RaraNews

प्रकाशित : २०७७/१/२९ गते
९३३ पटक

पाल्पा — अन्तरजातीय विवाह गरेका बगनासकाली गाउँपालिका–१, चिर्तुङधाराका पूर्णमान श्रेष्ठ १४ वर्षयता घर पस्न पाएका छैनन् । उनकी ७३ वर्षीया आमा मनकुमारीको शुक्रबार निधन भयो । तर, पूर्णमानलाई दागबत्ती दिनबाट समेत रोकियो । आमाको पार्थिव शरीरलाई घरबाट कालीगण्डकीको राम्दीघाट पुर्‍याउँदासम्म छुन नदिएको उनले बताए ।

‘समाजका कारण घरमै पस्न दिइएको थिएन,’ उनले भने, ‘अहिले आमाको शव छुन नदिँदा दु:ख लागेको छ ।’ घरनजिकको दलित बस्तीकी युवतीसँग प्रेमविवाह गरेकाले पूर्णमानलाई परिवारले नस्विकारेका हुन् । आमाको निधनपछि काजकिरिया गर्न पूर्णमान र उनकी श्रीमती सरितालाई मकैबारीमा छाप्रो बनाएर बसालिएको छ । छाप्रोनजिकै पुख्र्यौली पक्की घर छ । ‘ससुरालीबाट आएर राति १० बजे छाप्रो बनाएपछि बसेका हौं,’ उनले भने, ‘मैले घरमा जबरजस्ती गरेको थिइनँ । तर मलाई आमा मरेपछि पनि यस्तो अवस्थामा राखियो ।’

आफूलाई सामाजिक बहिष्कार गरिएको अनुभव गरेको उनले सुनाए । सुरुमा गुठियारले केही टाढा रहेको पौवामा बस्न आग्रह गरेका थिए । तर, नजिकका दलित समुदायले पौवामा बस्न हुन्न भनेपछि घरको छेउ मकैबारीमा छाप्रो बनाएर राख्न तयार भएका थिए । ‘हामीले घरदेखि धेरै टाढा बस्न हुन्न भनेपछि मात्र मकैबारीमा बस्ने स्वीकृति घरपरिवारबाट पाएका हौं,’ मलामीसमेत गएर फर्केका अनिल हिताङले भने, ‘रातारात बाँस खोजेर छाप्रो बनाएर बसालेका हौं ।’

आफ्नै समुदायको गुठियारले मतलब नगरेपछि उनलाई दलित समुदायले नै बारीमा छाप्रो बनाइदिन परेको उनले बताए । ससुरालीमै बसिरहेका पूर्णमानले आमाको निधनको खबर छिमेकीबाट थाहा पाएका थिए । घरमा पुगे पनि आमाको पार्थिव शरीर हेर्न मात्र पाए । नेवा: गुठियारका सदस्यले कान्छी बुहारी गीता श्रेष्ठको निर्देशन भन्दै पूर्णमानलाई नजिक बस्नसमेत दिएनन् । घरबाट शव उठाइसकेपछि बाटोमा समेत आमाको शव काँधमा राख्न नदिएको पूर्णमानले सुनाए ।

कालीगण्डकी राम्दीघाटमा पुगेपछि आमाको दाहसंस्कार सुरु भयो । जेठी आमातिरका बुटवल बस्ने दाइ रामलाल श्रेष्ठ नआउन्जेल दाहसंस्कार भएन । उनले भने, ‘दाइ आइसकेपछि पानी खुवाउन र चितामा चढाउन सहयोग गरे । मलाई आमाको पार्थिव शरीरमा दागबत्ती दिनबाट रोकियो ।’ दलित जातिसँग विवाह गरेकाले दागबत्ती दिँदा आमा स्वर्ग नजाने भन्दै रोक लगाइएको उनले सुनाए । दाइ रामलालले समाजलाई दोषी देखाई पूर्णमानलाई सम्झाएका थिए । ‘दागबत्ती मैले दिन्छु भन्दै दाइ आफैंै अघि सरेपछि म केही बोलिनँ,’ उनले भने । दाहसंस्कारबाट कोरा लगाएर फर्किएका उनले मकैबारीमा किरिया बस्नुपर्छ भनेर कल्पनासमेत गरेका थिएनन् ।

‘घरमा बस्न नदिने कुरा भयो,’ उनले भने, ‘म पूर्वतर्फको बारीतिर लागें । यहीं बस्न दिनूस् भन्दा पौवामा जानु भन्न थाले ।’ किरिया बस्न घरमा नदिने भनेपछि उनी घरपछाडिको बारीतर्फ लागे । त्यही बारीमा किरिया बस्न दिनूस् भन्दै धेरैपटक उनले परिवार र गुठियार दाजुभाइसँग अनुरोध गरे । पूर्णमानको आफ्नै घर छैन । मलामी गएका गुठियारका दाजुभाइ लाखापाखा लागेपछि दलित समुदायले राति छाप्रो बनाएर पूर्णमानलाई राखे । ‘परेपछि जस्तो पनि बेहोर्नुपर्दो रहेछ,’ पूर्णमानकी श्रीमती सरिताले भनिन् ।

विवाह भएदेखि सरिता माइतीमै बस्दै आएकी थिइन् । पोखरा बस्ने पूर्णमान घरमा आउँदा ससुरालमै बस्थे । कहिलेकाहीं घर पुगे पनि भित्र पस्न पाएका थिएनन् । उनीहरूका एक छोरा र एक छोरी छन् । उनी गाडी चालकको काम गर्छन् । घरमा जान र बस्न पटकपटक प्रयास गरे पनि परिवारले अस्वीकार गरेपछि फर्किन बाध्य भएको पूर्णमानले सुनाए । उनले अंश पनि नपाएको बताए ।

काजकिरियापछि समाजले न्याय दिने पर्खाइमा छन् । तीन भाइमा पूर्णमान माइला हुन् । उनका दाइ र भाइ रोजगारका लागि विदेशमा छन् । भाउजू र बुहारी घरमै किरिया बसेका छन् । कान्छी बुहारी गीताका अनुसार दाइ रामलालले भित्र जान नदिनु भनेका हुन् । उनले सबै कुरा दाइ रामलालसँग गर्न आग्रह गरिन् । रामलाल बुटवल बहुमुखी क्याम्पसका पूर्वप्रमुख हुन् । उनले गुठियारको सल्लाहबमोजिम नै आफूले काजकिरियाको व्यवस्था मिलाउन भनेको बताए । स्थानीय गुठियार रामलाल श्रेष्ठले परिवारले सल्लाह गरेअनुसार नै भएको बताए । ‘परिवारले गरेको कुरा हामीले मान्ने हो,’ उनले भने, ‘परिवारबाट जे भन्छन्, सोही अनुसार गुठियारले काम गर्नुपर्छ ।’

स्थानीय दलित समुदायले रामलाललाई बोलाएर घरमै राख्ने वातावरण मिलाउन माग गरे । गुठियार सदस्य यज्ञप्रसाद श्रेष्ठले रामलाललाई बोलाएर सल्लाह गरेर घरकै सटरमा राखिने बताए । दलित अगुवाले भने यस्तो घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनामा संलग्नमाथि तत्काल छानबिन गरी जातीय विभेदविरुद्ध कारबाही हुनुपर्ने दलित अगुवाको माग छ ।

Source – Kantipur Daily/माधव अर्याल

प्रतिकृया दिनुहोस्