RaraNews

यज्ञराज थापा प्रकाशित : २०७६/४/१० गते
१०१७ पटक

दैलेख : अविरल वर्षाका कारण आएको पहिरोले दुल्लु नगरपालिका-१ का ८ वटा घरमा क्षति पुगेको छ। कर्णाली राजमार्गको तल्लो डुंगेश्वरदेखि दुल्लु बजार जाने सडकखण्डमा पर्ने घरमा बुधबार साँझ आएको पहिरोले क्षति पुर्‍याएको हो।

ती सबै दलित समुदायको रहेको प्रहरीले जनाएको छ। ती घरमध्ये २ वटा घर पूर्णरुपमा भत्किएको छ भने अरु घरको केही भाग भत्किएको र भित्ता चिरा परेको छ। सडक छेउछाउमा रहेको दलित वस्तीमा पहिरो जानु मुख्य कारण कच्ची सडक निर्माण रहेको हो। वस्तीमाथि हचुवाको भरमा असार मसान्तमा डोजर प्रयोग गरेर सडक निर्माण गर्दा ती घरमा क्षति हुनुको साथै वस्ती नै जोखिममा परेको स्थानीयले बताए।

स्थानीय आइते कामीले रातिको समयमा पहिरो आएका कारण घरायसी सामान ओसार्न कठीनाई भएपनि तत्काल घरबाट निस्केका कारण मानवीय क्षति हुन नपाएको बताएका छन्।उनका अनुसार सोही वस्तीमा पहिरोले ६ वटा बाख्रा मरेका छन्।

बिहीबार नै दुल्लु नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालले प्रहरी र स्थानीयको सहयोग जुटाएर उद्धार कार्य सुरु गरिएको छ।पहिरोका कारण जोखिममा परेका ती दलित परिवारलाई अहिले पाल वितरण गरी सुरक्षित स्थानमा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत नेपालले जानकारी दिएका छन्।

उनले सडककै कारण पहिरो आउन सक्ने र वस्ती अझैं जोखिममा रहेको कारण वर्षायाम भरी सुरक्षितमा राख्नुपर्ने बताएका छन्। प्रहरी र स्थानीयको सहयोगमा अहिले उनीलाई काठको टहरा निर्माण गरी पालको छानामुनि राखिएको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ।

यज्ञराज थापाले लेख्नुभएको यो समाचार अन्नपूर्णपोष्टबाट साभार गरिएको हो ।

प्रतिकृया दिनुहोस्