RaraNews

प्रकाश डोटेल प्रकाशित : २०७६/३/१७ गते
९८५ पटक

स्याङ्जाको बिरुवा गाउँपालिकाको एउटा सिंगो दलित बस्तीमा खानेपानीको समस्यामा छ । वर्षौँदेखि घण्टांै समय खर्चेर पानीको जोहो गर्नुपर्ने बाध्यता अहिले पनि कायमै छ । सरकारले नागरिकका आधारभूत आवश्वक्ता पूरा गर्ने बताइरहे पनि जनताले भने खानेपानीकै लागि घण्टौं लगाउनु पर्ने बाध्यता हटेको छैन ।

देशमा लोकतन्त्र आयो, गणतन्त्र आयो, धेरै परिवर्तन भयो तर, २५ घर रहेको पुष्प गाउँका दलित बस्तीमा भने कुनै तन्त्रले छोएको छैन । बिरुवा गाउँपालिका–५ साविक किचनास गाविसको पुष्प गाउँका दलित समुदायले पुस्तौँदेखि खानेपानीका लागि एक घण्टाको बाटो हिँडेर जोहो गर्दै आएका छन् ।

व्यवस्थामा परिवर्तन आए पनि यो गाउँका स्थानीयले डोकोमा पानी बोकेरै दैनिकी चलाइरहेका छन् । डोकोमा पानीको गाग्री बोकेर घरतर्फ आउँदै गरेकी ३६ वर्षीया सन्सारी विक भन्छिन्, “एक गाग्री पानी ल्याउनका लागि एक घण्टा लाग्छ ।” बिहान उठेर पानी लिन एक घण्टाको पैदलमा नागस्थान धारामा जानुपर्ने बाध्यता रहेको उनले बताइन् ।

“पानी बोक्दा बिहानको धेरै समय खर्च हुने भएकाले छोराछोरीलाई स्कुल पठाउनसमेत समस्या हुने गरेको छ ।” स्थानीय मुक्तबहादुर विकले भने, “बिहान–बेलुकाको अधिकांश समय पानी बोकेरै बित्ने भएकोले खेती किसान गर्न समेत समस्या हुने गरेको छ ।” “त्यति टाढाबाट ल्याएको पानी घर परिवारले खाने कि गाईभंैसीलाई दिने ? उनले दुःखेसो पोखे ।

“पानीको समस्याले गर्दा गाउँलेले धेरै दुःख भोगे पनि चुनावका बेलामा सबैले यो गर्छौं, त्यो गर्छौं, भन्छन् तर अहिले सहयोग गर्न कोही आएका छैनन् ।” किचनास आधारभूत विद्यालयकी शिक्षिका सुनिता सुनारले भनिन्, “बिहान झिसमिसेमै उठेर पानी बोक्नु पर्ने भएकाले राम्रोसँग निद्रासमेत पु-याउन पाइँदैन ।” बिहान पानी लिन जाने कि घरको काम गर्ने निकै समस्या भएको छ, पानीकै कारण कहिले काहीं त विद्यालय जानसमेत ढिला हुने सुनिताको भनाइ छ ।

“पानीको अभावले गाउँमा सरसफाइको समस्या विकराल बन्दै गएको छ ।” स्थानीय युवा अजित क्षेत्री भन्छन्, “किचनाससहित जिल्लालाई खुला दिसामुक्त क्षेत्र घोषणा त गरियो तर यहाँको अवस्था नाजुक छ ।” खानेपानीको समस्या हल गर्न आफूले लामो समयदेखि पहल गरेको क्षेत्रीले बताए ।

पुष्प गाउँको दलित बस्तीमा खानेपानीको समस्या छिट्टै समाधान गर्ने बिरुवा गाउँपालिकका अध्यक्ष चुनप्रसाद शर्माले बताए । उनका अनुसार आफूले पहल गरिरहेको र मूलको समस्याले गर्दा केही ढिला भए पनि पुष्प गाउँका बासिन्दालाई पानी खुवाएरै छोडिन्छ ।

यो समाचार हामीले कारोबार दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्