RaraNews

रासस प्रकाशित : २०७६/७/४ गते
९३७ पटक

काठमाडौं । दलित अधिकारकर्मी डा. विष्णुमाया परियारले आफ्ना पिता रुपबहादुर परियारको नाममा पत्रकारिता पुरस्कार स्थापनाको  घोषणा गरेकी छन् । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का दलित समुदायका प्रतिनिधिसँगको छलफल कार्यक्रममा डा. परियारले रु २० हजार राशिको पुरस्कार घोषणा गरेकी हुन् ।

सो अवसरमा डा परियारले आफू अमेरिकामा रहे पनि नेपालको दलित आन्दोलन र दलित समुदायको उत्थानका लागि क्रियाशील रहेको बताइन् । उनले गोर्खालगायत छ जिल्लाका झण्डै २० हजार दलित तथा गरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएकी छन् ।  नेपाल दलित महिला उत्थान सङ्घ (एड्वान) की संस्थापक अध्यक्ष डा. परियार हाल अमेरिकाको जर्सी सिटीका मेयरको सल्लाहकार हुन् । संयुक्त राष्टसंघको सीएसडब्लु प्लानिङ कमिटीका साथै एनजिओ मेजर ग्रुपमा क्रियाशील छिन् ।

कार्यक्रममा जातिभेदविरुद्ध विश्व मञ्चका अध्यक्ष तीर्थ बर्माले पनि रु १० हजार राशिको पुरस्कारको घोषणा गरेका छन् । उनले  व्यक्तिगतरुपमा सो पुरस्कारको घोषणा गरेका हुन् । आफूहरु अमेरिका रहे पनि दलित आन्दोलनभन्दा टाढा नरहेको चर्चा गर्दै बर्माले राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नासो कम्युनिटीका संस्थापक अध्यक्ष धर्म विश्वकर्माले दलित समुदायका पत्रकारलाई खोज तथा अनुसन्धानमूलक कार्यक्रम मिडिया ल्याउन आग्रह गरे । दलित समुदायका पत्रकार सङ्गठित भएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा सहकार्य गरी दलित आन्दोलनमा थप योगदान पुर्याउने उनको प्रतिबद्धता छ ।

राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालका अध्यक्ष विनोद पहाडीले राजनीतिक स्वार्थभन्दा माथि उठेर दलित समुदायको चौतर्फी विकासका लागि सङ्घले काम गर्दैै आएको बताए । स्थापनाको छोटो समयमै सङ्घ राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा स्थापित भएको उनको भनाइ छ । देशभरका झण्डै १५ सय दलित समुदायमा पत्रकारलाई सङ्गठित गरी आन्दोलनलाई थप उचाइमा पुर्याउने अभियानमा सङ्घ लागेको उनले जानकारी दिए ।

परियार र बर्माले घोषणा गरेको पुरस्कारसँगै नेपाल राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालद्वारा वितरण गरिने पत्रकारिता पुरस्कारको सङ्ख्या वार्षिक छ पुगेको छ । यसअघि सङ्घले टिआर विश्वकर्मा स्मृति पत्रकारिता पुरस्कार, राममाया च्यामे लोक पत्रकारिता पुरस्कार, देवव्रत परियार स्मृति राष्ट्रिय पुरस्कार र परशु–सगुरी पत्रकारिता पुरस्कारको स्थापना गरिसकेको छ । ती पुरस्कार वार्षिकरुपमा वितरण गरिने भएको छ ।

प्रतिकृया दिनुहोस्