RaraNews

भरत जर्घामगर प्रकाशित : २०७६/३/६ गते
१४२० पटक

सिरहा — गर्मीयामसँगै सिरहाको दक्षिणवर्ती लक्ष्मीपुर पतारी गाउँपालिका ४ धन्छबारस्थित हरूवा चरुवा परिवारका दलित बस्तीमा खानेपानी समस्या सुरु भएको छ ।

गाउँ ब्लक र ऐलानी जग्गामा बसोबास गर्दै आइरहेको धन्छबारमा दुई सय घरपरिवार दलित सदाय मुसहर, दास र राम समुदायको बस्ती छ । दुई सय घर परिवारको बसोबास भएको बस्तीको मुसहरीमा केदार सदाय मुसहर, रामचन्द्र र सुवरन सदाय मुसहरको घरमा मात्र टयूवेल (चापाकल) छ । त्यसैगरी राम र दास टोलीमा ८ वटा टयुवेल छन् ।

बस्तीमा जडान एक दर्जन टयुवेलले दुई सय घर परिवारलाई जसोतसो पानी धान्दैआएपनि यसपटक पानी सुक्न थालेपछि उनीहरू पिरोलिएका हुन । बस्तीका अधिकांश अरूको घरमा हरूवा चरुवा र कृषि मजदुरीमा खटेर गुजारा चलाउँछन् ।

‘४५ घरपरिवार बसोबास रहेको मुसहरी टोलमा जम्मा ३ ट्युवेलबाट पालो बसेर पानी प्रयोग गर्दै आएका थियौं’ धन्छबार हरूवा चरुवा दलित बस्तीकी पचियादेवी सदाय मुसहरले भनिन्, ‘त्यत्ति घरपरिवारले पानी लिन पनि घण्टौं लाइन लाग्नुपर्थ्यौ, चैतदेखि त्यो ट्युवेलमा समेत पानी सुक्न थालेपछि झन समस्या बढेको छ ।’ दलित दास तत्मा र चमार बस्तीमा पनि न्यून जडान गरिएको टयुवेलमा पानी सुक्न थालेपछि समस्या थपिएको छ ।

‘भाडा वर्तन, लत्ता कपडा, नुहाउन सार्वजनिक र अरूको निजी पोखरी प्रयोग गरेपनि खानेपानीका लागि टयुवेलकैं पानी चाहिन्छ,’ दलित राम (चमार) बस्तीकी सुकनीदेवी रामले भनिन्, ‘पीउने पानीको जोहो गर्न समस्या भएकाले भाडा वर्तन, लत्ता कपडा र नुहाउन समेत पोखरीको धमिलो पानी प्रयोग गर्न बाध्य भएका छौं ।’

दिनभरी जनमजदुरीमा खटेर जसोतसो गुजारा चलाए पनि खानेपानी समस्याले थप पिरोलिएको सुकनीदेवीले गुनासो गरिन । बस्तीमा खानेपानीका लागि ट्युवेलको व्यवस्था गरिदिन गाउँका नेताहरूलाई आग्रह गरे पनि हरूवा चरुवा र त्यसमाथि दलित र आफूहरूलाई गरिबीकैं कारण सुनुवाई नभएको उनीहरूको दुःखेसो छ ।

उनीहरूका अनुसार एउटा ट्युवेल जडान गर्न न्यूनतम ३५ देखि ४० हजार रुपैयाँसम्म लागत लाग्छ । जिल्लामा हरूवा चरुवा सशक्तिकरणका लागि काम गरिरहेको संस्था सामुदायिक विकास मञ्चका अध्यक्ष विनोद चौधरीले धन्छबार हरूवा चरुवा दलित बस्तीमा खानेपानीको समस्या रहेको बताउँदै खानेपानीका लागि टयुवेल जडान गर्न संस्थाले वडा कार्यालय र प्रदेश सरकारसमक्ष पहल गरिरहेको जानकारी दिए ।

लक्ष्मीपुर पतारी गाउँपालिका ४ का वडाध्यक्ष विद्यानन्द साह सुडीले धन्छबार दलित बस्तीमा खानेपानीका लागि टयुवेल अभाव रहेकाले सामुदायिक विकास मञ्चको साझेदारीमा वडा कार्यालयबाट टयुवेल जडानका लागि पहल भइरहेको बताए ।

भरत जर्घामगरले लेख्नु भएको यो समाचार हामीले कान्तिपुर दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्