RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/२० गते
१३६७ पटक

बुटवल– ‘१५ बर्षको उमेरमा मेरो विवाह भएको थियो, १६ बर्षको उमेरमा छोरीको जन्म दिएँ, १७ बर्षकी हुँदा श्रीमानको मृत्यु भयो’–   गुल्मीको तम्घासमा डेरा बस्दै आएकी पुष्पा बराल (विक ) ले आँशुको धारा बगाउँदै  भनिन्– ‘मैले कही गएर पनि न्याय पाउन सकिन ।’

तम्घासको खानाीउँ टुनिखोला माईती घर भएकी उनले ३ बर्षअघि अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्वर–१ मरेङ्ग सुन्दरपोखराका कृष्णप्रसाद बञ्जाडेसँग प्रेम विवाह गरेको बताइन् ।  दुई बर्षअघि जन्मेकी छोरीको जन्म दर्ता नहुँदा बेवारिसे जस्तै बन्नुपरेको  पुष्पाले पीडा सुनाइन् ।

‘वडाध्यक्षदेखि सिडियोसम्म तीन महिनासम्म धाएँ तर कसैले पनि छोरीको जन्म दर्ता गराई दिएनन्, त्यसैले रातोपाटीमार्फत न्यायका लागि सबैलाई गुहार्न आएकी हुँ’–उनले भनिन् । गत माघ १७ गते तम्घासको देउरालीस्थित डेरामै टिभीको बिमारले मृत्यु भएका उनका श्रीमान बञ्जाडेका परिवारले जिल्ला अस्पताल तम्घासमा श्रीमानको शव छुन समेत नदिएको पीडा उनले सुनाइन् ।

भनिन्– ‘म श्रीमानको काजकिरिया गर्न घर जान्छु भन्दा परिवारजनले  हामी घर लैजान्नौं छुइन्छ भनेर जान दिएनन् र डेरादेखि तल अर्कै घरमा काज किरियामा बसेकी हुुँ ।’  विवाह गरेपछि  श्रीमानले जात ढाँट्न लगाएर मगरकी छोरी हुन् भनेर घर भित्र्याएको र पछि दलितकी छोरी हो भन्ने थाह पाएपछि घर पस्न नदिएको उनको भनाई छ ।

तीन महिनासम्म घरमा आवतजावत गरेको सबैलाई थाह भएपनि अहिले आफुलाई त्यस परिवारले चिन्दै नचिनेको भन्दै जन्मदर्ता र अंश दिन नमानेको उनले गुनासो सुनाइन् ।  श्रीमानले पहिलै नै अर्को विवाह गरेको र एक छोरासमेत अर्की पट्टि जन्मेको आफुलाई पछि मात्रै थाहा पाएको उनले बताइन् ।

माइती घरमा बाबु नभएको र आमाले समेत बेवास्ता गर्दा आफ्नो भन्ने कोही नभएको उनले बताईन् । उनका बारेमा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालको ध्यानकृष्ट गराउँदा उनी धेरैपटक आफु कहाँ आएको तर आमा चाँहीलाई यहाँबाट नागरिकता दिँदा उनकी छोरी बेवारिसे हुने भएकोले नदिएको, छोरीको जन्मदर्ताका लागि अर्घाखाँचीमै जानुपर्ने सुझाव दिएर पठाएको र आफुले मालारानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग समन्व्य समेत गरेको बताइन् ।

उता, त्यस गाउँपालिका वडा नम्वर–१ का वडाध्यक्ष वालकृष्ण पोखरेलको ध्यानकृष्ट गराउँदा उनले ती महिलालाई पठाईदिन आग्रह गर्दै मिले सम्मको सहयोग गर्ने प्रतिबद्धता जनाए ।  गुल्मी कै सिमलटारीमा बर्षौंदेखि साँघुरो शौचालयभित्र बेवारिसे तीन सन्तानसहित बसेकी ज्ञानी परियारको विचल्लीको खबर रातोपाटीले  बाहिर ल्याएपछि उनको घरवास निर्माणका लागि देश विदेशबाट दश–एघार लाख रुपैयाँ सहयोग जुट्यो । त्यही रकमले स्थानीयवासीको सहयोगमा सिर्सेनीमा अर्कैको घर गोठ र गरिखाने जमिन किनिएको थियो ।

त्यसपछि उनी  र उनका सन्तान  त्यस शौचालयबाट राम्रो घरमा बस्न पाएका थिए ६ बर्षअघि ।  अहिले उनैका तीन छोराहरु हुर्केका छन् । जेठा छोरा राजकुमार परियार उमेर १९ बर्षका भए । उनले गाडी चलाउन सिकेका छन् । तर लाइसेन्स बनाउनका लागि नागरिकता नहुुँदा उनले डाईभरको जागिर समेत पाउन सकेका छैनन् । उनका दुई भाईहरु क्रमशः १७  र १५ बर्षका भए । बाबुको टुङ्गो नहुुँदा वडा कार्यालयले जन्म दर्ता र नागरिकताको सिफारिस समेत दिन मानेको छैन ।

गुल्मीका प्रमुख जिल्ला अधिकारी पौड्याल भन्छन्, ‘अहिले सम्म आमाका नाममा नागरिकता दिने कानुनी प्रवधान छैन । यसबारे सदनमा कुरा उठेको छ, त्यस्तो प्रावधान आए त  दिइने थियो, वंशजको आधारमा नागरिता दिइने हुँदा अहिले उनका छोराहरुलाई नागरिता दिन सकिन्न् ।’ ज्ञानी परियार आफैले पनि बाबु बताउन सक्दिँनन् ।

यो समाचार हामीले रातोपाटीबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्