RaraNews

प्रकाशित : २०७७/२/१३ गते
१०६९ पटक

काठमाडौँ — रुकुम पश्चिममा तीन जनाको मृत्यु र तीन जना बेपत्ता हुने गरी भएको घटनाको छानबिन गर्नका लागि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाले दलित युवाले मल्ल थरकी युवतीसँग विवाह गर्न खोज्दा भएको घटनाबारे छानबिन गर्नका लागि समिति गठन भएको संसदलाई जानकारी गराएका हुन् । 

राष्ट्रिय सभाको मंगलबारको बैकठमा गृहमन्त्री थापाले उक्त घटनाबारे भने, ‘गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत प्रतिनिधि, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत प्रतिनिधि र गृह मन्त्रालयका उपसचिव रहने गरी ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।’

गृहमन्त्रीले जाजरकोटका १९ जनाको समूह केटी भगाउन रुकुम पश्चिम गएको र त्यसै क्रममा केटी पक्षकाले आक्रमण गरेको जानकारी गराए । जसमा केटी भगाउने केटा नवराज विकसहित ३ जनाको शव भेटिएको र ३ जना बेपत्ता रहेको बताए । त्यस्तै बाँकीलाई सामान्य सोधपुछपछि प्रहरीले छोडेको पनि उनले जानकारी गराए ।

गृहमन्त्रीले कानुनी राज्य स्थापना गर्नेमा सरकार दृढ रहेको बताए । घटनामा संलग्न १२ जनालाई नियन्त्रणमा लिइएको बताए । जसमा युवती, युवतीका आमाबुबा, वडाअध्यक्षसमेत रहेका छन् । जोसुकै भएपनि कानुनी कारबाही गरिने गृहमन्त्रीले बताए ।

सांसदहरूले जातीय भेदभावका घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसका राष्ट्रिय सभा संसदीय दलका नेता राधेश्याम अधिकारीले घटनाको उक्त घटनाबारे सत्यतथ्य र त्यसविरुद्ध चालिएका कदमबारे जानकारी गराउन माग गरेका थिए । उनले कानुनले छुवाछुतलाई दण्डनीय भनेको तथा अपराध संहिताले छुवाछुतलाई कठोर रूपले दण्डनीय बनाउने व्यवस्था गरेको भन्दै उनले अहिले पनि दलितमाथि गैरदलितबाट आक्रमण हुनु लज्जास्पद विषय भएको बताएका थिए ।

उनले भने, ‘कानुनले छुवाछुतलाई कठोर रुपले दण्डनीय बनाउने व्यवस्था गरेको छ । छुवाछुतको आधारमा मानव मानवबीच विभेद कायम रहनु हाम्रो सामाजिक व्यवस्थाको लज्जाको विषय ठहरिनु पर्दछ । जाजरकोट नगरपालिकाका नवराज विक र रुकुम चौरजहारी नगरपालिका मलफर्कीकी युवतीबीचको प्रेम सम्बन्धलाई बिहेबारीमा परिणत गर्न गएका केही दलितमाथि भएको सांघातिक र सो हमलाबाट बच्न भेरी नदीमा हामफाली ज्यान गुमाउन बाध्य पारिएको नृशंस घटना प्रति म आफ्नो र आफ्नो पार्टीको तर्फबाट घोर भर्त्सना गर्न चाहन्छु ।’

प्रतिकृया दिनुहोस्