RaraNews

शम्भु यादव प्रकाशित : २०७६/४/२४ गते
११४९ पटक

सिरहा : लहान नगरपालिका–१७ गोविन्दपुर बलानसेर गाउँका रामविलास सदायकी आमा बुधनी सदाय दुई वर्षअघि बिरामी परिन्। गम्भीर बिरामी हुँदा धेरै पैसा लाग्ने भएपछि उनले आमाको उपचार गराउन सकेनन्। उनीसँग पैसा थिएन। न उनको बैंकमा खाता थियो न त उनले कही बचत गरेका थिए। गाउँलेले पनि समस्या परेको बेला ऋण दिएनन्। उपचार अभावमै उनकी आमाको मृत्यु भयो।

उनी जस्तै सोही गाउँका विन्दी सदायकी आमा झबरीको पनि उपचार अभावमै मृत्यु भयो। पैसा बचत गर्न नसकेपछि उनीहरू औषधि उपचार मात्रै होइन, दैनिक जीवनमा अनेकौं समस्या भोग्दै आएका छन्। वर्षौदेखि मजदुरी गर्दै आएका छन्। तर बचत भने शून्य छ। मजदुरीबाट कमाएको पैसा घर खर्चमै सिध्याउने गरेका थिए। पहिलोपटक बलानसेर गाउँका ५५ दलित हरूवा/चरुवा परिवारले बैंक खाता खोलेका छन्। एकैसाथ बैंक खाता खोलेका उनीहरूले बैंकमा बचत पनि गर्न थालेका छन्।

जसमध्ये ५० घर मुसहर, ५ घर सार्की छन्। उनीहरूले पति र पत्नीको संयुक्त नाममा खाता खोलेका हुन्। पहिलोपटक खाता खोलेका स्थानीयले एकसय देखि पाँच सयसम्म रकम जम्मा गरेका छन्। दलित जनकल्याण युवा क्लवको पहलमा मेघा बैंकले गाउँमै गएर उनीहरूको खाता खोलेको हो। ४६ वर्षको उमेरमा पहिलोपटक ५ सय रुपैयाँ बैंकमा बचत गरेको स्थानीय विन्देश्वरले बताए।

‘हाम्रो तीन पुस्तादेखि कसैले खाता नै खोलेका थिएनन्, पहिलोपटक मैले नै खाता खोलेँ। मजदुरीबाट कमाएको रकम सबै घरखर्चमै सकिन्थ्यो’ उनले भने, ‘पैसा बचत नहुँदा आपत परेको बेला कसैले सहयोग गर्दैनन्।’

ऐलानी जग्गामा बसोबास गर्दा गाउँमा पनि कसैले पैँचो/ऋण नदिने गरेको उनले बताए। उनी जस्तै रामविलासले पनि आफू र पत्नी प्रमिलाको नाममा संयुक्त खाला खोलेका छन्। उनीहरूले पनि पहिलोपटक ५ सय रुपैयाँ बचत गरेका छन्।

‘एक्कासी रकम आवश्यक पर्दा ठूलो रकम जुटाउन निकै समस्या पथ्र्यौ’ प्रमिला भन्छिन्, ‘अब बल्ल बचत गर्न बैंकमा खाता खोलेका छौं। अब मजदुरीबाट आएको पैसा घरखर्च कटाएर केही रकम बचत गर्छौं।’ पैसाकै अभावले छोराछोरीलाई पढाउन नसकेको उनको भनाइ छ।

‘ऐलानीमा बस्नुपर्दा कसैसँग ठूलो रकम हुँदैन’ अगनिया सदायले भनिन्, ‘आफ्नो नाममा जमिन नहुँदा आवश्यक परेको बेला कसैले श्रण पत्याउँदैनन्। आफूसँग बैंक खाता नहुँदा बचत नै हुँदैनथ्यो।’ महिनामा थोरै भए पनि घरखर्च कटाएर बैंक खातामा जम्मा गर्ने उनको भनाइ छ। पति र पत्नीको नाममा संयुक्त खाता खोलेपछि परिवारमा समझदारी बढ्ने उनले बताइन्। बचत गर्न उनीहरूले गाउँमा हरूवा/चरुवा बचत समूह र दलित महिला सहकारी पनि सञ्चालन गरेका छन्।

शम्भु यादवले लेख्नु भएको यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्