RaraNews

प्रकाशित : २०७७/२/२ गते
१२५७ पटक

धनकुटा । धनकुटाका प्रतिष्ठित व्यक्तिले नै एक बालिकाको यौन शोषण गरिरहेको रहस्य खुलेको छ ।

धनकुटा नगरपालिका वडा नं. ६ आत्मारा बस्ने १३ वर्षीय दलित बालिकालाई लामो समयदेखि धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने मदन अधिकारी, धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगर ललाईफकाई गरी यौन शोषण गर्दै आएको खुलेको हो ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । श्रेष्ठले सिरानबजारमा खाजा पसल सञ्चालन गर्दै आएका छन् । अत्री स्थानीय व्यवसायी हुन् ।

उनीहरुले लामो समयदेखि ती बालिकालाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेका थिए । तर, ती बालिका गर्भवती भएपछि मात्रै चार जनाले बालिकालाई यौन शोषण गर्ने गरेको रहस्य खुलेको हो ।

बालिकामाथि यौन शोषणको आरोप लागेका चार जना नै ५० वर्षमाथिका हुन् । उनीहरुले सो घटना लुकाउन आफुहरुले बन्ध्याकरण गरिसकेको बताउने गरेका छन् ।

गरिव परिवारकी सार्की समुदायकी ती बालिकालाई युवतीलाई उनीहरुले लामो समयदेखि ललाईफकाई यौन शोषण गर्दै आएपछि कसैलाई थाहा थिएन । बालिकाको पेट बढ्दै गएपछि स्थानीयले सोधपुछ गर्दा उनी गर्भवती भएको खुलेको थियो । सो लगत्तै स्थानीयले प्रहरीमा उजुरी दिन खोजको भए पनि पीडकहरुले उजुरी नगर्न बरु पैसा दिएर मिलापत्र गराउन दवाव दिँदै आएका थिए ।

आरोपित चार जनाले नै बिहीबार दिउँसोसम्म पीडित बालिकाका बुवालाई प्रति व्यक्ति ३ लाखका दरले उपलब्ध गराउने गरी मिलापत्रको प्रयास गरिरहेको स्थानीयका भनाई छ ।

चारै जना पहुँचवाला भएका कारण स्थानीयले उनीहरुलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनन् । लामो समयको प्रयासपछि बिहीबार बालिकाको जिल्ला अस्पताल धनकुटामा स्वास्थ्य जाँच गरिएको स्थानीय मणी राई बताउँछन् ।

स्वास्थ्य जाँचका क्रममा बालिका गर्भवती भएको प्रमाणित भएपछि आरोपित चारै जनाविरुद्ध मुद्दा गराउने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस्