RaraNews

प्रकाशित : २०७७/१/१७ गते
१३२३ पटक

राष्ट्रिय महिला आयोगको ११४५ हटलाईनमा महिला हिंसाको उजुरी आउने क्रम बढेको आयोगका सचिव शान्ता अधिकारी भट्टराईले जानकारी दिनुभएको छ । उहाँले बन्दाबन्दी शुरु भए पछिको एक महिनामा ५२१ वटा फोन मार्फत उजुरी परेको बताउनु भयो । उहाँले हटलाईन सेवा चौबिसै घण्टा खुल्ला रहेको र देशभरबाट उजुरी दिन सक्ने भएकाले पनि उजुरी बढेको हुन सक्ने जानकारी दिनु भयो । “हटलाईनको सबै मिडियाहरुबाट प्रचार हुनु र अरु सेवा प्रदायक निकायहरुले यो बेलामा सेवा दिन नसक्दा आयोगमा उजुरी बढेको हो । ” उहाँले भन्नु भयो । आयोगमा घरेलु हिंसा,जवरजस्तीकरणी,गालीगलोज र राहत नपाएरका उजुरी परेको जनाईएको छ । उहाँले आयोगमा परेका उजुरीको आवश्यकताको आधारमा समन्वय गरेर सम्बोधन गरिएको जानकारी दिनुभयो ।

प्रदेश पाँचमा अरु घटना भन्दा महिला हिंसाका घटना बढ्यो : प्रवक्ता बसन्त पोख्रेल 

कोभिड १९ को माहामारी पछि शुरु भएको बन्दाबन्दीमा अरु घटनाको तुलनामा घरलु हिंसा,जबरजस्तीकरणी र आत्महत्याको घटनामा बृद्धि भएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक बसन्त पोख्रेलले जागरण मिडिया सेन्टरले उत्पादन गर्ने कार्यक्रम कट्वाल रेडियो पत्रिकालाई सो जानकारी दिनु भएको हो । उहाँले प्रदेश नं. पाँचका १२ जिल्लाबाट आएको उजुरीको आधारमा बन्दाबन्दी शुरु भए देखि बैशाख ८ गते सम्म जवरजस्तीकरणी ८,घरेलु हिंसा सम्बन्धी १४,आत्महत्या सम्बन्धी ३४ वटा मुद्धा दर्ता भएको जानकारी दिनु भयो । सडक दुर्घटना,चोरीडकैती लगायत अन्य घटनाहरुमा भने कमि आएको उहाँले बताउनु भयो ।

बन्दाबन्दीमा उजुरी दिनै समस्या : महिला अधिकारकर्मी

हरेक बिपत्त,महामारीमा जस्तै कोभिड १९ को त्राससंगै शुरुभएको बन्दाबन्दीमा पनि महिला हिंसाका घटना बृद्धि भएकोमा महिला अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन । बिभिन्न क्षेत्रमा क्रियाशिल महिला अधिकारकर्मीहरुले जागरण मिडिया सेन्टरले उत्पादन गर्ने रेडियो कार्यक्रम कट्वाल रेडियो पत्रिकामा सो चिन्ता व्यक्त गरेका हुन । उनीहरुले बन्दाबन्दीमा पिडित र पिडकसंगै घरभित्र बस्नुपरेकाले पनि उजुरी दिन समस्या भएको बताएका छन । अरु सेवाप्रदायक निकाय बन्द हुदा फोनबाट उजुरी दिनुपर्ने भएकाले कतिपय महिलाहरु फोनको पहँुचमा नहुनु,गाउँमा रिचार्ज कार्ड नपाईनु,कहाँ कसलाई भन्ने थाहा नहुदा धेरै घटना भित्रै दबिएर रहेको उनीहरुले बताएका छन । महिलाहरु घर,समाज,क्वारेन्टाईन,आईस्योलेशनमा असुरक्षित भएकाले यस बिषयमा जनचेतना जगाउनु पर्ने,न्यायको सहज पहुच हुनुपर्ने र महिलामैत्रि बनाईनु पर्नेमा जोड दिएका छन । महिला हिंसा बिरुद्ध हरेक व्यक्ति,परिवार समाज र राष्ट्र नै जिम्मेवार बन्नुपर्ने बताएका छन ।

प्रतिकृया दिनुहोस्