RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/५/६ गते
११९६ पटक

बाजुरा – मदिरा सेवन गरी गाली गर्ने र विभेदपूर्ण भाषा प्रयोग गरी दुव्र्यवहार गरेको आरोपमा प्रहरीले हिमाली गाउँपालिकाका दुई जनालाई नियन्त्रणमा लिएको छ ।

दलित अधिकारीकर्मी गोरखबहादुर सार्कीमाथि गाली गर्ने र डुम भनेर विभेद गर्ने चिरीम मल्ल र भूपि मल्ललाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।

हिमाली गाउँपालिका– ६ धिममा भदौ २ गते लागेको खौं मेलाबाट फर्किएर घरमा सुतिरहेको बेला दलित अधिकारकर्मी गोरखबहादुर सार्की र उनकी श्रीमती आप्सरी ऐडी सार्कीलाई  गाली गरेको, अपमानित शब्द प्रयोग गरेको र डुम भनेर विभेद गरेको भन्दै उजुरी परेपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

गाली गर्ने चिरीम मल्ल हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लका छोरा र भूपि मल्ल भतिजा हुन् । राति सुतिरहेको समयमा कोठामै आएर ‘डुम कमारा तिमीहरू डुमले मेला हेर्नका लागि चश्मा, कोट लगाउने हो’ भनेर आपत्तिजनक गाली दिएको गोरख सार्कीले बताए ।

गाली गरेको उजुरीका आधारमा सोधपुछका लागि नियन्त्रणमा लिएर अनुसन्धान गरिएको प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए ।

पीडित सार्कीले भने आफ्नी पत्नीको छातीमा समेत चोट लागेको र दुवै जनालाई गालीसँगै आक्रमणसमेत गरेको बताए । घटना घटेलगत्तै दलित अधिकारकर्मी सार्कीले आफूमाथि दुवैले आक्रमण गरेको भन्दै प्रहरीलाई खबर गरेका थिए । तर आरोपित मल्लद्वयले भने आफूहरूलाई विना कारण फसाउन खोजिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्