RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/४/६ गते
१७२४ पटक

बुटवल — अर्घाखाँची ढिकुराकी सिर्जना नेपाली कक्षा ११ पढ्न यहाँ आएकी छन् । यहाँस्थित एक कलेजमा भर्ना भइसकिन् । अझै उनको बसोबासको टुंगो छैन । ‘भाडाको कोठा खोज्दै हिंडेको १० दिनभन्दा बढी भयो,’ उनले भनिन्, ‘थर भनेपछि कोठा भाडामा दिनै मान्दैनन् ।’ निधो भइसकेका ठाउँमा पनि फोन गरेर रद्द गर्ने गरेकोउनले सुनाइन् ।

सिर्जनाजस्ता स्याङ्जा गल्याङका राजु विश्वकर्मा बुटवल बहुमुखी क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत छन् । उनी ३ वर्षमा ६ पटक डेरा सरे । ‘दलित भन्ने थाहा पाएपछि डेरा दिनै मान्दैनन्,’ उनले भने, ‘डेरा पाइहाले धारो, लुगा सुकाउने छत र घरमा हुने कार्यक्रममा भेदभाव गर्छन् ।

’भेदभाव भएको गुनासो गरे कोठा सर्न दबाब दिन्छन् । दलित विद्यार्थीमात्र होइन, व्यवसायीलाई समेत घरभाडा पाउन मुस्किल छ । आफू त्यही घरमा बस्ने भए गैरदलितको घरमा भाडामा दिंदै दिंदैनन् । यसले गर्दा रोजेको ठाउँमा व्यापार व्यवसायसमेतगर्न पाएका छैनन् ।

बुटवल कालिकानगरका सन्दीप विक तिलोत्तमाको भलबारीमा सुनचाँदी व्यवसाय गर्छन् । घरपायक व्यवसाय सार्न खोजेको २ वर्ष भयो । ‘केन्द्रमा गैरदलितका घर छन् । चिनेकै व्यक्ति १८ जनालाई आग्रह गरें तर दिएनन्,’ उनले भने, ‘भन्न त सुनचाँदीको पसल राख्दा जोखिम हुन्छ भन्छन् । तर, दलित भएकै कारण भाडामा नदिएका हुन् ।’ दलित भएकै कारण युवा क्लब, खेलकुद क्लबलगायतमा नेतृत्व गर्न नपाएको उनको दुखेसो छ । सन्दीपकी आमा माया बराल विक बुटवल उपमहानगर–१० की दलित महिला सदस्य हुन् । ‘आफैं जनप्रतिनिधि भएर पनि भेदभाव सहनुपरेको छ,’ मायाले भनिन्, ‘व्यापार व्यवसाय गर्न सटर भाडा पाइँदैन ।’

दलित महिला संघ जिल्ला अध्यक्ष मनु खड्का विश्वकर्माले घरभाडामा दलितमाथि हुने भेदभावले पढाइलेखाइ, जागिर, व्यवसाय र प्रगतिमै समस्या भएको बताइन् । यसअघि विभिन्न छलफलमा घरभाडामा हुने विभेदविरुद्ध आवाज उठाउँदा घर व्यक्तिगत हो भनेर रोकेको उनले सुनाइन् । ‘भाडामा दिन बनाएको घर सार्वजनिक स्थलजस्तै हो । त्यसमा जातीय भेदभाव र छुवाछूत गर्न पाइँदैन,’ उनले भनिन्, ‘यसविरुद्ध दलित समुदाय र सामाजिक संघसंस्था एक भएर आवाज उठाउने छौं ।’

यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्