RaraNews

प्रकाशित : २०७७/१/२७ गते
२६७९ पटक

पाल्पा : वरिपरि पक्की घर । ती घरबीच एउटा बारी। जहाँ भर्खरै टुसाएका मकैका विरुवा। तिनै विरुवा मासेर बाँसको सहयतामा बनाइएको त्रिपालले बारेको र प्वाल परेका पुराना जस्तापाता तेर्‍साइएको एउटा सानो छाप्रो। त्यो छाप्रोभित्र बगनासकाली गाउँपालिका १ चिर्तुङधारास्थित मैदानका पूर्णमान श्रेष्ठ र सरिता श्रेष्ठ थिए।   आमाको निधनपछि काजकिरयाका लागि पूर्णमान र उनकी श्रीमती सरिता छाप्रोमा बसिरहेका छन्।

तर त्यहि छाप्रो नजिकै उनको घर छ। अन्तरजातीय विवाह गरेका पूर्णमान घरभित्र प्रवेश गर्न नपाएपछि बारीमा छाप्रो बनाएर आमाको काजकिरियामा बसेका हुन्।  नेवार समुदायका पूर्णमानले १४ वर्षअघि छिमेककै दलित युवती सरितासँग विवाह गरेका थिए। शुक्रबार बिहान करिब एक बजेतिर ७३ वर्षीया पूर्णमानका आमा मनकुमारीको निधन भयो। आमाको निधन भएको कुरा छिमेकीबाट थाहा पाएका उनी बिहानपख घरमा पुगे। तर आमाको पार्थिव शरीर हेर्न मात्र पाए, छुन पाएनन्। नेवार समुदायको संगठित संस्था गुठियारका सदस्यले घरकी कान्छी बुहारी गीता श्रेष्ठको निर्देशनमा पूर्णमानलाई आमाको पार्थिव शरीर नजिक बस्नसमेत दिएनन्। 

एकछेउमा टोलाएर बसिरहेका पूर्णमानले घरबाट शव उठाइसकेपछि बाटोमा आमाको शवलाई काँधमा राख्न पनि पाएनन्।  उनले काँध थापेको केही समयमा शव बसमा राखियो। घाटमा जाने मलामी पनि बसमा बसे। जब बस चल्यो पूर्णमानबारे विभिन्न चर्चापरिचर्चा हुन थाले र जुन चर्चा घाटमा पुग्दासम्म चलिनै रहे। राम्दीघाटमा पुगेपछि आमाको दाहासंस्कार थालियो। पानी खुवाउन र चितामा चढाउन सहयोग गरेका पूर्णमानलाई आमाको पार्थिव शरीरमा दागबत्ती दिनबाट पनि रोकियो। जेठी आमातर्फका छोरा रामलाल श्रेष्ठले दागबत्ती दिए। कथित् तल्लो जातिसँग विवाह गरेकोले दागबत्ती दिँदा आमा स्वर्ग नजाने भन्दै रोक लगाइएको पूर्णमानले सुनाए। ‘समाजका दाजुभाइले स्विकार गरेनन्। दाइ रामलालले समाजलाई दोषी देखाई सम्झाए’, पूर्णमानले भने, ‘दागबत्ती मैले दिन्छु भन्दै दाइ आफैं आफंै अघि सरे।’ 

दाहासंस्कार फर्किएका उनी बारीमा किरिया बस्नुपर्छ भनेर कल्पना गरेका थिएनन्। घरमा आइपुगेपछि आफ्नै तरिकाले किरिया बस्ने कुरो भयोे। किरिया बस्न घरमा नदिने भनेपछि उनी घरपछाडिको बारीतर्फ लागे। त्यही बारीमा किरया बस्न दिनुस् भन्दै धेरै पटक उनले परिवार र गुठियार दाजुभाइसँग अनुरोध गरे। पूर्णमानको आफ्नै घर छैन। उनी ससुराली बस्दै आएका छन्। मलामी गएका गुठियारका दाजुभाई लाखापाखा लागेपछि यहाँको दलित समदायले रातिको १० बजे छाप्रो बनाइदिए। त्यसपछि कोरा बेरेका पूर्णमानको जोडी त्यही छाप्रोमा बस्न बाध्य भए। जेनतेन एकरात कटाएपछि अबका ११ रात कसरी कटाउन भन्ने निकै कठिन हुन थालेको सरिताले बताइन्। ‘त्यसै त, रातको समयमा डर लाग्छ’, उनले भनिन्, ‘चिन्ता लागेको छ।’ विवाह भएदेखि उनी र उनका परिवार ससुराली बस्दै आएका छन्। उनका एक छोरा र एक छोरी छन्।

पोखरामा बस्दै आएका उनले गाडीमा सहचालकको काम गर्छन्। घरमा जाने र बस्ने पटकपटक प्रयास गरे पनि परिवारले अस्वीकार गरेपछि फर्किन बाध्य भएको उनले सुनाए। ‘छोराछोरी साना छन्। एक्लै श्रीमतीले रेखदेख गर्नुपर्छ। म कहिले कता, कहिले कता, जागिरको कुनै ठेगान छैन। अहिलेसम्म बस्न आफ्नै घरसमेत छैन,’ उनले भने, ‘बाबाको अंश पाए पनि ठूलो राहत हुने थियो।’  समाजले न्याय दिने पर्खामा आफू रहेको उनी बताउँछन्।  तीन भाइमध्ये पूर्णमान माइला हुन्। उनका दाइ र भाइ रोजगारको सिलसिलामा विदेशतिर छन्। भाउजू र बुहारी भने घरमै किरिया बसिरहेका छन्। जेठी आमातर्फका दाई रामलाल भने घरभित्रको चाँजोपाँजो मिलाएर आफ्नो घर बुटवल गएका छन्। कान्छी बुहारी गीता श्रेष्ठका अनुसार रामलालले भित्र जान नदिन भनेका थिए। ‘मैले घरभित्र पस्न दिँदिनँ’, उनले भनिन्, ‘दाइ रामलालसँग कुरा गर्नुस्। उहाँले जे भन्नुहुन्छ त्यही गर्नुस्।’ रामलाल श्रेष्ठ बुटवलको एक प्रतिष्ठित क्याम्पसका पूर्वप्रमुख हुन्। 

प्रतिक्रिया लिन थाहाखबर पाल्पाका समाचारदाताले रामलाललाई पटकपटक फोन गर्दा उठेन। परिवारका अनुसार उनी अहिले बुटवल नै छन्। स्थानीय गुठियार लोकमान श्रेष्ठले परिवारले सल्लाह गरेअनुसार किरिया बसेको बताए। ‘परिवारले गरेको कुरा हामीले मान्ने हो’, उनले भने, ‘तर यसरी किरियापुत्रीलाई बारीमा राख्नु राम्रो कुरा होइन।’ आमाको दाहासंस्कार र किरिया बसेको बेला गरिएको जातीय विभेद जघन्य अपराध भएको बगनासकाली गाउँ कार्यपालिका सदस्य तेजप्रसाद रसालीले बताए। घटनामा संलग्नमाथि तत्काल छानबिन गरी जातीय विभेदविरुद्ध कारबाही हुनुपर्ने उनले माग गरे।  स्थानीय कमल नेपालीले मानवमाथि गरिएको यस्तो कार्य अमानवीय र सामाजिक अपराध भएको बताए।

एक्काइसौं शताब्दिमा गरिएको जातीय विभेद क्षम्य नहुने भन्दै विभेद गर्नेउपर कडाभन्दा कडा कारबाही गर्नुपर्ने उनले बताए। यस्ता कार्य ऐन कानुनभन्दा विपरित भएको बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्यालले बताए। घटनाबारे आफूले केहीबेर अघि थाहा पाएको र थप जानकारी लिएपछि प्रक्रिया बढाउने उनले बताए। यदि यसरी जातकै आधारमा विभेद भएको हो भने कानुनबमोजिम कारबाहीका लागि आफुले सहयोग गर्ने र पीडितलाई न्याय दिने अध्यक्ष बस्यालले बताए।

Source – Thahakhabar.com

प्रतिकृया दिनुहोस्