RaraNews

भुवन कार्की प्रकाशित : २०७६/२/३० गते
१७२० पटक

रुपन्देही । यहाँका दलित महिला जनप्रतिनिधिहरुले समाजमा हुने जातीय विभेदमा आफूहरु पनि परेको गुनासो गरेका छन् । रुपन्देही जस्तो प्रतिष्ठित ठाउँमा पनि अझै जातीय छुवाछुत रहेको आफूहरुले प्रत्यक्ष अनुभूति गरेको भन्दै उनीहरुले आक्रोश समेत ब्यक्त गरे ।

दलित महिला केन्द्र नेपालले बुटवलमा गरेको एक दिने संचारकर्मीसंगको कार्यशालामा बोल्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाका दलित महिला जनप्रतिनिधिले छुवाछुत तथा जातीय विभेदको अन्त्य गर्न संचारकर्मीले पनि सघाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा उपस्थित आधा दर्जन दलित महिला जनप्रतिनिधिहरुले विवाह, पुजापाठ तथा समाजिक संस्कारका कार्यक्रममा दलितलाई निम्तो नगर्ने र गरिहाले पनि छुवाछुुतको ब्यवहार गर्ने गरेको आफूहरुले पाएको उल्लेख गरे ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १३ का दलित महिला सदस्य सरस्वती परियारले यहाँका गैरदलितले दलितहरुलाई कोठा भाडामा समेत दिन नचाहने, दिए पनि समान ब्यवहार नगरेको घटनाहरु आफ्नै समाजमा देखेको उल्लेख गर्नुभयो । उहाँले वडापालिकाका पाँच जना जनप्रतिनिधमा पनि समान खालको ब्यवहार हुने नगरेको अनुभव ब्यक्त गर्नुभयो । विवाह, पुजापाठ तथा सामाजिक कार्यमा छुवाछुतको विभेद गरेका घटना आफूले धेरै देखेको परियारले चर्चा गर्नुभयो ।

बुटवल उपमहानगर वडा नम्बर १५ का वडा सदस्य अञ्जली गोतामेले दलित महिला जनप्रतिधि भएकै कारण धेरै ठाउँमा पद अनुसारको भूमिका पाउन नसकेको गुनासो गर्नुभयो । वडा नम्बर १४ का धनमाया सुनारले समाजमा धनपैसाको सरसापट चल्ने तर संगै भान्सा गर्नु परे छुवाछुतको ब्यवहार गर्ने गरेको आफूले अनुभूति गरको सुनाउनुभयो । भ्रमण जाँदा, होटलमा खाना खाँदा समेत आफ्नौ समाजका मानिसले छुवाछुत गरेको तितो अनुभव पनि उहाँले सुनाउनुभयो ।

कार्यक्रममा दलित महिला सदस्यहरु सिद्धार्थ नगरपालिका वडा नम्बर १२ का सीता बराली, बुटवल वडा नम्बर १६ का निरु विक, वडा नम्बर १० का माया बराल लगायतका जनप्रतिनिधिहरुले बोल्दै समाजमा विद्यमान जातीय विभेद हटाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले दलित समुदायका समस्या समाधानको लागि गैरदलितले पनि आवाज उठाइदिनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विगतमा भन्दा केहीहदसम्म जातीय विभेदका घट्नामा कमी आएको भएपनि प्रतिष्ठित समाजमै घट्ने यस्ता घटनाले सामाजिक रुपान्त्रणमा चुनौती थपेको चर्चा गर्नुभयो । बरिष्ठ पत्रकार हरिबहादुर थापा, अभियन्ता सोना खटिक, गौरा नेपाली र रिमा विसीले कार्यशालाको सहजीकरण गर्नुभएको थियो ।

भुवन कार्कीले लेख्नुभएको समाचार हामीले मिलापत्रखबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्