RaraNews

शैलेन्द्र महतो प्रकाशित : २०७६/२/२१ गते
१२९८ पटक

धनुषा – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले लोकसेवा आयुक्तलाई फटाहा र बेइमान भन्दै आक्रोश पोख्नु भएको छ । जनकपुरमा दलित सम्बद्ध संघ संस्थाहरुले मंगलबार आयोजना गरेको प्रदेश स्तरीय दलित अगुवा भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले पैसा कमाउनलाई आयुक्त पदमा बसेको आरोप लगाउनु भएको छ ।

‘आयोगका आयुक्त फटहा र बेइमान छन् । पैसा कमाउन पदमा बसेका छन्’, मुख्यमन्त्री राउतले आक्रोश पोख्दै भन्नुभयो, ‘प्रदेश र प्रदेशभित्रको स्थानीय तहमा कर्मचारी पठाउने अधिकार हाम्रो हो । संविधानको धारा २२७ मा यो अधिकार ग्यारेन्टी गरेको छ । तर लोकसेवाका आयुक्त पैसा कमाउन र एउटा जाति र समुदायलाई कर्मचारीमा भर्ती गर्न बसेका छन् ।’

यो लोकसेवा आयोगको ट्रेलर मात्र भएको भन्दै मुख्यमन्त्री राउतले अधिकार प्राप्तिका लागि दलितहरुलाई आफै सशक्त हुनु पर्ने  बताउनुभयो । दलितहरु आफै सशक्त नभएसम्म अधिकार प्राप्त गर्न नसक्ने मुख्यमन्त्री राउतको भनाइ छ ।

प्रदेश सरकार दलितमैत्री रहेको दाबी गर्दै उहाँले दलितहरुको, दलित सशक्तिकरण ऐन, छात्रवृत्ति योजना, दलित छात्रावासको निर्माण जस्ता कार्यहरुलाई अघि बढाइसकेको उल्लेख गर्नुभयो ।

सदनमा छलफलको क्रममा रहेको दलित सशक्तिकरण ऐन विश्वकै नमुना रहेको दाबी गर्नु हुँदै मुख्यमन्त्री राउतले ऐन पारित भएपछि दलितहरुको स्वास्थ्य, शिक्षाको ग्यारेन्टी प्रदेश सरकारले दिने बताउनुभयो ।

अबको दिनमा दलितहरुले आफनो को र परायाको भने छुट्याउने बेला आइ सकेको जिकीर गर्नु हुँदै मुख्यमन्त्री राउतले २०४७ सालको परिवर्तन पछि दलितहरुले के पायो भन्ने प्रश्न आफै संग गर्न आग्रह समेत गर्नु भयो ।

शैलेन्द्र महतोले लेख्नु भएको समाचार हामीले उज्यालो अनलाइनबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्