RaraNews

प्रकाशित : २०७७/२/२२ गते
१४४७ पटक

अर्घाखाँची — अर्घाखाँचीमा दलित युवकले पकाएको खाना कथित माथ्लो जातका केही व्यक्तिले बहिष्कार गरेका छन् । मालारानी गाउँपालिका–४ खन चुँदारटोलको समाजकल्याण प्रावि क्वारेन्टाइनमा यस्तो घटना भएको हो ।

वडा कार्यालयमार्फत स्वयंसेवकका रुपमा खटिएका कृष्णबहादुर विकले क्वारेन्टाइनमा खाना पकाउँदै आएका छन् । उनले पकाएको खाना दिल्लीबाट आएका शीत गाउँका दिनेश घिमिरे लगायतले मंगलबार बहिष्कार गरे । त्यसपछि उनीहरुलाई स्थानीय पुरुषोत्तम भुसालले घरबाटै खाना ल्याइदिएका थिए ।

‘मैले भरेको पानी खानुभयो तर भात खानुभएन,’ विकले भने, ‘दलितले पकाएको खाएपछि आफूले नराम्रो सपना देख्ने, काँप्ने र बिरामी हुने जवाफ दिनुभयो ।’

दलितले पकाएको खाना नखाएपछि घिमिरेलाई कालिका नेपाल राष्ट्रिय माविको क्वारेन्टाइनमा सारिएको वडाध्यक्ष विष्णुप्रसाद पोखरेलले बताए ।

‘दलितले पकाएको भात उपल्लो जातिले खानु/नखानु उसको व्यक्तिगत स्वतन्त्रता हो, मन्दिरको पुजारी हुँ, दलितले पकाएको खाना खानुपर्छ भने म मर्छु भनेपछि घिमिरेलाई अन्यत्र सारियो,’ वडाध्यक्ष पोखरेलले भने, ‘क्वारेन्टाइनमा राख्दा जातीय रुपमा हेरिएन । सबैलाई एकै ठाउँ राखेका छौं ।’

दलित वडा सदस्य लक्ष्मी विकले पुजारी हुँ भन्दै खाना बहिष्कार गरेर दलितमाथि जातीय विभेद गरेको बताइन् । ‘एउटै गाउँका छिमेकीबीच जातीय द्वन्द्व ल्याउने काम भयो,’ उनले भनिन् ।

प्रतिकृया दिनुहोस्