RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/९/९ गते
११९० पटक

मुसिकोट नगरपालिका–५ की २२ वर्षीया विपना सावत १५ दिने सुत्केरी हुन् । प्रेम–सम्बन्धपछि गत फागुनमा गुल्मीकै राजु बस्नेतसँग भागेर विवाह गरेकी उनी अहिले पतिले छाडेर हिँडेपछि बिचल्ली बनेकी छिन् । पति बेपत्ता छन् । सडकमा ज्याला–मजदुरी गर्दागर्दै गत २३ मंसिरमा उनले छोरी जन्माइन् । बडिगाड खोलाको चिसो सिरेटोले १५ दिने शिशुसँगै विपना पनि थला पर्दै गएकी छिन् ।

घरले नहेरेपछि र माइती विपन्न अवस्थाको भएकाले स्थानीय शिव सुनारको घरमा एउटा कोठा लिएर उनलाई राखिएको छ । छिमेकी महिलाले खानेकुराको सहयोग गरिरहेका छन् । सुत्केरीको दयनीय अवस्था हेर्न नसकेपछि आफूहरूले सहयोग जुटाएर केही खाद्यान्न संकलन गरेको इन्द्रेगौडाकी गीता खरालले बताइन् ।

विपना र राजु बस्नेतबीच अन्तर्जातीय विवाह भएको हो । गत वर्षको फागुनमा मदाने गाउँपालिका–६ का बस्नेतले विपनालाई उनकै घरबाट भगाएर बिहे गरेका थिए । उनीहरू घरबाट भागेर बुटवल गए । त्यतै कहिले होटेल त कहिले सडकमा ज्याला–मजदुरी गर्न थाले । जेठसम्म उनी पतिसँगै थिइन् । राजुले विपनालाई केही समय थापा थर भन्न लगाएर आफ्नो घर र मावलीमा समेत लगे । घरमा उनले परिवारलाई थापाकी छोरी भनेर परिचय गराए ।

तर, परिवारले हप्काएपछि उनी पुनः विपनालाई साथमै लिएर तम्घासदेखि बुटवलका विभिन्न स्थानमा ज्याला–मजदुरी गर्न थाले । वैशाखमा विपनाको गर्भ रह्यो । त्यसपछि राजुले श्रीमतीलाई हेला गर्न थाले । दुईबीच मनमुटाव बढ्न थाल्यो । झगडा भयो । उनले विभिन्न बहानामा श्रीमतीलाई कुटपिट गर्न थाले । विपनाले आफूलाई घरमा पठाइदिन अनुरोध गरिन् । तर, राजुले मानेनन् । ‘तँलाई गाउँ पठाउँदिनँ । दलित भन्ने थाहा पाएमा मेरो दाजुभाइले घर निकाला गर्छन्’ भन्दै आफूलाई घर पठाउन नमानेको विपनाको भनाइ छ ।

पतिले जातीय आक्षेप लगाउँदै कुटपिट गर्न थालेपछि ज्यान जोगाउनकै लागि आफू माइत आएको उनले गुनासो पोखिन् । ‘रक्सी खाएर कुटपिट गर्ने र मानसिक तनाव दिन थाले, केही समय त सहेँ,’ विपनाले नयाँ पत्रिकासँग भनिन् । पतिको सधैँको कुटपिट सहन नसकेपछि बाध्य मुसिकोट नगरपालिका–५ स्थित माइत आएको उनले बताइन् । उनको माइती पनि विपन्न छ । १८ वर्षदेखि बाबु सम्पर्कविहीन छन् । माइतमा सुत्केरीको स्याहारसुसार गर्ने कोही नभएपछि उनलाई स्थानीयले एउटा कोठा खोजेर राखिदिएका छन् । राजु भने बेपत्ता छन् । उनी कसैसँग सम्पर्कमा छैनन् । बस्नेत परिवारले विपनाको अवस्थाबारे आफूहरू अनभिज्ञ भएको बताउने गरेका छन् ।

विपनालाई न्याय दिलाउँछौँ : मेयर सापकोटा 
अन्तर्जातीय विवाह गरेर सुत्केरी श्रीमती र शिशुलाई अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याउने मुसिकोट नगरपालिकाका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिए । उनले विपनालाई तत्काल सुरक्षा र हेरचाह आवश्यक भएकाले चाँडै न्याय दिलाउन नगरपालिका लागिपर्ने बताए । मदाने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले अन्तर्जातीय विवाह गरेर अलपत्र पार्ने व्यक्तिलाई कानुनको दायरामा ल्याउन आफूले पहल गर्ने बताए । दलित अधिकारकर्मी गणेश विश्वकर्माले विपना मात्रै नभएर धेरै अन्तर्जातीय विवाह गर्ने जोडीहरूको अवस्था दयनीय रहेको बताए । नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्