RaraNews

रासस प्रकाशित : २०७६/३/३० गते
९१४ पटक

तनहुँको व्यासनगरपालिका–१४स्थित आँपस्वाँरामा सञ्चालित दलित घरवास(होमस्टे) आन्तरिक एवं बाह्य पर्यटकको अनुसन्धानको केन्द्र बन्दै गएको छ । नेपालकै पहिलो दाबी गरिएको उक्त होमस्टेमा अनुसन्धानको लागि जापान, अमेरिका, जर्मनी, चीनलगायतबाट बाह्य र काठमाडाँै, पोखरा, चितवनलगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेको आँपस्वाँरा सामुदायिक दलित होमस्टेका अध्यक्ष रेशम विश्वकर्माले बताउनुभयो ।

उहाँका अनुसार दलित होमस्टेको विशेषता के कस्तो रहेछ भनेर बुझ्न र अनुसन्धानका लागि आउने गरेका छन् । होमस्टेमा खाना बस्नभन्दा पनि अनुसन्धान (रिर्सच)को लागि बाह्य पर्यटकको गन्तव्यस्थल बन्ने गरेको छ होमस्टेका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “विशेष गरी विदेशी युनिर्भसिटीका विद्यार्थी अनुसन्धानको लागि आउने गरेका छन् ।”
केही दिनअघि काठमाडौँ विश्वविद्यालयका ३३ जना विद्यार्थी आएर चार दिन बसेर गएको उहाँले बताउनुभयो । उक्त होमस्टेमा आउने पाहुनालाई जातीय कला र संस्कृतिको प्रदर्शन गराउने मुख्य उद्देश्य रहेको छ । कामी, सार्की र दमाईं जातिको पुख्यौली पेशाको बारेमा जानकारी गराउँदै ती जातिले बनाएका वस्तुहरु बनाउनसमेत सिकाउने गरिएको छ ।

विश्वकर्मा जातिको आरन पेशा, माटोको गहना बनाउने, परियारको कपडा सिलाउने, बाजा बजाउने र नेपालीको जुत्ता सिलाउने, हलो, नारालगायतका दलित जातिको पुख्यौली पेशाका बारेमा जानकारी गराई त्यसको महत्वको साथै बनाउनसमेत सिकाइने व्यवस्था गरिएको छ अध्यक्ष विश्वकर्माले भन्नुभयो ।काठमाडौँबाट होटल व्यवस्थापनसम्बन्धी एकहप्ते तालीम लिएपछि ०७३ सालदेखि सो गाउँका १८ घरधुरीका विश्वकर्मा जाति मिलेर होमस्टे सञ्चालन गरेका गर्दै आएका हुन् । उक्त होमस्टेमा आउने पाहुनालाई स्थानीय मकै, भटमास, गुन्दु्रकको साथै गाउँमै उत्पादन गरिएका ताजा र अर्गानिक तरकारी, स्थानीय जातका कुखुरा, सुँगुर र खसी बोकाको मासुका परिकार खुवाउने गरिन्छ । उक्त होमस्टेमा मदिराजन्य वस्तुको भने निषेध गरिएको छ।
उक्त गाउँका १८ घरधुरीमा करीब ६५ जना पाहुनालाई घरवासको व्यवस्था गर्न सकिने छ । होमस्टे सञ्चालनका लागि गण्डकी प्रदेशबाट रु दश लाख र व्यासनगरपालिकाबाट रु एक लाख प्रदान गरिएको थियो ।दलित होमस्टेलाई नमूना होमस्टे बनाउन नगरपालिकाले आवश्यक सहयोग गर्दै आएको र आउँदा दिनमा पनि सहयोग गर्दै लैजाने योजना रहेको व्यासनगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो ।

जीवनशैलीमा परिवर्तन
उक्त क्षेत्रमा होमस्टे सञ्चालन गर्ने परिवारको जीवनशैलीमा परिवर्तन आएको छ । शुरुमा एक दुई जना पाहुना आउँदा पनि आत्तिने गर्दथे तर अहिले जति पाहुना आए पनि सहजरुपमा खाना बनाएर खुवाउन सक्ने भएका छन् । “होमस्टे सञ्चालनसँगै यस क्षेत्रका दलितले आयआर्जन गर्न थालेपछि जीवनशैलीमा परिवर्तन आएको होमस्टेका कोषाध्यक्ष मधुमाया विश्वकर्माले बताउनुभयो । गाउँमै कुखुरा, सुँगुर, बाख्रापालनको साथै तरकारी खेती गरेर होमस्टेमा नै खपत गर्ने गरिएको छ”, उहाँले भन्नुभयो, “होमस्टेमा आउने पाहुनालाई गाउँमै उत्पादन गरिएका अर्गानिक परिकारले सत्कार गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

प्रतिकृया दिनुहोस्