RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/१३ गते
१२७६ पटक

संविधान र प्रचलित अन्य कानूनअनुसार जातीय भेदभाव र छुवाछुत दण्डनीय अपराध हो । २०२० भदौ १ गतेदेखि लागु भएको मुलुकी ऐनमै यस्तो अपराध गर्नेलाई कैद तथा जरिवानाको व्यवस्था गरिएको थियो । कसैले कसैलाई जातिपाति, धर्म, वर्ण, वर्ग वा कामको आधारमा छुवाछूतको भेदभावपूर्ण व्यवहार वा वहिष्कार वा निषेध गरेमा तीन महिनादेखि तीन वर्षसम्म कैद वा एक हजार रुपैयाँदेखि पच्चीस हजार रुपैयाँसम्म जरीवाना वा दुवै सजाय हुने कुरा त्यतिबेलै ऐनमा स्पष्ट व्यवस्था गरिएको थियो ।

त्यतिमात्रै होइन २०६३ जेठ २१ गते नेपाललाई छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको छ । संविधानको धारा ४० मा दलितको हकको व्यवस्था गरी दलित समुदायलाई नागरिक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा सक्षम बनाउनुपर्ने उल्लेख छ ।

कानून जति राम्रो बने पनि जातीय विभेद र छुवाछूतको अवशेष बाँकी रहेको बेलाबेलामा सार्वजनिक हुने घटनाहरूले पनि देखाउँछन् । जातीय भेदभाव तथा छुवाछुतविरुद्धको अधिकारको अवस्थाबारे राष्ट्रिय मानव अधिकार आयोगले सात प्रदेशका ३१ जिल्लाका ३८ स्थानमा अनुगमन, अन्तरक्रिया र छलफल गरेको छ ।

अनुगमनको निश्कर्ष आयोगले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको अधिकारको अवस्था अनुगमन प्रतिवेदन २०७६ मार्फत सार्वजनिक गरेको छ । आयोगका सदस्य प्रकाश वस्ती आयोगले अनुगमन गर्दा जातीय भेदभाव र छुवाछुत अन्त्य नभएको पाएको बताउँछन् । वस्ती भन्छन्, ‘पीडितहरूले हामीसामु प्रस्तुत गरेका कतिपय घटना जिब्रो टोक्नु पर्ने खालका छन् ।’

आयोगले प्रदेश सरकार, स्थानीय तहका जनप्रतिनिधि, स्थानीय प्रशासन, नेपाल प्रहरी, राजनीतिक दल, नागरिक समाज, दलित अधिकारको क्षेत्रमा क्रियाशील संघ संस्था, मानव अधिकारकर्मीहरु, सञ्चारकर्मी, कानून व्यावसायी, शिक्षकलगायत दलित र गैरदलित समुदायसँग छलफल गरेको थियो । अनुगमन तथा छलफलका क्रममा आयोगसँग व्यक्त केही प्रतिनिधि घट्ना प्रस्तुत गरेका छौं ।

मीतज्यूलाई भान्सामा लैजाँदा

म निर्वाचित जनप्रतिनिधि हुँ । दलितको धेरै मत मैले पाएँ । दलित समुदायमा मैले मितेरी साइनो गाँसेको छु । एक दिन मलाई भेट्न मेरा मीतज्यू आउनु भयो । कुरापछि खाना खान मैले भान्सामा लगेँ । उहाँभित्र पस्न मान्नु भएन । खाना बाहिरै दिने र बाहिरै बसेर खाने इच्छा प्रकट गर्नु भयो । मैले जवरजस्ती भित्र लगेर आफूसँगै ख्वाएँ । उहाँलाई त ख्वाएँ, तर उहाँलाई बिदा गरेपछि मेरी श्रीमतीले मसँग आक्रोश पोखिन् । उनी सामान्य गृहिणी हुन् । जातीय भेदभाव गर्न हुँदैन भनेर मैले सम्झाएँ, बुझाएँ । तर, त्यस्तो हो भने उनी मलाई राजनीति छाड्न भन्दैछिन् ।

उपाध्यायलाई पनि छुवाछुत

हामी तीन जना अति मिल्ने शिक्षक हौँ । हामीमध्ये एक जना दलित साथी हुनुहुन्छ । तर, उहाँको जीउडाल लवाइ खवाइ आकर्षक छ । सँगै काठमाडौं आउने काम पर्‍यो । बाटोको होटेलमा जिस्किन मन लाग्यो । एक जना साथीले होटेल मालिकलाई सोध्यो, ‘यहाँ दलितलाई पस्न दिनु हुन्छ कि नाई ?’ होटेल मालिकले आक्रोशका साथ नदिने अभिव्यक्ति दिए ।

त्यसपछि आफूमध्येको एक जना लवाइ खवाइ सामान्य र जीउडाल अनाकर्षक व्यक्तिलाई देखाउँदै लवाइ र जीउडाल आकर्षक भएको साथीले भन्यो ! ‘उहाँ त दलित हो नि !’ होटेलवालाले आक्रोशित हुँदै उहाँलाई निकाल्यो ।

तर, निस्कने साथी उपाध्याय ब्राहृमण थिए । हामी सबै केही नखाई त्यो होटेलबाट निस्कियौँ ।

भुषालमाथि कामीको विभेद

म पेन्टर हुँ । भुषाल थर लेख्दछु । सदरमुकाममा मेरो पसल पनि छ । गाउँको एउटा विद्यालयमा विभिन्न नारा, वाक्य आदि लेख्न मलाई लगियो । राति बास बस्नुपर्ने भयो । प्रधानाध्यापक सरले तपाईंलाई बास बस्न यो भाइको घरमा बन्दोबस्त गरिदिएको छु भन्नुभयो । त्यो भाइले अघि त हुन्छ भनेको थियो, तर अहिले मेरो घरमा पाहुना आए सक्दिनँ भनेर तर्कियो । त्यो भाइ त्यही विद्यालयको कार्यालय सहयोगी थियो । जात विश्वकर्मा (कामी) थियो । म भुषाल (सार्की) हुँ । ऊ उपल्लो जातको, म तल्लो जातको ! यसपछि सरले मलाई आफ्नै घरमा लानुभयो । भित्र ठाउँ भएन दुवै जना बाहिर सुतौँ भनेर दुवै जनालाई ओछ्यान लगाउनु भयो । दुवै बाहिर सुत्यौँ । केही समयपछि बिउँझेर हेर्दा सरको ओछ्यान खाली थियो ।

सम्मान कि विभेद

म सांसद हुँ । विवाह भोजमा बोलाइन्छ । म भोजस्थलमा पस्नेबित्तिकै ओहो सांसदज्यू पाल्नु भयो भनिन्छ र एउटा कुनामा लगेर राखिन्छ, त्यहीँ प्लेटमा खाना ल्याएर दिइन्छ । म पंक्तिमा नबसोस् र खाना नछोओस् भन्ने अभिप्रायले त्यसो गरिएको मलाई बुझ्न गाह्रो पर्दैन । तर, म नबुझेको जस्तो गरी खान विवश छु । कारण अर्को निर्वाचनमा पनि मलाई भोट चाहिन्छ । मजस्तै अन्य दलितलाई सबैले खाइसकेपछि मात्र लाममा बस्न दिने, दलितकै घरको विवाह भोजमा पनि गैरदलित भान्से राखेको भएमात्र गैरदलितले खाना खाने, नभए पेट दुख्ने, बिरामी परेको हुने, व्रत बसेको दिन हुने, एण्टिबाइटिक औषधि खाइरहेको हुने र जरुरी मिटिङमा जानै पर्ने जस्ता बहानावाजीसँग म अपरिचित छैन ।

घरबेटी झस्काउने कल

गायिका बन्ने तीव्र इच्छाले काठमाडौँ डोर्‍यायो । शुरुमा गाउँकै खड्का दिदीसँग उहाँकै कोठामा बसेँ । काम पाएँ । मेरो पनि व्यस्तता बढ्दै गयो । दिदीले नै मेरी बहिनी भनेर कोठा खोजेर राखिदिनु भयो । थर नभन्नू, गोत्र भन्नू, भनेर सिकाउनु भएको थियो । त्यसै गरें । ल्याण्डलाइनकै जमाना थियो । घरबेटी कहाँ फोन थियो । फोन आए बोलाइदिनु हुन्थ्यो । घरबाट मेरो नाम भनी ‘…परियारलाई बोलाई दिनोस् न’ भनिएछ । त्यो व्यक्ति म नै थिएँ । मेरो जात थाहा पाएपछि छोरीलाई जस्तो व्यवहार गर्ने मेरो घरबेटीको व्यवहार नै फेरियो । अन्ततः डेरा सर्न भन्नु भयो । मैले संघर्ष गरेँ ।

नमस्तेको सट्टा जदौ

गाउँ घरमा सबैले सबैलाई नाता लगाएर सम्बोधन गर्ने चलन हुन्छ । मेरो छिमेकी ९० वर्ष पुग्न लाग्नु भयो । उहाँ दलित हुनुहुन्छ । म हजुरबा नमस्ते भन्छु, उहाँ ‘जदौ विष्ट’ भन्नु हुन्छ । तपाईंले के गरेको यो ? भन्दा एक त उहाँलाई ‘तपाईं’ शब्द नै अप्ठ्यारो लाग्छ रे । दोस्रो कुरा, बाउबाजेको चलन तोड्दा पाप लाग्छ, नरकमा परिन्छ रे ।
भेदभाव छैन

म दलित हुँ । म र अन्य तीन जना गैरदलित साथीहरुको लगानीमा एउटा उद्योग सञ्चालनमा छ । हामी चारैजनाबीच मात्र होइन हाम्रा परिवारबीच पनि सौहार्दतापूर्ण सम्बन्ध छ । हामी एक-अर्काको घरमा जान्छौँ, बस्छौँ, खान्छौँ । हामीबीच दलित-गैरदलित कुनै भेदभाव छैन ।

नमीठो भोजन ?

विदेशमा कार्यक्रम लिएर गएका थियौँ । एक दम्पत्तिले घरमा रात्रि भोजका लागि लानु भयो । साह्रै मीठो खाना थपीथपी खुवाउनु भयो । दाइको काममा जाने बेला भएछ । मेरो काममा जाने बेला भयो भनी पोशाक लगाएर आउनु भयो । पोशाक हल्का फुल्का रफ खालको थियो । दाइ आएपछि भाउजुले कस्तो दलित (जात उल्लेखसहित) ले जस्तो कपडा लगाउनु भएको भन्नुभयो । म उहाँले घृणा गर्ने थरकै दलित थिएँ । म दलित हुँ भन्ने जानेरै खान बोलाइएको थियो । त्यसपछि मैले खाइ सकेको ओकल्न त सकिनँ, तर कति नमीठो ।

पैसा फिर्ता गर्नु परेपछि…

मेरा संघर्षका दिनका कुरा हुन् । म र एकजना गैरदलित साथी नङ र मासुजस्तै थियौँ । सँगै खान्थ्यौँ-एक अर्काको जुठो पनि खान्थ्यौ । सँगै हिँड्थ्यौं र सँगै काम गर्थ्यौं । उसलाई पैसाको खाँचो पर्‍यो । मैले केही लाख ऋण दिएँ । मित्रता उस्तै थियो । दुई-तीन वर्ष बित्यो, साथी पैसा फर्काउने कुरै गर्दैन । परोक्ष तवरले मागेँ पनि । अति नै भएपछि मुख फोरेरै मागेँ । उसले भन्यो, ‘तेरो पैसा खाएर भाग्छु र दिइहाल्छु नि, आखिर दलित भनेको दलित नै हुँदो रहेछ ।’

उपाध्यक्षको अपमान ?

म गाउँपालिकाकी निर्वाचित उपाध्यक्ष हुँ । गाउँकै स्कूलको वार्षिकोत्सव थियो । अध्यक्ष बाहिर जानु भएकाले म कार्यवाहक अध्यक्ष थिएँ । कार्यक्रममा बोलाइयो, अतिथि बनाइयो, मञ्चमा आसन ग्रहण पनि गराइयो । म बोल्न पालो कुरेरै बसेकी थिएँ, कार्यक्रम सकियो । मैले आफूले सम्वोधन गर्न नपाएकोमा आपत्ति जनाएँ । आयोजक कसैले भने महिलाले पनि बोल्ने ? अर्काले भने दलितको अर्ती हामीले सुन्नु पर्ने ? अर्काले भने- अतिथि सबैलाई बोल्न दिनैपर्छ र ? हो म महिला हुँ, दलित पनि हुँ ! पढाइको उपाधिले सभ्यता र मानवियता सिकाउँदो रहेनछ ।

यो खबर अनलाइनखबरबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्