RaraNews

मुना कुँवर प्रकाशित : २०७६/२/२१ गते
१०३५ पटक

सरकाले २ लाख ३१ हजार ४ सय ८८ अतिगरिबलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएको स्वास्थ्य बिमा बोर्डको तथ्यांक छ । सरकारले गत आर्थिक वर्ष ०७४/७५ मा उक्त कार्यका लागि ४६ हजार ३ सय घरधुरीमा ११ करोड ५७ लाख रुपैयाँ खर्च गरेको छ । जसमध्ये महिलाको संख्या ४२ हजार ४ सय ३५ रहेको बोर्डको तथ्यांकमा उल्लेख छ । अतिगरिबको परिचयपत्र पाएका नागरिकलाई सरकारले निःशुल्क स्वास्थ्य बिमाको सुविधा दिएको छ । भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गरिबीको पहिचानसहित वितरण गरेको परिचयपत्रका आधारमा निःशुल्क स्वास्थ्य बिमा गरिएको हो ।

नागरिकको स्वस्थ रहन पाउने मौलिक अधिकारको संरक्षण गर्न स्वास्थ्य मन्त्रालयको नेतृत्वमा सुरु गरिएको कार्यक्रम अहिले ४६ जिल्लामा विस्तार भएको छ । आगामी आवसम्म नेपालका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने सरकारको योजना छ । योजनाअनुसार प्रत्येक पाँचजना बराबरको परिवारको बिमा गर्न २ हजार ५ सय रुपैयाँ शुल्क बुझाउनुपर्छ ।

सुदूरपश्चिमका करिब ८० हजार गरिबको बिमा

सरकारले सुदूरपश्चिमका ७९ हजार ५ सय ४९ अतिगरिबलाई निःशुल्क बिमा सुविधा दिएको तथ्यांक छ । बोर्डले सुदूरपश्चिम प्रदेशका १५ हजार ९ सय १० घरपरिवारलाई बिमाका लागि ३ करोड ९७ लाख रुपैयाँ भुक्तानी गरेको छ । बिमितमध्ये महिलाको संख्या ४२ हजार ४ सय ३५ छ । गत आवमा उक्त प्रदेशका पाँचवटा जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ ।

पाँच नम्बरमा साढे १२ हजार घरधुरीको बिमा

सरकारले प्रदेश नम्बर पाँचका ६२ हजार ८ सय ५३ अतिगरिबको सरकारले बिमा गरिदिएको छ । तथ्यांकअनुसार बिमामा १२ हजार ५ सय ७१ घरधुरी समेटिएका छन् । यसका लागि सरकारले ३ करोड १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । उक्त प्रदेशका सातवटा जिल्लामा बिमा विस्तार भएको छ । तर, कुल जनसंख्याको जम्मा ११ दशमलव ४५ प्रतिशत मानिस मात्रै बिमा कार्यक्रममा सहभागी भएका छन् ।

गण्डकी प्रदेशमा ११ प्रतिशतले मात्रै गरे बिमा

गण्डकी प्रदेशमा कुल जनसंख्याको ११ प्रतिशत नागरिक मात्रै स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । बोर्डको तथ्यांकअनुसार गत आवसम्ममा गण्डकी प्रदेशका पाँचवटा जिल्लामा कार्यक्रम सञ्चालन भएको थियो । १४ लाख ६८ हजार ७ सय १ जनसंख्या रहेको उक्त जिल्लाका १ लाख ६७ हजार ९ सय  नागरिक बिमामा सहभागी भएका छन् । त्यस्तै, सरकारले गण्डकी प्रदेशका २१ हजार ४९ गरिबको निःशुल्क बिमा गरिदिएको छ । जसमध्ये पुरुषको संख्या ९ हजार ७ सय ५८ छ भने महिलाको संख्या ११ हजार २ सय ९० छ ।

प्रदेश ३ मा १४ प्रतिशतले गरे बिमा

प्रदेश नम्बर ३ मा कुल जनसंख्याको १४ दशमलव ७० प्रतिशतले स्वास्थ्य बिमा गरेका छन् । बोर्डको तथ्यांकअनुसार गत आवसम्ममा उक्त प्रदेशका पाँचवटा जिल्लामा कार्यक्रम विस्तार भएको छ । १८ लाख ३ हजार ९ सय ५० जनसंख्या रहेको उक्त प्रदेशमा २ लाख ६५ हजार ३ सय ७ नागरिक बिमामा समेटिएका छन् । प्रदेश नम्बर ३ का १८ हजार ३ सय ६५ नागरिकको सरकारले निःशुल्क बिमा गरिदिएको छ । ३ हजार ६ सय ७३ घरधुरीले निःशुल्क बिमा सेवा पाएका छन् । जसमध्ये पुरुषको संख्या ८ हजार ८ सय ८० र महिलाको संख्या ९ हजार ४ सय ८४ छ ।

 प्रदेश नम्बर २ मा १२ हजारले गरे बिमा

प्रदेश नम्बर २ का १२ हजार ४ सय ९ जना व्यक्ति स्वास्थ्य बिमा कार्यक्रममा सहभागी भएका छन् । स्वास्थ्य बिमा बोर्डको तथ्यांकअनुसार उक्त प्रदेशको कुल जनसंख्याको शून्य दशमलव ६४ प्रतिशत मानिस बिमा कार्यक्रममा सहभागी भएका छन् । गत आवको अन्त्यसम्ममा तीनवटा जिल्लामा बिमा कार्यक्रम विस्तार भएको थियो । उक्त जिल्लाहरूमा १९ लाख २४ हजार ३ सय १९ जनसंख्या रहेको छ ।

प्रदेश १ मा करिब ९ हजारले पाए निःशुल्क बिमा

सरकारले प्रदेश नम्बर १ का ८ हजार ७ सय १९ अतिगरिबको निःशुल्क बिमा गरिदिएको छ । जसबापत सरकराले ४३ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ । प्रदेश नम्बर १ का कुल जनसंख्याको १० प्रतिशत मानिस बिमा कार्यक्रममा सहभागी भएका छन् । बोर्डको तथ्यांकअनुसार उक्त प्रदेशका ६ वटा जिल्लामा कार्यक्रम विस्तार भएको छ । २३ लाख ६१ हजार ४८ जनसंख्या रहेको उक्त प्रदेशमा २ लाख ४९ हजार ५ सय ९३ मानिस बिमा कार्यक्रममा सहभागी भएका छन् ।

कर्णालीमा एक हजारलाई निःशुल्क बिमा

कर्णाली प्रदेशमा अतिगरिबको बिमाका लागि सरकारले २ करोड ४ लाख रुपैयाँ खर्च गरेको छ । ८ हजार १ सय ९१ घरधुरी समेटिएको कर्णाली प्रदेशमा ४० हजार ९ सय ५३ गरिबको निःशुल्क बिमा गरिदिएको छ । कर्णालीको सुर्खेत, जाजरकोट, जुम्ला, रुकुम पश्चिम र कालिकोटमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गरिएको छ । ९ लाख २२ हजार २ सय ४९ जनसंख्या रहेको उक्त प्रदेशमा १ लाख १ हजार ९ सय १६ नागरिक बिमा कार्यक्रममा सहभागी भएका छन् ।

मुना कुँवरले लेख्नु भएको यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्