RaraNews

एजेन्सी प्रकाशित : २०७६/३/२५ गते
१८१० पटक

भारतको गुजरातमा रहेको अहमदाबादमा २५ वर्षीय एक दलित युवक र उनकी पत्नीलाई नातेदारहरूले हत्या गरेका छन् । पत्नी कथित उच्च जातकी हुन् । प्रहरीका अनुसार, सोमवार राति हरीश सोलंकी आफ्नी पत्नी उर्मिलाबेनलाई लिन ससुराली गएका थिए । वरमोर गाउँमा रहेको ससुरालीमा उनको हत्या भयो ।

पत्नी दुई महिनाकी गर्भवती छिन् । उनी कथित उच्च जाति दरबार समुदायकी हुन् । सोलंकीले उर्मिलाका मातापिताको इच्छाविपरीत केही महिनाअघि विवाह गरेकी थिइन् । विवाहपछि उनले उर्मिलालाई कच्छ जिल्लाको गान्धीगाम लगेका थिए ।

उर्मिलाका नातेदारहरूले सोलंकीको घर गएर केही हप्तापछि फर्काइदिने भन्दै उर्मिलालाई लिएर गएका थिए । तर उनीहरूले दुई महिनासम्म पनि नफर्काएपछि सोलंकीले ससुराली जाने निर्णय लिए ।

उनले महिला हेल्पलाइन अभयम १८१ को सहायता लिए अनि हेल्पलाइनकै गाडी चढेर वरमोर गए । सोलंकी गाडीभित्रै बसे अनि हेल्पलाइन सेवाका अधिकारीहरू उनको ससुरलाी घरभित्र गएर उर्मिलालाई फर्काउनुस् भनी सम्झाउन थाले ।

उर्मिलाका नातेदारले सोलंकी अधिकारीहरूसँग छन् भन्ने थाहा पाएपछि उनीहरू घरबाहिर आएर सोलंकीमाथि धारिलो हतियारले आक्रमण गरे । प्रहरीका अनुसार, आक्रमणमा सोलंकीको शिर र अन्य अंगमा चोट लाग्यो र उनको मृत्यु भयो ।

अभयमको गाडी पनि आक्रमणमा क्षतिग्रस्त भएको अनि सोलंकीसँग गएका अधिकारीहरू चाहिँ बाँचेको बताइएको छ । आरोपितहरू घटनापछि फरार छन् र प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्