RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/२/१७ गते
१३४१ पटक

सिन्धुली । जनता आवास कार्यक्रमअन्तर्गत जिल्लाका अति विपन्न ९५ मुसहर घरपरिवारले नयाँ घर पाउने भएका छन् । दुधौली नगरपालिका–९ को जितपुर, लालपुर, मटियारी, खिरियानीलगायत बस्तीका मुसहर परिवार वर्षातअघि नै नयाँ घरमा बस्ने गरी काम अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन कार्यालय सिन्धुलीले जनाएको छ ।

मुसहर समुदायका घरको नक्सांकन, रेखदेख, निर्माण सामग्री खरिद, मिस्त्रीको खोज्नेदेखि सबै कामको सहजीकरण भवन कार्यालयले गरेको निमित्त कार्यालयप्रमुख दुर्गाप्रसाद घिमिरेले बताए ।  सरकारको प्रतिघर तीन लाख २१ हजार ५ सय र स्थानीयको श्रमदानबापतको रकम स्थानीय तह (दुधौली नगरपालिका) ले लगानी गर्नेगरी भवन निर्माण कार्य सुरु गरेको हो । निर्माण गरिएका सबै घरमा दुई कोठा र एक किचेन बनाएको घिमिरेले बताए ।

पहिलो चरणमा बनेका घरमा बसोवास

पहिलो चरणमा निर्माण सम्पन्न ३८ वटा घरमा मुसहर समुदाय बसोबास गर्न थालिसकेका छन् । दोस्रो चरणमा निर्माण सुरु गरिएका ६३ वटा घरको निर्माणकार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख घिमिरेले बताए । जमिनको विवाद भएका तथा ऐलानी जमिनमा बसोबास गर्ने ११ मुसहरको घर निर्माणमा समस्या परेको उनको भनाइ छ ।

अति विपन्न परिवारका रूपमा रहेका र अधिकांश फुसको झुपडीमा बसोबास गर्दै आएका यस समुदायको मुख्य पेसा भनेकै जमिनको माटो कटान गर्ने, मुसा, गोहोरोलगायत जीवको सिकार गरी जीविकोपार्जन गर्ने हो । जिल्लाको कमलाखोज क्षेत्रमा बसोबास गदैँ आएको यो समुदायको कसैको पनि घर जस्ता वा टायलले छाएको थिएन ।

यो समाचार हामीले नयाँ पत्रिका दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्