RaraNews

दीपक परियार प्रकाशित : २०७६/५/६ गते
१५११ पटक

पोखरा — वडाध्यक्षले अरूलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारको चित्त दुखाइ छ । ‘निर्वाचित हुनुअघि वडाध्यक्षसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरू सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलार्ई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ ।

वडाध्यक्ष प्रकाश पौडेलले आफूहरूसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् । परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो । ‘महानगरका महिला जनप्रतिनिधिको टोली ५ नम्बर प्रदेश भ्रमणमा निस्किएका बेला मलाई थाहै नदिई वडाध्यक्षले पोसाक बाँड्नुभएछ,’ उनले सुनाइन् ।

वडाध्यक्ष पौडेल भने दलित महिला जनप्रतिनिधिप्रति कुनै पूर्वाग्रह नराखेको दाबी गर्छन् । भन्छन्, ‘उहाँ आफैं जिम्मेवार हुनुहुन्छ, मैले त्यस्तो केही सोचेको छैन । सुधार गर्नुपर्ने रहेछ भने गर्छु ।’ व्यक्तिभन्दा कार्यक्रम मुख्य भएकाले परियारको अनुपस्थितिमा पोसाक वितरण गरेको उनले बताए ।

पोखरा–१७ की सदस्य तारा सेवा परियारले आफूमाथि समेत जातीय विभेद हुने गरेको सुनाइन् । ‘एउटा सहकारीको कार्यक्रममा पौडेल थरका अतिथिलाई खादा लगाइदिँदा छोइन्छ कि झैं गर्नुभयो,’ उनले भनिन्, ‘जनप्रतिनिधिलाई त त्यस्तो व्यवहार गरिन्छ भने अरूलाई कुन हदसम्म विभेद हुन्छ होला ?’ वडाध्यक्षले अप्ठेरो काम दलित महिला सदस्यलाई सुम्पिने गरेको पोखरा–१२ की सदस्य विष्णु विश्वकर्माले अनुभव सुनाइन् ।

‘झैझगडा, विवाद मिलाउने काममा हामीलाई खटाइन्छ,’ उनले भनिन्, ‘सम्मान थाप्ने, अतिथि बन्ने कार्यक्रममा अरू सदस्यलाई पठाइन्छ ।’ पोखरा–१ की सदस्य प्रेमदेवी परियार दलित महिलाले महानगरमा लगेका योजनामासुनुवाइ नहुने गरेको बताइन् । पोखरा–८ की सदस्य लक्ष्मी कौशलको उस्तै गुनासो छ ।

‘दलित भएकैले वडामा मेरो कुरा सुनुवाइ हुँदैन,’ उनले भनिन्, ‘मुलुकमा यत्रो परिवर्तन हुँदा पनि दलितलाई हेर्ने दृष्टिकोण अझै उस्तै छ ।’ पोखरा–१० की सदस्य प्रतिभा विकले दलितलाई कर्मचारीसमेतले हेप्ने गरेको बताउँछिन् । आफू र अन्य सदस्यलाई कर्मचारीले गर्ने व्यवहारमा फरक पाएको उनको अनुभव छ । ‘कर्मचारीले वडाध्यक्ष र अरू सदस्यलाई देख्नेबित्तिकै फूर्तिसाथ नमस्कार गर्छन्,’ उनले सुनाइन्, ‘हामीतिर आउँदा जाँगर चलाएर नमस्कार गर्दैनन् । एकछिन टोलाएर बल्ल नमस्कार गर्छन् ।

’पोखरा–५ की सदस्य हरिमाया विश्वकर्माको अनुभव भने फरक छ । उनले वडामा दलित महिला अनिवार्य गर्दा केही दलित पुरुषमा डाहको भाव देखिएको अनुभव सुनाइन् । भनिन्, ‘यत्रो वर्ष हामीले राजनीति गर्‍यौं । अहिले महिलालाई दिए भन्ने खालको गुनासो दलित दाजुभाइबाटै सुनिन्छ ।

’पोखरा–५ का अध्यक्ष एवं महानगरका प्रवक्ता धनबहादुर नेपाली पनि दलितप्रतिको संकीर्ण सोच अझै कायम रहेको स्विकार्छन् । दलित जनप्रतिनिधिको क्षमतामाथि विश्वास नगर्ने प्रवृत्ति देशैभरि रहेको उनको भनाइ छ । ‘कहीँ देखिने गरेर, कहीँ नदेखिने गरेर जनप्रतिनिधिमाथि विभेद भइरहेकै छ,’ उनले भने, ‘सिधैसिधै भन्दा पनि नजानिँदो, नदेखिएकोझैं गरी प्रकट हुन्छन् ।’आफूले पनि अप्रत्यक्ष रूपमा विभेद भोग्नुपरेको उनले बताए । ‘समाज विस्तारै परिवर्तन हुँदै गए पनि व्यक्ति–व्यक्तिमा भएको भेदभावजन्य मनोविज्ञान हटाउन सक्नुपर्छ,’ उनले भने ।

दीपक परियारले लेख्नुभएको यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्