RaraNews

प्रकाशित : २०७७/१/३१ गते
७८९ पटक

पाल्पा — मकैबारीमा आमाको किरिया बसेका बगनासकाली गाउँपालिका–१, चिर्तुङ्धारा मैदानका पूर्णमान श्रेष्ठ र उनको श्रीमती सरितालाई घरमा सारिएको छ । बगनासकाली गाउँपालिका र दलित अधिकारकर्मीको दबाबमा घरमा सारिएको हो ।

उनीहरुलाई अलग्गै सटरमा राखिएको छ । दुई तलाको घरमा माथिल्लो तल्लामा बुहारी गीतालगायत बस्छन् । सडक छेउको सटरमा उनीहरुलाई राखिएको स्थानीय अनिल हिताङले बताए ।

स्थानीय दलित अधिकारकर्मीले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत र मुलुकी अपराधसंहिता, २०७४ अनुसार यस्तो दुव्र्यवहारविरुद्ध मुद्दा हाल्ने दबाव दिएका थिए । त्यसपछि मात्रै नेवार समुदायका गुठियारको सहयोगमा उनीहरुलाई बारीबाट घरमा सारिएको हो । १४ वर्षअघि दलित युवतीसँग बिहे गरेको पूर्णमान अहिलेसम्म घरमा पसेका थिएनन् । ‘ठूलो हावाहुरी र पानी पर्न थालेपछि मान्छेको ज्यान बचाउनका लागि पनि घरमा सारेका हुन्,’ दलित अधिकारकर्मी तथा बगनासकाली गाउँकार्यपालिका सदस्य तेजप्रसाद रसालीले भने, ‘तत्काल समस्या समाधानका लागि घरको सटरमा सारेका हुन् ।’

पूर्णमान र उनकी श्रीमती सरितालाई ७३ वर्षीया आमा मनकुमारीको निधनपछि मकै बारीको छाप्रोमा बसालेका थिए । सुरुमा गुठियारले केही टाढा रहेको पौवामा बस्न आग्रह गरेका थिए । पौवामा बस्न नहुने तर्क दलित समुदायबाट आयो । त्यसपछि घर छेउकै मकै बारीमा बस्न घरपरिवारले अनुमति दिए । नेवार समुदायका गुठियारले घर नबनाई पूर्णमानको ससुराली पक्षबाट छाप्रो बनाएर किरियाका लागि राखेका थिए । छाप्रोभित्र पूर्णमान र उनका श्रीमती बसेका थिए । मकै बारीमा राखिएकोमा अधिकारकर्मीबाट विरोध भएपछि अहिले घरमा सारिएको स्थानीयले बताए । ‘घर नजिकको बारीमा बस्नका लागि अनुमति लिन पनि समस्या भएको थियो,’ स्थानीय कमल नेपालीले भने ।

मकैबारीमा राखेको थाहा पाउनासाथ बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल, प्रवक्ता लक्ष्मीप्रसाद अधिकारी, चापपानीका वडाध्यक्ष थानेश्वर तिमिल्सेना, कार्यपालिका सदस्य रसालीलगायत पुगेका थिए । उनीहरुले घरपरिवार, गुठियार, दलित समुदायसँग छलफल गरे । अध्यक्ष बस्यालले पीडित र पीडक दुवै पक्षलाई बुझेर तत्काल घरमा सार्नुपर्ने सुझाव दिएर फर्किए । उनले यसरी मकै बारीमा राख्नु अन्याय भएकाले तत्काल घरमा सार्ने वातावरण बनाउन पहल गरे । ‘यसरी मकै बारीमा छाप्रो लगाएर राखिनु अन्याय मात्र होइन, अपराध नै हो,’ उनले भने, ‘यस्तो विषयमा हामी गम्भीर छौं । जातीय छुवाछुत गर्न पाइँदैन भनेर बुझाएपछि बल्ल घरमा सार्न तयार भएका हुन् ।’

गाउँपालिकाका प्रवक्ता अधिकारीले अहिलेको अवस्थामा पनि यसरी मकैबारीमा राख्नु गलत भएको बताए । मानवीय संवेदना हराएको जस्तो देखिएकाले घरमा राख्नुपर्ने सुझाएको उनले बताए । चापपानीका वडाध्यक्ष तिमिल्सेनाले यस्तो विषयलाई सबैले गम्भीरताका साथ लिनुपर्ने बताए । ‘पूर्वक्याम्पस प्रमुख जस्तो बौद्धिक व्यक्तिको घरमा नै यस्तो अवस्था देख्नु लाजमर्दो कुरा हो,’ उनले भने, ‘यस विषयलाई गम्भीरताका साथ दिएका छौं ।’ पूर्णमानका दाजु र भाइ विदेशमा छन् । जेठीआमातर्फका (सौतेला) दाजु रामलाल श्रेष्ठ बुटवल बस्छन् । रामलाल कालीगण्डकी राम्दी घाटबाट सिधै बुटवल गएका हुन् । आमाको चितामा रामलालले दागबत्ती दिएका हुन् । उनले नेवा गुठियार र घरपरिवारको सल्लाहअनुसार नै काम भएको बताए ।

‘भाइलाई अलग्गै बस्नु भनेर मैले भनेँ र दोषी म देखिएँ,’ उनले भने, ‘तर घरपरिवार र गुठियारसँगको सल्लाहमै मैले भनेको हुं । समाजलाई परिवर्तन एकै पटक गर्न समस्या रहेछ भन्ने बुझेँ ।’ उनले अहिले घरमा राखेकाले समस्यालाई बल्झाउनेभन्दा साम्य पार्न आग्रह गरे । घाटमा शव छुन नदिएको भन्ने कुरामा सत्यता नभएको उनले बताए । समाज र गुठियारको आग्रहअनुसार भाइ पूर्णमानले दागबत्ती मात्र दिन नपाएको रामलालले बताए । ‘कालीगण्डकीको राम्दी घाटमा शव जलाएपछि सिधै बुटवल गएका रामलाल पुन: फर्केर किन नआएको हो भन्ने कुरा हामीलाई अचम्म लागेको छ,’ स्थानीय कमल नेपालीले भने, ‘धेरै पटक कुरा गरियो तर आउन अटेरी गर्नुको कारण बुझिएको छैन ।’ १४ वर्षअघि अन्तरजातीय विवाह गरेका पूर्णमान अझैसम्म घर पस्न नपाएको कुरा गर्नुपर्ने उनले बताए ।

गुठियार लोकमान श्रेष्ठका अनुसार घरपरिवारले भनेअनुसार नै आफूहरुले विधिवत् कार्य गर्ने बताए । ‘हामी आफैले त्यस्तो काम गरेका होइनौं,’ उनले भने, ‘घरपरिवारले जे भन्नुभयो त्यही गरेका हौं ।’ गुठियारहरु पनि घरका बुहारी र दाजु रामलालको सल्लाहबमोजिम नै काम गरेको बताएका छन् । मलामीसमेत गएर फर्केका अनिल हिताङका अनुसार रातारात बाँस खोजेर छाप्रो बनाएर किरिया बसालिएको हो । दलित समुदायले नै बारीमा छाप्रो बनाइदिन पर्ने अवस्था आउनु नै दु:खद भएको उनले बताए । घरको सटरमा राखेपछि भने गुठियार नै खाना खुवाउन पुगेका छन् । उनका अनुसार सबैको दबाबपछि अहिले अवस्था सामान्य बन्दै गएको छ ।

Source : Kantipur Daily

प्रतिकृया दिनुहोस्