RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/६/१३ गते
१४४० पटक

दलितका पक्षमा संविधानमा व्यवस्था भएका अधिकारहरु कार्यान्वयन गराउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । संविधानमा भएका कमजोरीलाई सुधार गरी थप्नु पर्ने बिषयको बारेमा आवाज उठाउँदै भएका अधिकारहरुलाई कार्यान्वयन गराउन दबाव दिनुपर्नेमा उनीहरुको जोड थियो । जागरण मिडिया सेन्टरद्धारा बुटवलमा आयोजित ‘प्रदेश नं ५ को विधेयक तथा बजेटमा समाबेशिकरणको अवस्था’ विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य कमला देवी बिकले अहिले ऐन कानून बन्ने क्रममा रहेकोले दलितमैत्री कानून निर्माणमा चनाखो हुनुपर्ने बताउदै दलितका अधिकार स्थापित गराउन संगठित रुपमा आवाज उठाउन जरुरी रहेको बताउनुभयो। कतिपय दलित अभियन्ताहरुले अब दलित शब्द राख्नु हुँदैन भन्ने गरेको भन्दै उहाँले दलित भएकोमा गर्व गर्न सक्नु पर्ने बिचार व्यक्त गर्नुभयो।

अर्की प्रदेशसभा सदस्य दिपा बिश्वकर्माले दलितको क्षेत्रमा छुट्टिएको बजेट लक्षित वर्गसम्म कसरी पु¥याउने भन्ने बिषयमा छलफलको आवश्यकता रहेको औंल्याउनुभयो । छुट्टिएको बजेट लक्षित वर्गसम्म पु¥याउन सके मात्रै त्यसले समाजमा परिवर्तन ल्याउन सक्ने भन्दै उहाँले त्यस विषयमा छलफल जरुरी रहेकोमा जोड दिनुभयो ।

प्रदेशसभा सदस्य माला गोतामे सुनारले बजेट समावेशी नभएको बताउँदै प्रदेश सरकारसँग आफुले तीन वटा योजना प्रस्ताव गरेकोमा एउटा पनि योजना नपरेको गुनासो गर्नुभयो । उहाँले संसदमा दलित सांसदहरुको छट्टै नेटवर्क बनाएर संगठित रुपमा आवाज उठाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संविधानसभाकी पूर्व सदस्य दुलारी हरिजनले संविधानमा दलितका सबै अधिकार नसमेटिए पनि जति अधिकार छन् ती अधिकार कार्यान्वयनमा आए धेरै परिवर्तन हुने भन्दै कार्यान्वयनमा गराउनेतर्फ ध्यान दिनु पर्नेमा जोड दिनुभयो ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज बिश्वकर्माले संविधानमा दलितका धेरै अधिकार स्थापित भए पनि कार्यान्वयनमा नआउदा समस्या परेको भन्दै कार्यान्वयनमा सबै चनाखो हुनुपर्ने बताउनुभयो । मुलुकमा राजनीतिक क्रान्ति सकिएर अब आर्थिक क्रान्ति गर्ने समय आएको भन्दै उहाँले आर्थिक क्रान्तिका साथै सांस्कृतिक क्रान्तिलाई पनि सँग सँगै अगाडि बढाउन सके जातिय विभेदको समस्या पनि बिस्तारै समाधान हुँदै जाने बिश्वास व्यक्त गर्नुभयो ।

जागरण मिडिया सेन्टरका उपाध्यक्ष कमला बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी रिमा बिसी,तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एच बि रम्तेल, नेपाल दलित संघका अध्यक्ष बुद्धिराम हरिजन, सृजनसिल सहयात्री संस्थाका हस्त हिताङ्ग, परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपाली, दलित अभियन्ता मनु खड्का, पत्रकारहरु बिनोद परियार, सञ्जय बिश्वकर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए ।

प्रतिकृया दिनुहोस्