RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/७/२७ गते
१३३५ पटक

जनकपुर- प्रदेश २ मा दलित सशक्तीकरण विधेयक पारित भएको छ। सोमबार बसेको प्रदेश सभा बैठकले सो विधेयक पारित गरेको हो। झन्डै दुई महिनापछि बसेको प्रदेशसभा बैठकले दलित सशक्तीकरण विधेयक पारित गरेको हो। ‘प्रदेशसभाले दलित सशक्तीकरण विधेयक पारित गरेको छ,’सामाजिक विकास मन्त्री नवलकिशोर साहले भने, ‘प्रदेश प्रमुखबाट प्रमाणीकरण भएसँगै यो कानुन लागू हुनेछ।’

के छ विधेयकमा?
विधेयकमा दलित समुदायले रासन कार्ड पाउने व्यवस्था गरिएको छ। प्रदेश २ मा बसोबास गर्ने दलित समुदायले कार्ड प्रयोग गरी सहुलियत दरमा रासन पाउने भएका छन्।

विधेयकमा प्राविधिक शिक्षातर्फ इन्जिनियर, डाक्टर, कानून, पत्रकारिता पढ्न चाहने दलित विद्यार्थीका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ। स्नातक तहदेखि अध्ययन गर्ने दलित विद्यार्थीलाई शुल्क मिनाहासँगै मासिक निर्वाह भत्ता, पाठ्यपुस्तक, ट्यूसन शुल्क र पोशाक समेत प्रदेश सरकारले नै उपलब्ध गराउनेछ।

दलितमैत्री विद्यालय निर्माणका लागि विशेष कार्यक्रम बनाएर कार्यान्वयन गर्ने जनाएको प्रदेश सरकारले संविधान अनुसार प्रत्येक दलित विद्यार्थीलाई प्राथमिक तहदेखि उच्च माध्यमिक तहसम्म अनिवार्य र निशुल्क शिक्षाको कार्यान्वयन भए/नभएको अनुगमन समेत गर्नेछ।

विधेयकमा दलितको आरक्षित सिटमध्ये आधा सिट दलित महिलाका लागि छुट्टयाउने व्यवस्था छ। ‘समावेशी सिद्वान्तको अवलम्बन गर्दा दलितका लागि आरक्षित सिटमध्ये ५० प्रतिशत सिट दलित महिलाका लागि सुनिश्चित गर्नुपर्नेछ,’विधेयकमा उल्लेख छ।

समाजिक विकासमन्त्री अध्यक्ष रहने गरी दलित विकास समिति गठन गरेर दलित समुदायको अधिकार तथा सामाजिक विकासका लागि आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयन गर्नेसहितका प्रावधान विधेयकमा समेटिएका छन्।

प्रतिकृया दिनुहोस्