RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/२४ गते
५२७४ पटक

बुर्तिवाङ । जातीय भेदभाव तथा उन्मुलन दिवसको अवसरमा ढोरपाटन नगरपालिकाको वुर्तीवाङमा विशाल आमसभा सम्पन्न भएको छ । २७ टोली नौमति बाजा र झाँकीसहितका ५ हजारभन्दा बढी जनसागरले विभेद विरुद्ध नारा लगाएका थिए ।

काठमाडौंलाई तर्साउने गरी जुलुसले भेदभाव विरुद्ध नगरा घन्काउँदै वुर्तिवाङ बजार परिक्रमा गरेका थिए । दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमा समेत देखिँदैन ।

प्रमुख अतिथि नगरपालिकाका मेयर देवकुमार नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए । अब नगरपालिकामा खरको छानो नरहने र ढोरपाटन नगरपालिकाबाट छुवाछुत हटाउने उनको संकल्प  छ ।

एउटा दमाईको छोरा नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन् । मेयर देवकुमारले भने, ‘तर, हाम्रो नगरपालिकामा जति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला ।’

कसैले भ्रष्टाचार गरेको प्रमाण देखाएमा झुण्डिएर मर्न तयार रहेको पनि उनले बताए । उनी यस्ता मेयर हुन् जसले अहिलेसम्म सरकारबाट तलव भत्ता लिएका छैनन् । बरु उनले पाँच सय दलित–गरिवको घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन् ।

५८ जना शिक्षकलाई तलव दिएर राखेका छन्, क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षयकोष निर्माण गरेका छन्, प्रत्येक दलित बस्तीमा मोटरबाटो पुर्याएका छन् । क्षेत्रीय दलित सञ्जालको आयोजना र नगरपालिकाको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा जनसागर उर्लिएको थियो । नगरपालिकाका नौ वटा वडाबाट विभेद विरुद्ध विगुल फुक्नका लागि हजारौ दलितहरु ओइरिएका थिए ।

अब उत्तरगंगा जलविद्युत अयोजनाबाट विजुली बलेपछि ढोरपाटन नगरवासीको मुहार फेरिने देवकुमारले बताए । ‘प्रधानमन्त्रीसँगै लविङ गरेर जलविद्युत आयोजना चाँडो सक्ने गरी काम हुँदैछ । देवकुमारले जनतालाई खुशी बनाउने भो भनेर उता केन्द्रमा बाहुनहरु लड्दै छन् रे’, उनले बुर्तिवाङ बजार थर्काउँदै भने, ‘हामी केही कुरामा कमी छैनौ । खै गैरदलितले यति मास जुटाएर देखाओस् त ।’

उनले आफ्नो सम्पत्ति सम्पूर्ण नगरबासीको भएको भन्न पनि पछि परेनन् । राष्ट्रिय दलित आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले अहिले दलित आन्दोलन निकै कमजोर अवस्थामा रहेको बताए ।

उनले भने, ‘अब हामी एकजुट भएर आन्दोलनको आँधिवेहेरी सृजना गर्नुको विकल्प छैन ।’ कार्यक्रममा जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि महाकाली मेची पैदल यात्रा गरेका होमराज आचार्य र अशोक दर्नाललाई सम्मान गरेका थिए ।

सम्मान ग्रहण गर्दै आचार्यले भने, ‘अब दलित आन्दोलनमा गैरदलित समुदायबाट होमिन आवश्यक रहेको छ । र, गैरदलितले आम माफि मागी दलितलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्छ ।’

त्यस्तै अशोक दर्नालले अहिलेसम्म पनि सारमा परिवर्तन नभएपछि दलितको पीडा बुझ्न पदयात्रा गरेको बताए । दर्नालले भने, ‘पदयात्रापछि थाहा भयो की दलित कति दयनीय छन् भन्ने । सम्पूर्ण दलितले सिँहदरबार कब्जा गर्ने गरी आन्दोलन गर्नुपर्छ ।’

चर्चित कलाकार प्रकाश सपुत नौस्टाल्जीक बन्दै विभेद भोगेका दिनहरुमा फर्किए । आफ्नौ घरमा चिया पाक्ने हैसियत नभएको र अर्काको घरमा चिया खाएर भाँडा माझेको सम्झिए ।

उनले आफ्नो हजुरवासँग बसेर आरनमा काम गरेको बताउँदै समाज अझै विभेदमा अल्झिएकोमा दुःख व्यक्त गरे । सपुतले मेयरसँग आग्रह गरे, ‘देव दाई हामी सबैको मेयर हो । तर, अरुलाई एउटा मिठाई दिदा दलितलाई दुई वटा र अरुलाई एउटा टिसर्ट दिदा दलितलाई दुई वटा दिनुहोला ।’ कसैलै विक, परिवार, नेपाली भन्दा नजिकको अनुभुति हुने प्रकाशले बताए ।

उनले दर्शकलाई उतिखेरै रुवाए, उतिखेरी हँसाए । सपुतले वैदेशिक पीडाको कथादेखि व्याटल टु सम्म गाउँदा दर्शकलाई आफुवाहेक अरुलाई सोच्ने मौकै दिएनन् । सपुत यति लोकप्रिय थिए की गीत गाउनेबेला समेत अटोग्राफ र सेल्फी खिच्न भ्याईनभ्याई थियो ।

आमसभामा सहभागी गराउनका निम्ति मेयर नेपालीले श्रीमतीलाई हेलिकप्टरमा ल्याएका थिए । मेयर नेपालीले पोखराबाट श्रीमती छेला नेपाली र छोरी कर्मालाई हैलिकप्टरबाटै आफ्नै घरको छतमा झारेका हुन् । उनले आफ्नो आठ तले घरको छतमा हेलिप्याड निर्माण गरेका छन् ।

यो खबर हामीले हाम्रा कुराबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्