RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/३/४ गते
१७०० पटक

पूर्व प्रधानन्याधिश कल्याण श्रेष्ठले कानुन पालना गराउन कार्यपालिका बलियो हुनु पर्नेमा जोड दिनुभएको छ । बाल विवाह विरुद्ध परिवर्तित कानुनको स्वरुप र सुधारका क्षेत्रहरु विषयक सांसद र अधिवक्तासँगको छलफल कार्यक्रममा व्यवस्थापिकाले निर्माण गरेको कानुन र न्यायपालिकाको फैसला कार्यान्वयनमा ल्याउन कार्यपालिका दह्रो हुनु पर्नेमा जोड दिनुभएको हो ।

वि.सं २०२० सालमै बाल विवाह गर्नु हुन्न भनेर कानुन बने पनि अहिलेसम्म त्यसको प्रभावकारी नियन्त्रण हुन नसक्नु चिन्ताजनक अवस्था रहेको उहाँको भनाई छ । हाम्रो व्यवहार र मानसिकता परिवर्तन हुन नहुँदा यस्ता सामाजिक समस्या समाजमा व्याप्त रहेको उहाँको ठम्याई छ । ‘बाल विवाहलाई नेपाली समाजले समस्याको रुपमा हेरेकै छैन, हलुका ढंगले लिने समस्या छ र कानुन उल्लंघनलाई चुपचाप सहने संस्कृति आम नेपालीमा छ, यो संस्कृति परिर्वतन भएमात्र समाज परिर्वतन हुन्छ’, उहाँले भन्नुभयो ।

पूर्व प्रधानन्याधिश श्रेष्ठका अनुसार नेपालमा देखिएका अधिकाँस समस्याको जड भनेको कानुनी राज्यको अनिपूर्णताको लक्षण हो । ‘व्यवस्थापिकाले कानुन बनाईरहेको छ, न्यायपालिकाले फैसला सुनाईरहेको छ, कार्यान्वयन पक्ष फितलो हुँदा गलत कानुन बनाईएछ भनेर सभासदले पछुताउनु पर्ने हो र ?’ उहाँको प्रतिप्रश्न छ ।

कार्यक्रममा जुरी नेपालका अध्यक्ष शर्मिला श्रेष्ठले नेपालमा बाल विवाहको अवस्था, यस विरुद्ध बनेका कानुन र सुधार गर्नु पर्ने क्षेत्रका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले केही कानुनहरु एक अर्कासँग बाझिएको भन्दै संशोधनका लागि आवाज उठाउन सभासदहरुसँग आग्रह गर्नुभएको छ । बाल विवाह गर्ने बालबालिकालाई कैद र जरिवानाको व्यवस्था रहेको स्मरण गर्दै उहाँले त्यसले उनीहरुमा नकारात्मक असर पार्ने धारणा राख्नुभयो ।

यस्तै, उजुरी गर्ने तीन महिनाको हदम्याद अपुग रहेकोमा पनि उहाँको जोड थियो । यस्तै, प्रहरी प्रशासनले कानुन विपरित काम भएको थाहा पाउने बित्तिकै कारबाहीमा जानु पर्नेमा कार्यक्रमका सहभागिहरुको माग थियो । उनीहरुले उजुरी गरेपछि मात्र कारबाही हुनु गलत रहेको भन्दै सुधारको आवश्यकता औंल्याएका छन् ।

प्रस्तुतिपछि सभासदहरुले बाल विवाह विरुद्ध बनेका कानुनमा भएका त्रुटि सच्याउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले सभासद भएर आएपछि राम्रो कानुन बनाउने माग भन्दा चौडा सडक, पानी, बत्तीलगायतका विकास निर्माणको बढी माग हुने गरेको स्मरण गरे । कार्यक्रममा जयपुरी घर्ति, कमला ओली, समिना हुस्सेन, अञ्जना विसन्खे, ठगेन्द्र ओलीलगायतका सभासदको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्