RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/६/१७ गते
१०६८ पटक

सोलुखुम्बु – सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित नाजिङमा वडासदस्यले सहभोजको आयोजना गरेका छन् । वडासदस्य सोनाम ग्याल्जेन शेर्पाले जातीय समानताको सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेका हुन् ।

वडासदस्य शेर्पाले दलित र गैरदलित समुदायबीच कुनैपनि भेदभाव नहोस् भन्ने उद्देश्यले सहभोजको आयोजना गरेको बताए ।

पर्यटन व्यवसायीसमेत रहेका शेर्पाले दसैं, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदानको अवसरमा सहभोजको आयोजना गरेका हुन् । ‘संविधानले नेपालमा छुवाछुत तथा भेदभाव नरहेको बताए पनि समाजमा अझै विभेद बाँकी रहेकाले न्यूनीकरणका लागि सामाजिक सन्देश प्रवाहका लागि सहभोजको आयोजना गरेको हुँ,’ उनले भने, ‘सहभोजले दलित र गैरदलित समुदायबीच सामीप्यता तथा सामाजिक सद्भाव बढाएको छ ।’

सहभोजमा दलित समुदायका व्यक्तिले पकाएको मासु, चिउरा, अचार, चियालगायत खानेकुरा सामूहिक रूपमा खाइएको थियो । भोजमा दलित समुदायका कामी, दमाई तथा गैरदलित समुदायका नेवार, शेर्पा, मगर, तामाङलगायत जातजातिको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस्