RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/२७ गते
९०७ पटक

आरक्षण बचाउ आन्दोलनको अगुवाइमा आइतबार सिंहदरबार घेर्न पुगेका १९ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । सिंहदरबारको पश्चिम गेट भद्रकालीमा धर्नामा बसेका सहभागीमध्ये उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ ।

भद्रकालीबाट सिंहरबारतर्फ अघि बढ्ने क्रममा प्रहरीले हस्तक्षेप गरी आफूहरूलाई पक्राउ गरेको नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले जानकारी दिए । उनका अनुसार दलित गैसस महासंघ अध्यक्ष भक्त विश्वकर्मा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अध्यक्ष कुमार लिङ्देन, लिम्बुवान राष्ट्रिय समिति (समाजवादी पार्टी)का अध्यक्ष खगेन्द्र माखिम, समाजवादी पार्टीका नेता दलमर्दन कामीलगायत पक्राउ परेका छन् ।

धर्नास्थलबाट पक्राउ परेकालाई छुटाउन माग गर्दै पुलिस क्लब अगाडि नाराबाजी गर्ने क्रममा केही आन्दोलनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । लोकसेवा आयोगले स्थानीय तहका लागि गरेको विज्ञापन खारेजीको माग राख्दै आदिवासी जनजाति, महिला, दलित र पछाडि परेका समुदायले ‘आरक्षण बचाऔं आन्दोलन’ नाममा चरणबद्ध आन्दोलनमा छन् ।

प्रतिकृया दिनुहोस्