकारलाई घटना अध्ययन र समाचार संकलनमा रोक लगाउनु निरकुशताको पराकाष्ठ, अलोकतान्त्रिक र गैरकानुनी काम प्रशासनबाटै भएकाले भन्दै संघले विरोध गरेको छ ।

साथै रुकुम नरसंहार घटनाको थप सत्यतथ्य बाहिर ल्याउने काममा प्रशासनबाट अवरोध हुनुले घटनाको ढाकछोपमा स्वयम प्रशासन नै सक्रिय भएको होकी भन्ने आशंकामा थप प्रष्ट भएको संघले जनाएको छ । केन्द्रीय उपाध्यक्ष गोपाल बराइलीको नेतृत्वमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले रुकुम नरसंहारको स्थलगत अध्ययन र समाचार संकलनका लागि मिसन टोली जाजरकोट र रुकुम पठाएको छ ।

प्रतिकृया दिनुहोस्