RaraNews

माया चौधरी प्रकाशित : २०७६/७/५ गते
९८९ पटक

मुक्त कमलरीहरुले सहकारी संस्था चलाएका छन् । मासिक बचत गर्ने बानी बसालेका छन् । जसले जमिन्दार वा साहुसँग ऋण गरेर व्यवहार चलाउनु पर्ने बाध्यता हटेको छ । एउटा चप्पल किन्न लिएको ऋणले दशौं पुस्ता कमलरी र कमैया बस्नु पर्ने परिस्थिति परिर्वतन भएको छ । साथमा सानोतिनो गर्जो टार्न वा व्यवसाय गर्न नै किन नहोस् सहकारीले बिना धितो ऋण दिएर सहयोग पुर्याईरहेको छ ।

सहकारीबाट ऋण लिएर मुक्त भएका कमलरीहरु कसैले बाख्रा, कुखुरा, बंगुर पालेका छन् त कसैले किराना, खाजा नास्ता पसल खोलेका छन् । कतिपयले जग्गा भाडामा लिएर तरकारी खेति गर्दै जिविको चलाएका छन् । समग्रमा भन्दा आर्थिक रुपमा सबल बन्न उनीहरु क्रियाशील छन् ।

साहुको घरमा नोकर बनेर थुनिएकाहरु स्वतन्त्र भएपछि उनीहरु भावी पुस्तालाई त्यो पिडाबाट कोशौं टाढा राख्न चाहन्छन् । फलस्वरुप दिनरात परिश्रम गरेर कोही उद्यमी बनेका छन् त कोही उच्च शिक्षा हाँसिल गरेर विभिन्न पेशा व्यवसायमा संलग्न छन् । सहकारीको सहयोगका कारण हिजोका दिनमा अरुलाई साहु भन्दै ऋण माग्न जानेहरु आज आफँै साहु बन्न सफल भएका छन् । गाउँघरमा राम्रो पहिचान बनाएका छन् । विद्यालय, वन उपभोक्ता समितिजस्ता सामाजिक संघसंस्थामा मात्र नभई संसदमा समेत आफ्नो प्रतिनिधित्व जनाउन मुक्त कमलरीहरु सफल भईसकेका छन् ।

ठूलो संघर्ष र बलिदानबाट दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी चार जिल्लामा रहेका तेह्र हजार कमलहरी मुक्त भए । अहिले जुन पहिचान उनीहरुले बनाएका छन् त्यसका लागि उनीहरुको संघर्ष सानो छैन । स्वान नेपाल, नेपाल युथ फाउन्डेशनलगायतका सामाजिक संस्थासँगै विभिन्न अभियान्ताहरुको साथ र मुक्त भएका कमलरीहरुको परिश्रमले नै आज यो परिर्वतन देखिएको हो ।

कमलरीबारे देशका विभिन्न निकाय मात्र नभई विदेशीहरुलाई बुझाउन सजिलो थिएन । मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापनपत्र बुझाउँदै र कमलरीको पिडाबारे बोल्दै हिँड्न पनि उत्तिकै गाह्रो थियो । तर अहिले माहोल फेरिएको छ । कतै बजेट छुट्याउँदा मुक्त कमलहरी विकास मञ्चको प्रतिनिधित्व खोज्न थालिएको छ । स्थानीय तहहरुले मुक्त कमलरीको अर्थपूर्ण सहभागितालाई सम्मान गर्ने परिपाटीको विकास गरेको छ ।

यस बाट पुस्तांै पुस्ता पिल्सिएर अरुको दास बनेर, शिक्षाको उज्यालोबाट बञ्चित भएर पनि केही वर्षको परिश्रमले पछाडि परेको समूदाय सबैको साथ सहयोग पाएमा उद्यमी, व्यवसायी, वकिल, नर्स तथा शिक्षक बन्न सक्दो रहेछ भन्ने स्पष्ट हुन्छ । विगतका पिडालाई सम्झेर बस्नु भन्दा त्यसलाई पुस्तौं पुस्ताले भोग्न नपर्ने वातावरण सिर्जना गर्ने विकल्पहरुबारे सोच्नु फलदायी हुन्छ । जुन कुरा मुक्त कमलरीहरुले प्रमाणीत गर्ने प्रयास गरिरहेका छन् ।

मुक्त कमलरी आन्दोलनकी अभियान्ता उर्मिला चौधरीसँगको कुराकानीमा आधारीत

प्रतिकृया दिनुहोस्