RaraNews

विक्रम खड्का प्रकाशित : २०७६/३/२५ गते
१६४२ पटक

कर्मचारी अभावका कारण बन्द रहेको बुटवलको विषादी अवशेष द्रुत विश्लेषण एकाइ (प्रयोगशाला) ले तरकारी तथा फलफूलको नमूना जाँच्न फेरि शुरु गरेको छ। संघीय संरचना अन्तर्गतको नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतमा रहेको कार्यालय एक वर्ष पहिला सञ्चालनमा आएको भए पनि कर्मचारी समायोजनमा यहाँबाट कर्मचारी अन्यत्र गएपछि प्रयोगशाला बन्द भएको थियो।

शुरुमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीबाट वरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्री काजमा कार्यालय प्रमुखको रूपमा आएर तरकारी तथा फलफूलकाे नमूना परीक्षण शुरुवात गरेका थिए। केही समय निरन्तर रूपमा सञ्चालनमा आएको उक्त प्रयोगशालाका निमित्त कार्यालय प्रमुख रामबहादुर खत्रीको प्युठान जिल्लामा सरुवा भएको थियो ।

त्यस पश्चात पनि काजमा खटिएर उक्त प्रयोशालामा उनले काम गरेका थिए । पछि उनी गएपछि उक्त कार्यालय बन्द भएको थियो । एकजना कार्यालय सहयोगीले दैनिक आएर कार्यालय खोल्ने, सरसफाइ गर्ने बाहेककाे अन्य कुनै पनि काम हुन सकेकाे थिएन ।

वरिष्ठ बाली संरक्षण अधिकृत खत्रीसँगै एकजना प्राविधिक सहायकको समेत दरबन्दी रहेको प्रयोगशालामा प्राविधिक सहायक पदमा रहेका कर्मचारी संघमा समायोजन भएर गएका थिए ।जसका कारण प्रयोगशाला बन्द रहेको थियो । प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि विकास निर्देशनालयमा दरबन्दीमा रहेका वरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीलाई प्रदेश सरकारले हाल विषादी अवशेष द्रुत विश्लेषण एकाइ (प्रयोगशाला) को प्रमुखको रुपमा खटाएको छ ।

कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले मंगलबारबाट फलफूल तथा तरकारीको नमूना संकलन गरी परीक्षण शरु गरिएको जानकारी दिए । उनले आफू एकजना र कार्यालय सहयोगी मात्रै रहेको कार्यालयमा कार्य गर्नका लागि कठिन रहेको समेत बताए । उनले भने, “एकजना मात्रै कर्मचारीबाट काम गर्न कठिन छ, तैपनि सरकारले खटाएपछि अहिले पुरानै कार्यालयमा आएको छु ।”

उनले प्रदेश सरकारले असार पश्चात केही कर्मचारी पठाएमा कार्य सञ्चालनमा सहज हुने समेत जानकारी दिए । कम्तीमा पनि ३ जना प्राविधिक सहायक, नायब प्राविधिक सहायक आवश्यक पर्ने उनको भनाइ रहेको छ। बुटवलकाे विषादी अवशेष द्रुत विश्लेषण एकाइ (प्रयोगशाला) र बाँके जिल्लाको नेपालगञ्जमा रहेको विषादी अवशेष द्रुत विश्लेषण एकाइ (प्रयोगशाला) प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कर्मचारी पठाएर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार पहिलो चरणमा बुटवलको प्रयोगशाला शुरु गरिएको छ भने नेपालगञ्जको बाँकेमा रहेको प्रयोगशाला समेत शुरुवाती चरणमा रहेको जनाइएको छ । बुटवलमा सञ्चालनमा आएको विषादी मापन प्रयोशालाले नियमित रूपमा नमूना संकलन गरी त्यसको रिपोर्ट केन्द्र सरकार र प्रदेश सरकारलाई बुझाउने छ ।

दैनिकजसो बुटवल कृषि उपज थोक बजार केन्द्रमा आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा के कति छ भन्ने विषयमा जाँच गरी त्यसको रिपोर्ट प्रदान गरिने कार्यालय प्रमुख वरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्रीले जानकारी दिए ।

यो समाचार हामीले हिमालखबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्