RaraNews

प्रकाशित : २०७७/२/९ गते
९४३ पटक

रुकुम पश्चिम — चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ सय २९ घर बनाउने भएको छ । जनता आवास कार्यक्रममार्फत विपन्न परिवारका लागि कर्णाली प्रदेश सरकारले घर बनाइदिन लागेको हो ।

जिल्लाका ६ वटै स्थानीय तहमा गरिब तथा विपन्न परिवारका लागि घर बनाउने तयारी अन्तिम चरणमा पुगेको छ । त्यसका लागि पूर्वाधार विकास कार्यालय, चौरजहारीले सम्बन्धित व्यक्तिसँग सम्झौता गरेको हो । जिल्लामा सबैभन्दा बढी घर चौरजहारी र आठबीसकोट नगरपालिकामा बन्नेछन् । त्यहाँ २८/२८ घर बन्ने निर्णय भएको छ भने मुसीकोट नगरपालिकामा १८ बन्दैछन् । सानीभेरीमा १९, बाँफिकोट र त्रिवेणी गाउँपालिकामा १८/१८ वटा घर लागेको कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको जिल्लामा ‘क’ निर्वाचन क्षेत्रमा ६४ र ‘ख’निर्वाचन क्षेत्रमा ६५ आवास बनाउने गरी निर्णय भएको हो ।

आफ्नो नाममा जग्गा भइ आर्थिक अवस्था कमजोर रहेका कारण घर बनाउन नसक्नेका लागि प्रदेश सरकारले जनता आवासमार्फत घर बनाइदिने भएको हो । ३ लाख १० हजार रुपैयाँमा एउटा घर बनाउने गरी निर्णय भएको मुसीकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए ।

चालु आर्थिक वर्षमा जनता आवासका लागि जिल्लामा ४ करोड रुपैयाँ बजेट आएको छ । जिल्ला समन्वय समिति प्रमुख राजकुमार शर्माले छनोट भएका हरेक परिवारका लागि २ कोठाको घरमा सानो बरन्डा पनि निर्माण हुने जानकारी दिए । उनका अनुसार एउटा कोठामा भान्सा बनाउने कार्यविधि निर्माण गरिएको छ । यद्यपि व्यक्तिले नै लगानी जुटाउन सके निर्धारित मापदण्डभन्दा ठूलो घर बनाउन सक्ने प्रदेशसभा सदस्य गोपाल शर्माले बताए । उनका अनुसार २ महिनामा काम सक्ने गरी काम सञ्चालनको तयारी भइरहेको छ ।

प्रतिकृया दिनुहोस्