RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१०/२० गते
१०१५ पटक

लहान। अतिविपन्न र गरिब परिवारमा जन्मिएका सिरहाको औरही गाउँपालिका–२ का २१ वर्षीय रिंकु साफीको विवाहका लागि खाडी मुलुकमा रोजगारीमा गएका नेपाली युवाको एक समूहले आर्थिक सहयोग गरेका छन् ।

मानवसेवा नै वास्तविक धर्म हो भन्ने उद्देश्यका साथ निःस्वार्थ रूपमा कामकाज गर्दै आइरहेका सो समूहले रिंकुको विवाहका लागि २५ हजार रुपैयाँ र लत्ताकपडा सहयोग गरेका हुन् । औरही गाउँपालिका–२ का नेति साफिका रिंकुलगायत ४ छोरी र २ छोरा छन् । जेठी छोरीको विवाहका लागि सहयोग गरेकोमा खुसी हुँदै उनले भने, ‘दहेज लिनु र दिनु कानुनी अपराध हो, त्यसैले आफ्नो छोरी रिंकुको दहेजबिना नै नमुना विवाह गरेको छु ।’

‘दहेज दिने आफ्नो क्षमता पनि छैन, गरिब र बिमार छु, छोराछोरी साना छन्, उनीहरूको पढाइलेखाइका लागि पनि सहयोगी हातको अपेक्षा गरेको छु, उनले भने । आर्थिक अवस्था अत्यन्त कमजोर रहेको कारण रिंकुको विवाहका लागि राहतस्वरूप नगद सहयोग गरेको सो समूहका सदस्य हरेराम साफीले जानकारी दिए ।

रिंकुको माघ १७ गते शुक्रबार सिरहाको धनगढीमाई नगरपालिका–८ का जय साफीसँग समाजिक परम्पराअनुसार विवाह भएको थियोे । मलेसिया, साउदीलगायत खाडी मुलुक गएका दलित जातिअन्तर्गत धोबी समुदायका युवाले रजक सेवा समाजको स्थापना पनि गरेको छ । सो समाजले नेपाल, भारतका धोबी समुदायका पीडितलाई सहयोग गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्