RaraNews

सलिम अन्सारी प्रकाशित : २०७६/७/२५ गते
१८७७ पटक

प्युठान- लामो समयदेखि पति र परिवारबाट यातना पाएकी एक दलित युवती घर निकाला गरिएकी छन्। सरुमारानी गाउँपालिका–५ बिरिङकोटकी २४ वर्षीया सुशिला खाम्चा(विक)ले अन्तरजातीय विवाह गरेका कारण घर छाड्न बाध्य भएकी हुन्।

आफू घर निकाला हुनु परेको भन्दै उनले ६० वर्षीया ससुरा मतिराम खाम्चा, ५६ वर्षीया सासू जिवा खाम्चा, २६ वर्षीया पति चित्र बहादुर खाम्चासहित ३ जनाविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पुगेर मुद्दा दर्ता गरेकी हुन्।

चित्र र सुशिलाले २०६९ साल कार्तिकमा विवाह गरेका थिए। विवाहपछि एक सन्तान जन्माएकी सुशिलालाई घरपरिवारका सासू–ससुरा र पतिले गाली/बेइज्जत गरी घर निकाला गरिदिएका थिए।

परिवारबाट यातना दिएर निकाला गरिदिएपछि आफू हाल माइतमा बस्दै आएको सुशिलाले बताइन्। घरपरिवारबाट आफूले अत्यन्त ठूलो मानसिक तनाव बेहोर्दै आएपछि मुद्दा दर्ता गर्न बाध्य भएको उनले बताइन्।

आफूलाई ‘तल्लो जातकी कमिनी’ भनेर परिवारले यातना दिने गरेको सुशिलाले गुनासो पोखिन्।

पीडित सुशिलाले शुक्रबार जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी उजुरी प्रहरीमा दर्ता गराएको जिल्ला प्रहरीका कार्यालय प्युठानका प्रहरी निरीक्षक लोकेन्द्र जिसिले बताए।

विवाह भएको लामो समयपछि पिडितलाई अन्याय भएको भन्दै जिल्लाका दलित अगुवाहरूले संघर्ष समितिले खेद प्रकट गरेको छ।

समितिका अध्यक्ष सन्तोष नेपालीले जाहेरीमाथि अवाश्यक कारबाही तत्काल अघि बढाउन माग गरेका छन्।

प्रतिकृया दिनुहोस्