RaraNews

प्रकाशित : २०७७/२/१० गते
११०० पटक

लामो समयदेखि दलित शब्दको औचित्यका बारेमा धेरै छलफल भएका छन् । दलित शब्द के हो, यो कसका लागि हो, यसको इतिहास के छ ? यसले कसलाई सम्बोधन गर्छ, यसका विषयमा केही छलफल हुनु समय सापेक्ष देखिन्छ । युगौंदेखि छुवाछुत तथा जातीय भेदभावको मारमा परी सामाजिक, आर्थिक, राजनैतिक आदि सबै क्षेत्रमा पछाडि पारेको समुदायलाई दलित भन्ने गरिन्छ । दलित शब्द जात होइन अवस्था हो । यो समुदाय भित्र ३० भन्दा बढी जात जाति छन् । त्यसको पहिचान राष्ट्रिय दलित आयोगले गरेको छ ।

योजनाविद डा. हर्क गुरुङका अनुसार “जातीय विभेदले गर्दा सामाजिक रुपमा बहिस्कृत, आर्थिक रुपमा विपन्न र राजनीतिक रुपमा सिमान्तकृत समुदाय दलित हो” (गुरुङ, सन् २००३, १ः४) भन्ने परिभाषित भएको छ । यसरी डा. गुरुङले छुवाछुत तथा जातीय भेदभावबाट पीडित समुदायको अवस्थालाई जाहेर गर्ने गरी दलित शब्दको परिभाषा दिएको बुझिन्छ । त्यसैगरी राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पं. पदम सिंह विश्वकर्माका अनसार “छुवाछुत तथा जातीय भेदभावका कारण आर्थिक रुपमा शोषित, राजनीतिक रुपमा उपेक्षित, सामाजिक रुपमा उत्पिडित, शैक्षिक रुपमा बञ्चित र धार्मिक तथा साँस्कृतिक रुपमा अपहेलित समुदाय दलित हो” (वि.सं. २०५८) भन्ने परिभाषित भएको छ । यसरी पं. विश्वकर्माको परिभाषाले पनि छुवाछुत तथा जातीय भेदभावका कारण पीडित समुदायको पिछडिएको अवस्थालाई जाहेर गर्दछ ।

दुवै विद्वानहरुको परिभाषालाई तुलनात्मक रुपमा हेर्ने हो भने छुवाछुत तथा जातीय भेदभावका कारण एउटा निश्चित समुदायलाई पछाडि पारेको अवस्था हो भन्नेमा मतैक्य देखिन्छ भने पं. विश्वकर्माको परिभाषाले शैक्षिक, धार्मिक तथा साँस्कृतिक अवस्थालाई पनि समेटेर केही फराकिलो परिभाषा दिएको देखिन्छ । दलित शब्दको चलनचल्ती र भावनात्मक अर्थले बढी महत्व राख्छ र दलित शब्द मात्रले नै पनि पीडित समुदायको नजिक पुग्न सकिन्छ ।

छुवाछुत विरुद्धको आन्दोलनमा भारतीय दलित नेताहरुसँग नेपालका दलित नेताहरुको सहकार्य भएको पुरानो इतिहास छ । भारतीय संविधान निर्माता, तत्कालिन मन्त्री, दलित नेता डा. भीमराव अम्बेडकर वि.सं. २०१२ सालमा नेपालमा आउँदा सहश्रनाथ कपालीको अगुवाइमा नेपालका दलित नेताहरुसँग शितल निवासमा दलित मुक्तिका विषयमा लामो छलफल गरेका थिए । त्यस समयमा भारतमा दलित शब्द प्रयोग भैसकेको अवस्था थियो ।

डा. अम्बेडकरका पुत्र प्रकाश अम्बेडकरले “दलित पेन्थर” भन्ने संस्थाको नामबाट पछि सम्म दलित आन्दोलन चलाई रहे । साहित्यको माध्यमबाट पनि छुवाछुत तथा जातीय भेदभाव विरुद्धको अभियानलाई तिब्र रुपमा अगाडि बढाउन सकिन्छ भनेर भारतीय दलित आन्दोलनका नेता तथा तत्कालिन मन्त्री बाबु जगजीवनरामले नेपाली दलित नेताहरुको उपस्थितिमा डा. सोहन पाल सुमनाक्षरको नेतृत्वमा सन् १९८४ मा दिल्लीमा भारतीय दलित साहित्य एकेडेमीको गठन गरे र हालसम्म पनि सो संस्था सक्रिय रुपमा कार्यरत छ । यसरी छुवाछुत तथा जातीय भेदभाव विरुद्धको आन्दोलनमा भारतमा पनि दलित शब्दलाई अत्याधिक रुपमा आधार मोर्चा बनाएर अघि बढेको देखिन्छ ।

वि.सं. १९९७ साल देखि श्री भगत सर्विजत विश्वकर्माको नेतृतवमा बागलुङबाट र श्री सहश्रनाथ कपालीको नेतृत्वमा काठमाडौंको इन्द्रचोकबाट सुरु भएको छुवाछुत तथा जातीय भेदभाव विरुद्धको दलित आन्दोलन वि.सं. २००३ साल देखि श्री भगत सर्विजत विश्वकर्माको नेतृतवमा “ विश्व सर्वजन संघ ” नामबाट बागलुङबाट संस्थागत रुपमा अगाडि बढ्यो । छुवाछुत तथा जातीय भेदभाव विरुद्धको दलित आन्दोलन यस ैबिच विभिन्न कालखण्डमा विभिन्न जातीय तथा सामाजिक नामबाट सञ्चालित थिए भने वि.सं. २०२४ सालमा विधिवत रुपमा नेपाल राष्ट्रिय दलित जन विकास परिषद गठन भएपछि यसै नामबाट आन्दोलन राष्ट्रव्यापी हुँद अगाडि बढ्दै गयो ।

यसैबीच पञ्चायति शासकहरुले सामाजिक सेवा ऐन २०३४ ल्याए र त्यस अन्तर्गत सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद खडा गरे । यस परिषद मार्फत संघ संस्थाहरुलाई नियन्त्रण गर्ने प्रकृया सुरु गरियो । यो नियन्त्रण दलित उपर पनि लागु गर्न खोजियो । तत्कालिन दरबारलाई दलित शब्द पाच्य भएन अरु कुनै शब्द राख्न प¥यो भन्ने आदेश आयो । दलित नेताहरुले सहज रुपमा यो शब्द हटाउन नमानेपछि सामाजिक सेवा राष्ट्रिय समन्वय परिषदले भृकुटीमण्डपमा मिटिङ बोलाएर दरबारको आदेश सुनायो । श्रद्धेय नेता टि.आर. विश्वकर्मा केही साथीहरुलाई लिएर दरबारको आदेशको अवज्ञा गर्ने निर्णय लिएर मिटिङबाट बाहिरिनु भयो । त्यसपछि उहाँले नेपाल राष्ट्रिय दलित जन विकास परिषदलाई निरन्तरता दिइनै रहनु भयो । दलित शब्द दलित मुक्ति आन्दोलनको जग भैसकेको छ , यो शब्दलाई कुनै पनि शर्तमा हटाउनु हुँदैन भनेर श्रद्धेय नेता विश्वकर्माले भन्नुहुन्थ्यो ।

वि.सं. २०३५ सालमा कमलादिको एकेडेमीमा भएको पञ्च भेलामा टि.आर. विश्वकर्माले छुवाछुतलाई दण्डनीय गर्नु पर्छ र राज्यका हरेक निकायमा दलितलाई आरक्षण दिनु पर्छ भन्ने प्रस्ताव राख्दा उहाँलाई लछार–पछार गर्दै हलबाट बाहिर निकालियो । दलित शब्दको कट्टर पक्षपाति र दलित अधिकारको प्रखरवक्ता भएको हुनाले श्रद्धेय नेता टि.आर विश्वकर्मा तत्कालिन शासकहरुबाट सदैव प्रताडित हुनुहुन्थ्यो । श्रद्धेय नेता टि.आर विश्वकर्माको अर्धाङ्गीनि वि.सं. २०१० सालको पशुपति प्रवेश आन्दोलनमा जेल जीवन बिताएको दलित नेतृ मिठाईदेवी विश्वकर्मा हाल जिवितै हुनु हुन्छ ।

कसैको कुण्ठा वा कसैको लहडमा आएको शब्द होइन “दलित” । दलित शब्द नेपाल र भारतमा त सर्वाधिक रुपमा स्थापित छँदैछ, त्यसका अतिरिक्त छुवाछुत तथा जातीय विभेदबाट पिडित समुदायको खोजी तथा सम्बोधनका निम्ति हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्र तथा निकायमा प्रयोग भएको शब्द दलित हो । नेपाल, भारत, चीन, बेलायत, अमेरिका, जापान, अष्ट्रेलिया लगायत विभिन्न मुलकुका सरकार तथा अन्य निकायर्ले यही दलित शब्दले सम्बोधन गरेर दलित समुदाय लाइ सहयोग गरेका छन् । अहिले अक्सफोर्ड, हार्वार्ड, यू–एन लगायतका विश्व प्रतिष्ठित लाइब्रेरीमा यो समुदायको सूचना स्रोत खोज्न प¥यो भने दलित शब्दबाटै सुचना स्रोतहरु खोज्न पर्ने हुन्छ । त्यसैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकार, क्षेत्र वा निकायमा दलित शब्द स्थापित भै सकेको अवस्था छ ।

दलित शब्द उपर नियन्त्रण गर्ने राज्यको धङधङी लागेको दलित समुदायका केही पार्टीगत कार्यकर्ताहरुले नेपाल विकासोन्मुख समाज संघ नामले भात ृसंगठन दर्ता गरि दिन भनेर नेपाली कांग्रेसका तत्कालिन पार्टी सभापति कृष्ण प्रसाद भट्टराईकोमा गए । पार्टी सभापति भट्टराईले उक्त नामले यो समुदायको पहिचान खुल्ने नदेखेर आफैले नेपाल दलित संघ नाम राखेर भातृ संस्था दर्ता गरि दिए । हुनत दलित समुदायलाई सम्बोधन गर्नका निम्ति अन्य राजनैतिक दल तथा संस्थाहरुमा कतै उत्पिडीत समुदाय भनिएको छ, कतै शिल्पी समुदाय भनिएकोछ, कतै कर्मीजन भन्न खोजिएको छ, कतै जनवान भन्न्। खोजिएको छ । तर दलित बाहेक यी कुनै पनि अन्य शब्दले यो समुदाय मात्रको समष्टी सम्बोधन र पहिचान दिन सक्दैन ।

उदाहरणका लागि अन्य शब्दलाई हेरौं । उत्पिडित शब्दले यो वर्गको मात्र पहिचान दिँदैन । आर्थिक, सामाजिक रुपमा सबै नेपाली उत्पिडित छन् । शिल्पी शब्दले दलितलाई मात्र सम्बोधन गर्दैन । काँस, पित्तल, ढलोट, काठ आदिमा मूर्ति कुद्ने व्यक्ति वा समुदाय पनि शिल्पी हुन्छ, तर ऊ ऐतिहासिक रुपमा छुवाछुत पीडित हुँदैन । त्यस्तै कर्माजन, जनवान भन्ने शब्दहरु पनि यो समुदायलाई मात्र सम्बोधन गर्ने उपयुक्त शब्दहरु होइनन् । हो ! यो दलित शब्दको विकल्पमा केही वर्षदेखि केही नेताहरु लागेका छन्, तर उपयुक्त विकल्प दिन सकेका छैनन ।

भारतकै उदाहरण हेरौं । तत्कालिन समयका तथाकथित अछुतलाई समाजले घृणा ग¥यो भनेर गान्धीले अछुत शब्दको सट्टा हरिजन (विष्णु भगवान्का सन्तान) शब्दले सम्बोधन गर्ने भनेर सुरुवात गरे । तर कालान्तरमा त्यही हरिजन शब्द अपाच्य भयो र सवर्णले उनीहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएन । त्यसैले हामी नेपालका दलितहरु यो शब्दबाट भाग्न खोज्नु गलत हुन्छ । किनभने यो शब्द सर्वत्र स्थापित भैसकेको छ । दलित शब्द दलित मुक्ति आन्दोलनको े इतिहास र पहिचान भैसकेको छ ।

अन्य शब्द विकल्प खोज्दा विकास प्रकृयामा हामी अरु पछाडि धकेलिन्छौं । विकल्पका जुनसुकै शब्द राख्यौं भने पनि १० वर्ष पछि त्यो शब्द को पनि हालत यस्तै हुन्छ । त्यसैले हाम्रो समय शब्द परिवर्तनमा खर्च गर्ने होइन, तथाकथित सजातीयको दृष्टिकोण परिवर्तन गर्नेमा खर्च गर्नपर्छ । समस्या शब्दको होइन दृष्टिकोणको हो ।

गहतरात नेपाल दलित संघका केन्द्रीय सदस्य हुनुहुन्छ ।

Source – Khasokhas

प्रतिकृया दिनुहोस्