RaraNews

यादव भुसाल प्रकाशित : २०७६/२/१६ गते
१३८५ पटक

कपिलवस्तुको सुद्धोधन गाँउपालीकाको वडा नं १ नन्दनगरका स्थानीयवासीले स्थानिय निकायले गर्ने योजना तर्जुमा प्रक्रियामा नागरिकको सहभागिता सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् । सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना र आई.एम.सुईडिसको सहयोगमा संचालित ‘रुपान्तरण कार्यक्रम’ ले गरेको स्थानीय तहको योजना तर्जुमा कार्याशाला गोष्ठीमा स्थानीयले यस्तो आवाज उठाएका हुन् । कार्यक्रममा बोल्दै सहभागी महिलाहरुले वडामा संचालन हुने योजना तर्जुमाको हरेक चरणमा महिलाहरुको अनिवार्य सहभागिता सुनिश्चित हुनुपर्नेमा माग पनि गरेका छन् ।

गाँउपालिकाले योजना तर्जुमा कार्यक्रम गर्दा आफुहरुलाई नबोलाएको हरनामपुर नागरिक बहस केन्द्रका सहभागी सम्झना चौधरीको गुनासो छ । यसले वडा र गाँउपालीबाट महिलाले पाउनु पर्ने सेवा तथा सुविधाबाट बन्चित हुने उहाँको ठम्याई छ । उहाँले महिलाहरुका लागि बजेट विनियोजन गरि लक्षित वर्गको सशक्तिकरण र सिपमुलक काममा वडाले काम गर्नु पर्ने धारणा राख्नु भयो । यस्तै, बहस केन्द्रकी सहभागी शकुन्तला चौधरीले गाँउमा धेरै महिलाहरु सिप विकासका लागि इच्छुक रहेको हुँदा अहिलेको योजनामा सिप विकासलाई प्राथमिकता दिएर क्षमता अभिवृद्धिको कार्यक्रममा जोड दिनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

५० भन्दा बढी महिलाहरुको सहभागीतामा भएको योजना तर्जुमा कार्यशालामा गाँउको योजना निर्माणका लागि शकुन्तला चौधरीको संयोजकत्वमा ५ सदस्यीय योजना तर्जुमा निर्माण समिति गठन भएको छ । नागरिकले भरपर्दो सेवा पाउनका लागि वस्ती र टोल स्तरबाट योजनाहरुको प्राथमिकरण गरि लक्षित वर्गका कार्यक्रम संचालनको समिति निर्माण गरिएको परियोजनाका युवा, बालबालिका एवं शिक्षा थिम लिडर रामरेखा वरुणले जानकारी दिनु भयो । कार्यक्रममा योजना तर्जुमा प्रक्रियामा हालसम्म पनि जनसहभागिता नगराइएको, बस्तीस्तरमा छलफल नभएको, लैङ्गिक समावेशीकरणमा ध्यान नदिएको विषयमा पनि छलफल भएको थियो ।

कार्यक्रममा वडा नं १ का वडाध्यक्ष मनोज कुमार यादवले १७ गाँउ रहेको नन्दनगरका सबै गाँउमा स्थानीयको प्राथमिकरणका आधारमा छलफल आयोजना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । यस अघि भएका कमजोरीहरुलाई सुधार गर्दै सबैको सहभागीतामा कार्यक्रम संचालन गर्ने र योजना बनाउने उहाँको भनाई थियो । कार्यक्रमलाई संस्थाका कार्यक्रम संयोजक यादव भुसाल, थिम लिडर लिला आचार्य, सुरेश चौधरी, सहजकर्ता गोविन्द यादवले सहजीकरण गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस्