RaraNews

प्रकाशित : २०७७/२/७ गते
१११९ पटक

पथरी, सप्तरी — घरमा चार दिनदेखि चुलो नबलेपछि सप्तरीको कञ्चनरुप नगरपालिका-५ पथरी रामपुरका मलर सदा मुसहर चिन्तामा डुबेका थिए । सोमबार दिउसो उनले श्रीमती जलेश्वरी देवीसँग अचानक कोदालो र छाता मागे । बेलुकाको खानाका लागि जसरी भए पनि सिदहा (खाद्यान्न) लिएर आउने बाचा गर्दै घरबाट निस्किए । 

केहीबेरमै बस्तीका एकजनाले मलर नजिकै खेतमा लडेको खबर लिएर आए । एकछिन अवाक् बनेकी जलेश्वरी १० वर्षीय नाति दिनानाथलाई लिएर खेततर्फ दौडिइन् । बेलुका खानेकुरा लिएर आउँछु भनेर हिँडेका ५० वर्षीय श्रीमान् खेतमा ढलेको देख्दा कस्तो महसुस गरिन् होला ? उनी भन्न सक्दिनन् । उनका आँखामात्र रसाउँछन् ।

नातिसमेत लागेर ढलेका श्रीमान्‌लाई उठाउन त खोजिन् तर सकिनन् । घरमा रहेका दुई जना बुहारीलाई बोलाइन् । नजिकै बाँतर टोलका दुईजना आइपुगे र बुहारीको पिठ्युँमा बोकाएर घर ल्याइन् । ‘घर ल्याएपछि उपचार गर्न लान्छु भन्ने सोचेँ । तर फेरि पैसा कहाँबाट आउँछ भन्दै उपचार गर्न गइनँ,’ बुधबार दिउँसो जलेश्वरीले सुनाइन्, ‘रातभरि त्यतिकै घरमा राखेँ, मंगलबार बिहान ८ बजे प्राण गयो । खाना नपाएरै मेरो पतिको ज्यान गयो । हामी गरिबको को छ र ?’

चार दिनदेखि पेटमा अन्न परेको थिएन । भोको पेट लिएर कोदालो चलाउन हिँडेका मलर खेतमै लडे । समयमै उपचार गरेको भए बाँच्न पनि सक्थे तर गरिबीका कारण मुसहर परिवारले उपचारसमेत गराउन पाएन । उनको घरमा अन्न नभएपछि एक दिनअघि छिमेकी फनिलाल सदाले खिचडी बनाउन थोरै चामल दिएका थिए । ‘भोकले गाह्रो भयो भनेर मलरले भनेपछि मैले उनकी श्रीमतीलाई चामल दिएको थिएँ,’ फनिलालले भने, ‘बिचरा, गरिबीले खान नपाएरै बिते ।’

स्थानीय तहले दुई साताअघि १५ किलो चामल र १ सय २० रुपैयाँ राहत रकम दिएको थियो । राहतको चामल सकिएको चार दिनसम्म खाद्यान्न नजुटेपछि मलर जोहो गर्न कोदालो लिएर हिँडेका थिए ।

उनका तीन भाइ छोरा छन् । दुईजना विवाहित हुन् । सबै रोजगारीका लागि भारतको गुजरातमा छन् । दुई बुहारी एकै आँगनमा भए पनि छुट्टै बसेका छन् । दुई छोराको कच्ची घर छ । मलर दम्पतीको भने भत्केको घर ।

‘खान नपाई मर्ने बेलामा न सन्तानले हेरे न त सरकारले,’ शोकमा डुबेकी जलेश्वरीले आँसु पुछ्दै भनिन्, ‘छोराहरुले पनि के गर्नु, दुई महिनादेखि गुजरातमा बेरोजगार छन् । उनीहरुलाई नै के दोष दिनु, हाम्रो भाग्यमै खाना नपाई मर्नु थियो ।’

मलरको मृत्युपछि जलेश्वरीसँग सद्गत गर्नसमेत पैसा थिएन । टोलवासीले उठाएर १५ सय रुपैयाँ दिए । जसले कात्रोलगायत सद्गतको सामान खरिद गरी अन्तिम संस्कार गरियो । सबै छोरा घरबाहिर रहेकाले नाति दिनानाथ (जेठा राजेशका कान्छा छोरा) ले दागबत्ती दिए । ‘किरियामा बसेको नातिलाई लगाउन एउटा गन्जी छैन, पुरानै कपडा लगाएको छ,’ जलेश्वरीले भनिन्, ‘किरिया कसरी सक्ने र अबको दिन कसरी बिताउने भन्ने चिन्ताले सताएको छ ।’

कञ्चनरुप नगरपालिकाका प्रमुख बसन्त मिश्रले भने मलरको मृत्यु भोकका कारण नभई दमरोगका कारण भएको दाबी गरे । ‘उनी दमका रोगी थिए, औषधि खाइरहेका थिए, रक्सी पनि खान्थे,’ उनले भने ।

जलेश्वरीले भने आफ्ना पति रोगी नभएको बताइन् । उनका अनुसार पाँच दिनअघि खोकी लागेपछि मलरले औषधि खाएका थिए । घरमा ‘सालबुटामोल’ सिरप र केही ट्याबलेट बाँकी थियो । ‘हामी गरिब सबै रोगसँग लड्न सक्छौं तर भोकसँग लड्न सक्दैनौं,’ जलेश्वरी भन्छिन्, ‘मेरो पति गरिबी र भोको पेटका कारण मरेका हुन् । ठूलाबडाले त जे भने पनि हुन्छ । हामी डराउनुबाहेक अरु के गर्न सक्छौं ?’

नगरप्रमुख मिश्रले आर्थिक सहयोग चाहिए नगरपालिकामा निवेदन दिनु भनेर जलेश्वरीलाई भनिसकेको बताए ।

सरकारले पटकपटक दोहोर्‍याउने गरेको छ- ‘अब खान नपाएर कोही नेपाली मर्नेछैनन् ।’ मलर सदाले भने भोकसँग लड्दालड्दै प्राण त्यागे । उनको यो मृत्युले सरकारी प्रतिबद्धतालाई गिज्याएको छ । ‘सरकारी प्रतिबद्धता नारामा मात्र सीमित भयो,’ स्थानीय दलित अधिकारकर्मी भोला पासमान भन्छन्, ‘प्रतिबद्धता कार्यान्वयन गरी गरिबहरुसम्म नआउँदा यसरी मरी नै रहनेछन् ।’

ekantipur.com

प्रतिकृया दिनुहोस्