RaraNews

प्रकाशित : २०७७/२/१ गते
१४८१ पटक

भोको पेटले कहिलै पनि समाजवाद सम्झन नसक्ने भएकाले अबको बजेट तथा कार्यक्रमले पछाडि पारिएको वर्ग,क्षेत्र,लिङ्गलाई समेटेर लैजानुको बिकल्प नभएको प्रतिनिधि सभा सदस्य पार्वति बिशुन्केले धारणा राख्नु भएको छ । जागरण मिडिया सेन्टरले साप्ताहिक रुपमा उत्पादन गर्ने कार्यक्रम कट्वाल रेडियो पत्रिकासंग कुरा गर्दै उहाँले सो धारणा राख्नु भएको हो ।


उहाँले पछाडि पारिएका वर्ग,क्षेत्र,लिङ्ग मध्य पनि बिशिष्टीकरण तरिकाले हेरेर सबै भन्दा पिधमा परेको वर्ग,क्षेत्र,लिङ्गलाई माथी उठाउनु पर्ने कुरामा जोड दिनु भयो । सोलोडोलोमा बजेट तथा कार्यक्रम आउदा पछाडि पारिएको दलित तथा सिमान्तकृत समुदाय सधै पछाडि पर्ने गरेको भन्दै आवश्यकताको आधारमा बजेटले सबैलाई छुन सक्नुपर्ने बताउनु भयो ।


अहिले बिषम परिस्थितीका बाबजुद नयाँ बजेट तथा कार्यक्रम आउन लागेको भन्दै नयाँ कार्यक्रम ल्याउन नसके पनि दलितका रैथाने सीप,कलालाई प्रर्वद्धन ,आधुनिकीकरण गरि बजारीकरणको व्यवस्था राज्यले गर्नु पर्नेमा जोड दिनु भयो ।


त्यस्तै उहाँले निती,नियम,कानुन बने पनि समाजमा अहिले पनि बिभेद,अन्याय र असमानताको अन्त्य हुन नसकेको भन्दै चिन्ता व्यक्त गर्नु भयो । जब सम्म निर्णायक तहमा पछाडि पारिएको समुदायको उपस्थिती हुदैन तब सम्म समाजमा बिभेद,अन्याय र असमानताको अन्त्य हुन नसक्ने ठोकुवा गर्नु भयो “बोल्ने ठाउँमा पुगे पनि सुन्ने ठाउँमा अर्कौ हुदा कार्यान्वयन हुन नसकेको उहाँले बिचार व्यक्त गर्नु भयो ।”


बिभेद,अन्याय र असमानताका बिरुद्ध चुपलागेर बस्न नहुने भन्दै दलित तथा सिमान्तकृत समुदायलाई अधिकार प्राप्तीका लागि संगठित भएर आवाज उठाउन आग्रह गर्नु भयो ।

प्रतिकृया दिनुहोस्