RaraNews

सम्राट सिहं प्रकाशित : २०७६/२/२७ गते
८८८ पटक

बझाङ । सरकारले जनताआवास कार्यक्रममार्फत दलित समुदायका घर निर्माण गरिदिएपछि उनीहरूमा खुसी छाएको छ । सरकारले बझाङमा विभिन्न मापदण्डअनुसार दलित समुदायका घर निर्माण गरेको हो ।

जनताआवास कार्यक्रममार्फत सरकारले गत वर्ष जयपृथ्वी नगरपालिका–१० मा ५० घर र थलारा गाउँपालिकामा ५० घर निर्माण गरेको थियो । वर्षात्को समयमा पनि पाल या त चुहिने छानोमुनि दिनरात गुजारिरहेका दलित समुदायका बासिन्दालाई सरकारले जनताआवास कार्यक्रममार्फत दुई कोठे भवन निर्माण गरिदिएपछि उनीहरू खुसी भएका हुन् ।

सरकारको जनता आवास कार्यक्रम गरिब दलित समुदायका लागि भए पनि पहुँचको आधारमा हुनेखाने दलित समुदायका घर निर्माण गरिएको केही दलित परिवारको आरोप छ । सरकारले दलित समुदायका गरिब परिवारलाई भूकम्प प्रतिरोधात्मक घर निर्माण गरेपछि आफू एकदमै सन्तुष्ट भएको जयपृथ्वी नगरपालिका-१० का प्रेमबहादुर सुवर्णकारले बताए । सरकारले गतवर्ष जनताआवास कार्यक्रममार्फत बझाङ चैनपुरका ४ वटा बादी समुदायका घर पनि निर्माण गरेको थियो । जनताआवास कार्यक्रमअन्र्तगत घर निर्माण भएपछि हाल बादी समुदायका बासिन्दाले ओभानोमा सुत्न पाएको बताए । सरकारले बादी समुदायका घर निर्माण गरेर आफूहरूको उद्धार गरेको जयपृथ्वी नगरपालिका–१० की राधिका सुनारले बताइन् ।

उनले भनिन्, ‘चुहिने छानोमुनि बसेर जीवन गुजारिरहेका बादी समुदायका हामीले घर पाएपछि आरामले बस्न पाएका छौँ, सरकारको भलो होस् ।’ जनता आवास कार्यक्रमअन्तर्गत बादी समुदायका घर निर्माणको जिम्मा स्थानीय ठेकेदार तथा जयपृथ्वी नगरपालिका-१० का वडाध्यक्ष दलबहादुर विष्टले लिएका थिए ।

यो समाचार हामीले नयाँ पत्रिकाबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्