RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/९ गते
१६७१ पटक

दाङ जिल्लाको दङ्गीसरण गाउँपालिका वडा नम्बर १ र २ को खानेपानी समस्या समाधान गर्न खानेपानी मन्त्रीलाई ध्यानार्कषण गराईएको छ । न्याय अधिकार संस्था (जुरी नेपाल) र जागरण मिडिया सेन्टरले मन्त्री मगरलाई ध्यानार्कषण पत्र बुझाउँदै जीवनको अधिकार संरक्षण गर्न माग गरेका छन् ।

त्यहाँका स्थानीयले दशकौंदेखि खानेपानीका लागि संघर्ष गरिरहनु परेको भन्दै प्राथमिकताका साथ हेरिदिन उनीहरुले आग्रह गरेका छन् । जवाफमा मन्त्री मगरले विगतमा एकदमै न्युन बजेट विनियोजन हुने गरेकाले खानेपानीको समस्या सोचेअनुसार समाधान हुन नसकेको बताउनुभयो । यस वर्ष खानेपानीका लागि अहिलेसम्मकै उच्च बजेट अर्थात ४३ अर्ब विनियोजन गरिएको भए पनि त्यो पर्याप्त नभएको उहाँको भनाई छ ।

अधिकारकर्मीहरुसँग बोल्दै उहाँले भन्नुभयो, ‘हिजोका दिनमा जति प्राथमिकता पाउनु पथ्र्यो खानेपानी मन्त्रालयले पाएनछ र आज प्राथमिकतामा त परेको छ तर समस्याका हिसाबले यो पनि पर्याप्त छैन ।’ खानेपानीको समस्या समाधान गर्न भर्खरै आधार तय गरेको स्मरण गर्दै उहाँले दाङ जिल्लामा रहेको संकटलाई गम्भीरतापूर्वक लिएको प्रतिक्रिया दिनुभयो ।

प्रशोधित खानेपानी ख्वाउन सके मात्र पनि आधाभन्दा बढी रोगबाट मानिसलाई जोगाउन र आयु वृद्धि गर्न सकिने तर यस्तो संवेदनशील विषय विगतमा प्राथमिकतामा नपरेको भन्दै उहाँले आश्चार्य व्यक्त गर्नुभयो । खानेपानीका लागि गर्नु पर्ने संघर्षका कारण महिलाको स्वस्थ्यमा नकारात्मक असर परिरहेको भन्दै उहाँले यस्ता समस्या समाधान गर्न आफु योजनाबद्ध ढंगले अघि बढेको बताउनुभयो ।

हेर्नुहोस् विज्ञप्ति

प्रतिकृया दिनुहोस्